• मंसिर ११ २०८१, मंगलवार

नेपाली क्रिकेटको सफलता

कार्तिक १८ २०८०, शनिबार

सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने नवौं संस्करणको टी–२० विश्वकपमा नेपाल छनोट भएपछि यसले खेल जगतमा नेपालको शान र मान दुबै बढाएको छ । खेल जगत नेपाल सरकारको प्राथमिकतामा नपरे पनि खेलाडीहरूको चाहना, निरन्तर साधना र नयाँ नयाँ खेलाडीहरूको प्रवेश र सबैतिरबाट नेपाली क्रिकेट खेलाडीको संयोजन र कार्यमा एकताका कारण नेपालको क्रिकेट जगत विश्वकपसम्म पुग्न सफल भएको छ ।

यो सफलता अबका दिनमा नेपालको आफ्नो हैसियत र क्षमता प्रदर्शनको कोसेढुङ्गा पनि हो । सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वकपमा पहिलो पटक प्रतिस्पर्धा गर्ने मौका पाएको नेपाल १० वर्षपछि मात्र फेरि पनि आफ्नो साख पहिल्याउन सफल हुन सकेको हो । शुक्रबार मूलपानीस्थित घरेलु क्रिकेट मैदानमा टी–२० विश्वकपको एसिया क्षेत्रको छनोट खेलको सेमिफाइनलमा यूएईलाई ८ विकेटले हराउँदै नेपालले फाइनल प्रवेश गर्ने अवसर पाएको हो ।

विश्व कपका लागि छनोट भएका दुई टिममा नेपाल र ओमान परेका छन् । ओमानले बहराइनलाई १० विकेटले हराउँदै फाइनल प्रवेश गरेको हो । विश्व कप फाइनल छनोट प्रतियोगिता सुरु भएदेखि नै नेपाललाई विश्वकप छनोटको दाबेदार टिमका रूपमा हेरिदै आएको थियो । नेपालले एसिया कपमा भारत र पाकिस्तानजस्ता क्रिकेटको ‘पावरहाउस’ लाई टक्कर दिँदै उत्कृष्ट प्रदर्शन गरिरहँदा सबैको आँकलनमा नेपाल छाइरहेको थियो ।

चीनमा सम्पन्न १९औं एसियाली खेलकुदमा रचेको विश्व कीर्तिमानले त नेपाल विश्वकप छनोट हुनेमा सबैको विश्वास नै थियो । कुल २० टिमले प्रतिस्पर्धा गर्ने टी–२० विश्वकप, २०२४ आगामी जुलाइ महिनाको ४ देखि ३० तारेखसम्म हुने छ । विश्व खेल जगतमा पछिल्लो समयमा छाउँदै आएको अफ्रिकाबाट विश्वकपका लागि दुई टिम छनोट हुने छन् । नेपाल सन् १९९६ देखि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको एसोसिएट सदस्य रहिआएको छ भने ओमान सन् २००० मा इन्टरनेसनल क्रिकेट काउन्सिलमा आबद्ध भएको हो ।

नेपालले सन् २०१८ देखि एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त पनि गरिसकेको छ । तर नेपालमा सन् १९४६ देखि नेपाल क्रिकेट संघ स्थापना गरे तापनि कुलीन वर्गका मानिसको मात्र पहुँच भएकाले यसले गति लिन सकिरहेको थिएन । सन् १९५१ मा प्रजातन्त्र आएपछि सर्वसाधारणले क्रिकेट खेल्न थालेका हुन् । तथापि, यो काठमाडौंमा मात्र सीमित रहेकाले विश्वकपसम्म पुग्नका लागि नेपालले लामो समय कुर्नु परेको हो ।

२८ जुन २०१४ मा आईसीसीले नेपाललाई टी–२० इन्टरनेसनलको दर्जा दिएको थियो । सन् २०१५ मा सम्पन्न सन् २०१६ का लागि विश्वकप टी–२० मा छनोट हुन नसकेपछि नेपालले आफ्नो हैसियत गुमाउन पुगेको थियो । गुमेको त्यो हैसियत प्राप्त गर्न नेपाललाई १० वर्ष कुर्नु पर्‍यो ।