घोराही । दुई हातले प्लाष्टिकको झोला थाप्दै कुर्सी कुर्सीमा पुग्नुभयो । कसैले भुइँमा बसालेको देखेपछि टिपेर त्यसैमा राख्नुभयो । घुम गरेर पुग्दा फोहोर बोकेको प्लाष्टिक एउटा हातले समात्नुहुन्थ्यो । बालिकालाई खुसुक खुसुक भित्र छिर्नपनि सजिलो थियो । हलुको ज्यानसित काम गर्नुभयो । करीब ७० भन्दा बढिको उपस्थिति थियो । दुई खेपमा अनुष्का शर्माले फोहोर संकलन गर्नुभयो ।
उमेर नौ वर्ष । कक्षा चार । विद्यालय ज्ञानसिन्धु सेकेन्डरी स्कूल घोराही-१५ दाङ अनुष्काले दिनुभएको परिचय हो । ‘विश्व परिवेशलाई नियाल्दा’ कविता संग्रह विमोचन कार्यक्रममा शनिवार राप्ति साहित्य परिषदको हलमा भएको थियो । त्यस कार्यक्रममा हँसिली, पातलो जिउडाल भएकी बालिका शुरु देखि नै सकृय देखिनुहुन्थ्यो । उहाँ नै नास्तापछिको फोहोर संकलमा लाग्नुभयो । सबैका अघिल्तर बालिका पुग्दा हत्तपत्त आफ्नो फोहोर टिपेर प्लाष्टिकमा दिन्थे ।
अतिथि प्रवेश गर्नेबित्तिकै निहुरिएर नमस्कार गर्नुहुन्थ्यो । दुई हातले संस्कारी शैलीमा रजिष्टर बढाउनुहुन्थ्यो । उपस्थिति पनि बनाउँदै हिँड्नुभएको थियो । अतिथिहरुले आफ्नो उपस्थिति जनाएपछि ‘थ्याङक यू’ भन्दै रजिष्टर लैजानुहुन्थ्यो । कार्यक्रम अवधिभर सकृयता उत्तिकै थियो ।
अतिथि दिर्घामा पदमप्रसाद शर्माले नास्ता खाएको प्याकेट कच्यापकुचुप पारेर पट्याउँदै हुनुहुन्थ्यो । त्यसैबेला अनुष्काको प्लाष्टिकको थैलो पुग्यो । शर्मालगायत सबै अतिथिले त्यसैमा ख्वास्स ख्वास्स हाल्दै गरे । नास्ता प्याकिङ गरेको त्यो खोल सजिलै पट्याउन सकिन्छ । सानो डल्लो बनाउन मिल्छ । त्यो डल्लो कतै घुस्रुक्क पारेपनि हुने, गोजिमा राख्नपनि मिल्ने आकारमा बदल्न सकिन्छ । नारायण नेपालले दुरुस्तै प्याकिङ बनाएर दिनुभयो ।
त्यसैगरी डा.लोकराज पराजुलीले पनि गुटुमुटु पारेको डल्लो त्यही प्लाष्टिकको थैलामा राखिदिनुभयो । धेरैले तन्किएर पनि त्यो प्लाष्टिकसम्म आफूले खाएर फालेको फोहोर दिए । कार्यक्रम सकिदासम्म केहि खस्नै पाएन । धेरैले भुइँमा बसाल्नै पाउनुभएन । त्यसो गरेको भए बालिकाले दिएको सेवाले लाजमर्दो बनाउने थियो, त्यसबाट आफ्नो अनुशासन र मर्यादा बचाउन सफल भए । सरसफाइ गर्ने बानी विद्यालय र घरमा सिकेको अनुष्काको भनाई थियो । उहाँले भन्नुभयो, ‘यति त सिक्नै पर्यो नि ?’ उहाँले थप्नुभयो, ‘ यति काम सँधै गर्छु ।’