• आश्विन १२ २०८१, शनिबार

सेयर धितोमा कर्जा लिने बढ्दै, तिहारपछि उकासिएला त सेयर बजार ?

मंसिर १ २०८०, शुक्रबार

काठमाडौं । पछिल्लो ३ महिनाको तथ्यांक हेर्दा सेयर धितोमा कर्जा लिनेको संख्या बढेको छ । चालु आर्थिक वर्षको पहिलो ३ महिनामा कर्जा ६.२ प्रतिशतले बढेर असोज मसान्तमा आउँदा ८१ अर्ब १ करोड ७६ लाख पुगेको छ। बैंकिङ प्रणालीमा तरलता सहज भएर ब्याजदर घट्दै जाँदा कर्जा पनि बढ्दै गएको हो।

तर मार्जिन प्रकृतिको सेयर धितो कर्जा गत आर्थिक वर्ष २०७९/८० मा ४ अर्ब १७ करोड २६ लाख रुपैयाँले घटेको थियो। २०७९ असार मसान्तमा ८० अर्ब ५० करोड ७८ लाख रुपैयाँ रहेकोमा २०८० असार मसान्तमा आउँदा ५.२ प्रतिशतले घटेर ७६ अर्ब ३० करोड ८३ लाखमा झरेको थियो।

यस्तो कर्जा आर्थिक वर्ष २०७८/७९ मा १ खर्ब भन्दा माथि पुगेको थियो। आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाबाट नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जाको जोखिम भार १५० प्रतिशत पुर्‍याएको थियो।

यस्तै गत आर्थिक वर्षको २०७८/७९ को मौद्रिक नीतिबाट राष्ट्र बैंकले सेयर धितो कर्जामा व्यक्तिगत सीमा अधिकतम १२ करोड र एउटा बैंकबाट ४ करोड तोक्यो।

राष्ट्र बैंकको उक्त नीतिको चर्को आलाचोन भएपछि आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिबाट ४ करोडको सीमा हटाइ एउटै बैंकबाट १२ करोडसम्म लिन सक्ने व्यवस्था गरिएको छ। यस्तै सेयर ब्रोकरमार्फत मार्जिन ट्रेडिङ नियमित र व्यवस्थित हुँदै गएपछि यस्तो मार्जिन कर्जासम्बन्धी व्यवस्था हटाउने घोषणा गरएको ।

साना लगानीकर्ताको संरक्षणका लागि भन्दै २५ लाख रुपैयाँसम्मको कर्जामा १५० प्रतिशत रहेको जोखिम भार पनि १०० प्रतिशत कायम भयो। तर, सेयर बजामा भने त्यसले नकारात्मक प्रभाव नै बढ्दै गयो ।

चालु आर्थिक वर्षको मौद्रिक नीतिमा राष्ट्र बैंकले २५ लाखलाई बढाएर ५० लाखसम्मको कर्जामा जोखिम भार १५० प्रतिशतबाट १०० प्रतिशतमा ल्याएको छ। यस्तै असोजमा एक परिपत्र मार्फत राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जाको १२ करोडमा सीमा पनि पुनरावलोकन गरेको छ।

प्राकृतिक व्यक्तिलाई १२ करोडको सीमा १५ करोड बनाउँदा सेयर बजारमा लगानी गर्ने उदेश्य भएका कम्पनीको हकमा २० करोड पुर्‍याइएको छ। राष्ट्र बैंकले ५० लाखसममबको कर्जामा जोखिम भार घटाएसँगै उक्त सीमाभित्र पर्ने कर्जा पनि उल्लेख्य बढेको छ।

के हो सेयर कर्जा ?

उद्यमी व्यवसायीहरुले उद्योग व्यवसायका लागि अन्य धितोसँगै सेयर समेत धितो राख्न चाहेमा सेयर धितो राखी कर्जा लिन पाइने व्यवस्था नेपाल राष्ट्र बैंकले गरेको छ।

बैंक तथा वित्तीय संस्थाले व्यवसायीक प्रयोजनको लागि प्रवाह भएको कर्जाको लागि अन्य सम्पत्ति धितो राखे सरह अतिरिक्त धितोको रुपमा सेयर समेत धितोको रुपमा राख्न सक्छन् । अन्य संस्थाको सेयर किन्ने प्रयोजनदेखि बाहेकका व्यावसायिक प्रयोजनको लागि सेयर धितो राखी प्रवाह भएको कर्जामा मार्जिन प्रकृतिको कर्जामा जस्तो एकल ग्राहक कर्जा सीमाको रुपमा रहेको एउटा इजाजतपत्रप्राप्त संस्थाबाट अधिकतम १२ करोड रुपैयाँको सीमा लागू हुँदैन।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत ५० लाखसम्मको सेयर धितोमा जाने कर्जाको थ्रेस होल्ड घटाएको छ । ५० लाखसम्मको सेयर कर्जामा थ्रेसहोल्ड १५० बाट १०० प्रतिशत कायम गरिएको छ । यसअघि २५ लाखसम्ममा १०० प्रतिशत लागू थियो।

तिहारपछि सुधारको संकेत

तिहार अघि साता पछिल्ला तीन कारोबारमा लगातार बढेको सेयर बजार साताको अन्तिम कारोबारमा पुनः घटेर बन्द भयो। दशैँअघि केही सुधार देखिएको बजार तिहारअघि स्थिर देखिएको थियो।

निरन्तर उतारचढावमा रहेको बजारमा स्थायी सुधारको अपेक्षाअनुसार वृद्धितर्फ नजाँदै उतारचढावबीच ओरालो यात्रा नै बढी देखिन्छ। सेयर बजार २०७८ भदौ २ गते अहिलेसम्मकै उच्च बिन्दु ३१९९ मा पुगेको थियो। उच्च बिन्दुको यात्रादेखि यता केही समय उतारचढाव भइरहे पनि सेयर बजार निरन्तर घट्दो क्रममा देखिन्छ।

सेयर बजार केही निश्चित व्यक्तिहरूको नियन्त्रणमा रहेको र उनीहरूले नै बजारलाई कहिले तल ल्याउने र कहिले माथि लैजाने काम गरिरहेको आरोप लागिरहँदा बजारले पनि सुधारको अपेक्षाविपरीत त्यस्तै उतारचढावपूर्ण संकेतहरू गरिरहेको छ।

अहिलेको उतारचढावपूर्ण अवस्थाले लगानीकर्ता विश्वस्त हुन सकेका छैनन्। केही संगठित लगानीकर्ताको जोडबलमा कुनै दिन वृद्धितर्फ देखिए पनि बजारले आम लगानीकर्ताको साथ पाउन सकेको देखिँदैन। लगातार कमजोर देखिएको सेयर बजारमा अहिले पनि उतारचढावपूर्ण अवस्थाकै निरन्तरता देखिन्छ।