मीठो खाने र राम्रो लाउने चाडवाडको नामले बुझिने दशैं सबैको लागि भने एकनासको भएन यसपालि । दशै अगाडि इजराइलमा भएको आक्रमणमा परि अनाहकमा ज्यान गुमाउन पुगेका १० जना नेपाली विद्यार्थीहरुको परिवारमा ठूलो दुःख आइपर्यो । हालै जाँजरकोट तथा रुकुम पश्तिचममा गएको ६ दशमलव ४ रेक्टर स्केलको भुइचालोले सय जना भन्दा बढीको मृत्यु भयो ।
कयौं घाइते भए साथै कयौ घरवार विहिन समेत भएको छन् । घर नहुनेहरुलाई बढदै गरेको चिसोले सताउने छ । हालै घटेका यि दुई दुःखद घटनाहरुले सबै नेपालीलाई भावविह्वल बनायो । दुःखको बेला देश विदेबाट मनकारीहरुले सहयोग गरिरहेका छन् । विभिन्न कारणहरुले विश्व नै आर्थिक मन्दिबाट गुज्रिरहँदा कयौं नेपालीहरुलाई पनि अचाक्लि महंगिका बीच दशैं मान्नको लागि एक छाक मासुभात खान र एकजोर नयाँ लुगा किन्न गाह्र्रै पर्यो यो पालि पनि ।
केहि दिन अगाडि एकजना बुढी आमा आफ्नो नातिलाई आफूले पाउने सामाजिक सुरक्षा भत्ताको पैंसा जोगाएर चाबेलमा दशैंको लागि नयाँ लुगा किन्न जानुभएको थियो । एकजोर लुगाको मूल्य तीन हजारबाट नघट्ने पसलेले बताएपछि मन अमिलो बनाउँदै उहाँ सस्तो लुगाको खोजिमा अन्य पसलतिर लाग्नुभयो । कसैलाई आर्थिक समस्याले त कसैलाई कामको चापले दशैं मनाउन सकस नै देखियो ।
विहान बेलुकी घरको काम र दिउँसो अफिस धाउने महिलाहरुको लागि भने दशैं, तिहारमा हुने विदाले थकानबाट केहि राहत दिए पनि यि चाडहरु मान्न भनेजति सजिलो भने छैन । दशैं विदा हुनुभन्दा अगाडिको स्कुलको अन्तिम दिनमा स्कुलबाटै सहकर्मीहरुसँग स्कुल नजिकै रहेको गोठाटारको कृष्णमन्दिर दर्शन गर्न गयौं ।
घरबाट मन्दिर दर्शनकै लागि भनेर जान नभ्याउने म्यामहरु एकघण्टाको घुमघाममा औधि रमाउनु भयो । कहिले पढाइ, कहिले विहे, कहिले गर्भवती, कहिले बच्चा, कहिले परिवार त कहिले घरमा विरामी वृद्धवृद्धा भन्दै घरबाहिर निस्कन नभ्याउने महिलाहरु आफ्नो लागि एकघण्टा समय निकाल्न पाउँदा पनि कति धेरै खुशी हुँदा रहेछन् ।
परिवारको खुशीलाई नै आफ्नो खुशी ठानेर घरभित्रै पूरा जीवन समर्पण गर्ने महिलाहरु करोडौं छन् । हुन त आफ्नो अधिकारको बारेमा बोल्ने, पारिवारिक थिचोमिचो सहेर बस्न नखोज्ने महिलाहरु पनि देखिन थालेका छन् आजभोलि । यस्ता महिलाहरुले परिवारको वा श्रीमान्को ज्यादति सहन नसकेको भन्दै डिभोर्स समेत माग्न थालेका छन् ।
राम्ररी रिसर्च गर्ने हो भने डिभोर्स माग्ने महिलाहरु शिक्षित, पढेलेखेका र आर्थिक रुपमा सबल जागिरे मात्रै देखिन्छन् । अशिक्षित, सोझासाझा, गाउँले, श्रीमान्को कमाइमा बाँच्ने महिलाहरुले आफूमाथि जति थिचोमिचो भए पनि सहेर बस्छन् । श्रीमान्ले पिट्दा, रक्सि खाएर अनापसनाप बोल्दा घरबाट निकाल्दा पनि महिलाहरु घरबार विग्रने, बालबच्चाको खुशीको लािग सहेर बसेका अनेकौं उदाहरणहरु हाम्रै घर परिवार, समाजमा रहेका छन् ।
महिलाहरु घरका पुरुषहरुले बोलेको ठाउँमा बस्नु हुदैन, बोल्नु हुदैन, आफूलाई चित्त नबुझे पनि बोल्न पाइदैन, चुपचाप निर्णय मान्नुपर्छ भन्ने मान्यता अहिले पनि हाम्रो समाजमा छ । अर्काकी छोरीलाई विहे गरेर ल्याएपछि आफू भने रातदिन रक्सिमा मात्तिने, श्रीमतीको खुशीको ख्याल नराख्ने, विहे गर्ने समयमा बाचा गरेका पढ्न दिन्छु, जागिर खान बाहिर जान रोक्दिन भन्ने जस्ता श्रीमतीका एउटा पनि सपना पूरा नगर्ने, उल्टै कतिपयले एड्सजस्तो घातक रोग सारेका घटनाहरु देख्दा उदेक लागेर आउँछ ।
दशैं अगाडि सोह्र श्राद्धको समापन भयो । त्यसमा पनि महिलाहरुले त्यतिकै घोटिनु पर्यो । विहान ३ बजे नै उठेर श्राद्ध तथा घरपरिवार, ब्राम्हणको लागि चाहिने खीर, पूरी, तरकारी अचार आदि सम्पूर्ण खानपिनको प्रवन्ध गरेर, श्राद्ध सकिए पश्चात १० बजे स्कुल, अफिस आफ्नो काममा समेत पुगिसकेका देखिए महिलाहरु । कोहि भने पूरै दिन वा आधा दिन विदा लिएर श्राद्ध सकेर काममा गएको देखियो ।
मैले देखे अनुसार तीन चार घण्टाको ब्राम्हणले श्राद्ध गर्ने विशेष समयमा भने महिलाको केहि भुमिका हुदैन रहेछ । आमाबुवा वा सासुससुरा एउटी महिलाका पनि त नातेदार हुन् । तर श्राद्ध गर्ने बेला भने महिलाको भुमिका शुन्य नै हुँदो रहेछ । एकचोटि ब्राह्मणको मुखबाट दुईशब्द आफ्ना स्वर्गीय भइसकेका आमाबुवाको नाम सुन्न पाउँदा संसारकै खुशी पाएको अनुभव हुँदो रहेछ महिलाहरुलाई ।
साना कुरामा पनि रमाउन सक्ने र चित्त बुझाउन सक्ने हुन्छन् महिलाहरु । होइन भने पुरुषहरु दत्तचित्त भएर घरधन्दामा र महिलाहरु पूजामा बसेको कहिं कतै पनि देखिन्छ हाम्रो समाजमा ? एकजना म्याडम भन्नुहुन्छ , विहे पश्चात दशैं कहिल्यै पनि दशैं जस्तो लाग्दैन मलाइ । दशैं आयो कि दशा लागेजस्तै हुन्छ मेरा लागि ।
अरुबेला पनि खाना खान बाहेक कसैलाई पनि भान्छामा पसेको देखिकी छैन विहे गरेर श्रीमान्को घरमा आएदेखिन् । सासुले त सिधै काम गराउनको लागि नै छोराको विहे गरेको हो तिमीसँग भन्नुहुन्छ । दुःख सुःख गरेर दुईवटा छोराछोरी हुर्काउँदै घरको काम भ्याएर मास्टर्ससम्म्म पढ्न भ्याए ।
अहिले सामाजिक शिक्षाको शिक्षक भएर विद्यार्थीहरुलाई आफ्नो अधिकारका बारेमा सिकाउँदै छुँ तर दशैंमा रमाउन पाउने मेरो अधिकार चाँहि खै उहाँको जहिल्यै यहि प्रश्न हुन्छ । राजधानीमा जन्मे हुर्केकी, राजधानीमै घर भएकी उनका पीडा मेरो अछाममा छाउघर बस्ने महिलाका पीडा भन्दा कम लाग्दैनन् मलाई ।
धेरै नातागोता भएकी उनको परीवार ठुलै छ । दशैं देखि पुर्णिमा सम्मै सबैका लागि माछा, मासु लगायतका परिकार खान दिने र उनीहरुले खाएका भाँडा धुने बाहेक केहि गर्न पनि फुर्सद नहुने उहाँ बताउनुहुन्छ । यस्ता समस्याहरु उहाँ एक्लाका मात्रै होइनन् । हाम्रो समाजका अधिकांश महिलाका एउटै पीडा छन् घरायसी काममा एक्लै घोटिनु पर्ने ।
आक्कल झुक्कल श्रीमान् श्रीमती र छोराछोरी मात्रै भएको एकल परिवारमा सबैले मिलेर काम गर्ने भएपनि संयुक्त परिवारमा न श्रीमान् न छोराछोरीले नै घरको काममा महिलालाई सहयोग गरेको देखिन्छ । दशंै देखि तिहार सम्मै घरको सरसफाइ, लुगाफाँटा धुने लत्ताकपडा, खाद्यसामग्री किन्ने सम्पूर्ण जिम्मा धेरैजसो महिलाहरुकै हुन्छ ।
तिहारमा थरिथरिका मिठामिठा पकवान पकाउने जिम्मा पनि महिलाहरुकै हुन्छ । त्यतिखेर विदामा त घरका पुरुष सदस्य पनि हुन्छन् । तर घरको काम भने महिलाले दाइजो नै बोकेर ल्याएजस्तो सबै जिम्मा महिलाकै हुन्छ । दशैं तिहारमा सेलरोटि पकाउनकै लागि पसलबाट चामलको पिठो र त्यसमा मिलाइने सामान किनेर ल्याएसँगै लामो समयसम्म चामलको पिठो मिच्दै बस्न सक्ने धैर्यता महिलामा मात्रै भएको पाइन्छ ।
अहिलेको महंगीको समयहमा भनेजस्तो पकाएर खुवाउन पनि समस्या नै छ । दशैं, तिहार तथा छटका लागि थरिथरिका पकवान पकाउन त्यति सजिलो छैन । तैपनि सकेजति पसिना चुहाउँदै घण्टौंसम्म आगोमा बसेर तातो तेलको रापसँगै सेलरोटि पकाउन सक्ने महिला नै हुन् । अरुले त खाएर मिठो नमिठो कमेन्ट गर्ने मात्रै हुन् । हुन त होटेल, रेस्टुरेन्ट आदिमा तलब पाइने भएर होला मिठा परिकार बनाएर पस्किनेमा पुरुषहरु नै बढि देखिन्छन् ।
तर आफ्नो घरको काममा भने हात बाँटन धेरैलाई धौ–धौ नै परेको देखिन्छ । परिवारको खुशीकै लागि भनेर दिनभरि पानी समेत नखाइ ब्रत बसेर बेलुकी तथा विहान अस्ताउँदो र उदाउँदो सूर्यलाई नदी, तलाउको, चिसो पानीमा उभिएर अर्घदिंदै पूजा गर्नसक्ने महिलाहरुलाई प्रत्येक चाडपर्वमा सबैको साथको जरुरत हुन्छ । भनिन्छ घरमा महिला नहुँदा घर, घरजस्तो हुँदैन । उजाड खण्डहरु हुन्छ ।
भरका सम्पूर्ण सदस्यहरुलाई यो कुरा बुझेका छन् । छोरी जन्मिदा घरमा लक्ष्मीको आवागमन भएको मानिन्छ हाम्रै समाजमा । सरस्वतीका बाह्र रुपहर्रु प्रथमंम भारती नामम, द्धितियम च सरस्वती’ देखि एकादशम चन्द्रघण्टा, द्धादसं भुवनेश्वरीसम्ममा महिलाकै बयान गरेको पाइन्छ । दशैंका नव दिनमा पनि नव दुर्गाकै पूजा गरिन्छ । दिपावलीमा पनि धुमधामका साथ लक्ष्मी माताको पूजा गरिन्छ सबैबाट ।
यसरी सबैबाट पूजिने महिलालाई आफ्नै घरमा भने चाडबाटको दिनमा झनै सकस हुन्छ । अरुबेला पनि घरधन्दामा व्यस्त हुने महिलाहरुलाई चाडवाडहरुले खुशी ल्याउनुको सट्टा निरासा नल्याओस । दुर्गा, लक्ष्मीको पूजा गरि परिवारको खुशी माग्न मन्दिर धाउनेहरुलाई घरका महिलाहरुको ओइलाएको मुख हेर्ने चेत पनि जागोस् । घण्टौं एक्लै भान्छामा बसेर महिलाले पकाएका पकवानहरुमा बराबरको साझेदार हुनेहरुले घरका काममा पनि उत्तिकै सक्रिय भएर लागून् ।