संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसद्वारा सफलतापूर्वक गरिएको नेपालको चारदिने भ्रमणले नेपालका लागि धेरै महत्वपूर्ण कुराहरूको ढोका खुला गरिदिएको छ । विषयवस्तु तथा परिघटना अन्तर्राष्ट्रिय बन्न जाने तर त्यसको समस्या राष्ट्रले आन्तरिक रूपमा भोग्नुपर्ने विडम्बना नेपालमा रहिआएको सन्दर्भमा महासचिवको भ्रमणले केही जलबल्दा र यस्ता समस्यालाई अन्तर्राष्ट्रियकरण गरिदिएको छ ।
जलवायु परिवर्तनले पारेका असर, संक्रमणकालीन न्याय, नेपाली सेनाको अन्तर्राष्ट्रिय शान्ति मिसनमा रहेको योगदान, गौतम बुद्धको जन्मथलो लुम्बिनी तथा नेपालको वैश्विक मैत्रीपूर्ण सम्बन्ध आदिको खुला र मुक्त कण्ठले प्रतिबद्धतासहित महासचिवको प्रतिबद्धतापूर्ण सम्बोधन आफैमा ऐतिहासिक र दीर्घकालीन महत्वको रहेका छन् ।
अन्तर्राष्ट्रिय कार्यकारी अधिकारसहित त्यसको सहजीकरणका लागि महासचिवको आह्वान नेपालका लागि प्रभावकारी ‘अन्तर्राष्ट्रिय पहलको सेतु’ बन्न गएको छ । साच्ची नै नेपालमा आजको दिनमा जलवायु परिवर्तनको असर दैनिक जनजीवनमा प्रत्यक्ष अनुभूत हुने गरी भइरहेको छ । हिमरेखा हिमालयको माथिल्लो भागमा पुग्न थालिसकेको छ ।
वैश्विक तापमानका कारण हिउँ हर समय निरन्तर पग्लिइरहेको छ । हिमाल काला पहाडमा परिवर्तन भइरहेको छ । हिमाली क्षेत्रभित्रै पानीका मूल तथा स्रोतहरू सुकिरहेका छन् । हिमालयमा पानीको अभाव भइरहेको छ ।
ग्लोवल वार्मिङको मुख्य कारकका रूपमा रहेको ग्रिन हाउस ग्यास उत्सर्जनमा नेपालको भूमिका नरहेको तर ग्लोवल वार्मिङको प्रत्यक्ष र घातक असर दैनिक जनजीवनमा भोगिरहेको बेला संयुक्त राष्ट्र संघीय महासचिवको प्रत्यक्ष भ्रमण, अवलोकन, अनुभूति तथा अभिव्यक्तिले नेपालमा रहेका वैश्विक तापमानका प्रत्यक्ष असर विश्वभर बोध तथा अनुभूत हुन पुगेका छन् ।
हिम ताल, हिम नदी आदि ‘बचाइ राख्नुपर्छ’ भन्ने महासचिवको भनाइले यसको संरक्षणका लागि केवल नेपालको होइन, अन्तर्राष्ट्रिय पहल जरूरी भएको कुरा उजागर हुन पुगेको छ । अन्तर्राष्ट्रिय जलवायु सम्मेलनमा बारम्बार उठाइने र ‘हुन्छ’ भनी अति विकसित राष्ट्रबाट प्रतिबद्धतासहित अभिव्यक्त हुने कम विकसित राष्ट्रलाई दिइने क्षतिपूर्ति भराउन आफू प्रतिबद्ध रहेको कुरा वैश्विक तापमानका कारण दैनिक जनजीवनमा समस्या भोगिरहेको देश नेपाललाई टेकेर महासचिव गुटेरसले दोहर्याउनु आफैमा निकै महत्वपूर्ण छ ।
नेपालले विश्व तापमानमा कमी ल्याउन गर्न सक्ने भनेको वनजङ्गल बचाइराख्नु हो । यो कुरा महासचिवले आफ्नै आँखाले देख्न पाउनु अर्को महत्वपूर्ण कुरा हो । नेपालमा शान्ति सम्झौतापछि हालसम्म धेरैवटा निर्वाचित सरकार बनिसके । तर सङ्क्रमणकालीन न्यायको व्यवस्थापन भने आजसम्म हुन सकिरहेको छैन । यो मामलामा केही त्रुटी नेपाल भित्रका राजनीतिक दलका आफ्ना पनि छन् ।
तर त्यसमा थप वैदेशिक चासोले पनि काम गरिरहेको छ । नेपाल अहिले अन्तर्राष्ट्रिय शक्ति केन्द्रको चासोको केन्द्रीय गुरूत्वभित्र परिसकेको छ । यो बेलामा नेपाल स्वयम्ले चाहेर पनि शान्ति र संक्रमणकालीन न्यायका काम टुङ्ग्याउन सक्ने अवस्था छैन । अन्तर्राष्ट्रिय बाधा अड्चन र सााथ सहयोग एकैसाथ देखा पर्ने गरिरहेको छ ।
अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरूको स्वार्थ बाझ्न जाँदा यो आपद् नेपालमाथि बाह्य रूपमा आइलागेको छ । यसको तार्किक निष्कर्षका लागि नेपालको शान्ति प्रक्रिया टुङ्गो लगाउन ‘नेपाल मात्र एक्लै छैन’ भन्ने महासचिवको अभिव्यक्तिले धेरै ठूलो ढाडस मिलेको छ । साथै, यो अन्तर्राष्ट्रिय विषय पनि हो भन्ने सबैलाई बोध हुन गएको छ ।
यही सन्दर्भमा ‘नेपाल विश्वका सबै देशको मित्र राष्ट्र हो’ भन्ने महासचिवको अभिव्यक्तिको आशय नेपालमा देखा परिरहेका समस्या समाधानमा अन्तर्राष्ट्रिय जगतको बाधा र व्यवधान होइन, सहजीकरण आवश्यक छ भन्ने हो । निरन्तर द्वन्द्व, संघर्ष र आन्दोलनपछि पटक पटक निर्वाचित र स्थापना भएका सरकार धैर्यताका साथ समस्या समाधानमा लागि पर्नुपर्छ ।
संयुक्त राष्ट्र संघका महासचिवको उपस्थिति आफैमा संयोग र अवसरको कुरा पनि हो । यो संयोग जुटाउन सफल सरकारले समस्यालाई तार्किक निष्कर्षमा पुर्याउन निरन्तर अन्तर्राष्ट्रिय कुटनीतिक प्रयासमा जोड दिँदै कलात्मक चतुर्याइँ प्रयोगमा निपूर्ण हुनैपर्छ ।