• मंसिर ११ २०८१, मंगलवार

चाडपर्वमा घर सम्झँदा मनमा उब्जने प्रश्नहरु

कार्तिक ५ २०८०, आईतवार

धेरैको घरमा दशैं छाएको छ । चाडपर्वहरु धनी गरिव सबैलाई आउने कुरा हो तर चाडपर्वहरुले पनि आर्थिक अवस्था देखाइदिने गर्दछन् । प्रशस्त सम्पति हुनेलाई सधै दशैं छ । रमाइलो छ । मिठै खानपिन छ । कहिलेकाँही मात्र हुनेलाई मिठो खान र राम्रो लाउन वर्षभरी पर्खिन पर्ने अवस्था छ । यही हो दशैं । दशैंको सबैको दशा देखाइदिन्छ । सानै छँदैदेखि यस्तै अवस्था देखिरहेका र भोगिरहेका नेपालीहरु बुढो होउञ्जेल पनि उस्तै अवस्था भोगिरहेका छन् ।

हो, चाडपर्वहरुले मानिसलाई भेट गराउँछन् । आत्मियता बढाउँछन् । पारिवारीक माया र ममता दिलाउँछन् । यसकै लागि चाडहरु बनाइएका हुन् । तर समयको परिवर्तनले चाडपर्वहरु पनि महँगा बनाएको छ । सबै परिवार घरमा हुँदा कम खर्चमा चाड मनाउन सकिन्छ तर रोजगारीका कारण टाढाटाढा बस्नुपर्ने बाध्यताले गर्दा चाडहरु खर्चिला भएका छन् । विदेशमा रहनेहरुका लागि त चाडहरु सपना जस्तै बनेका छन् ।

जे होस्, प्रविधिको जमाना आएकोले कम्तिमा इन्टनरनेट र टेलिभिजनको माध्यमबाट पनि स्वदेशमा रमाइलो गरेको विदेशमा पनि देख्न पाइन्छ । प्रविधिको आविष्कारको सफलताको कारणले विश्वलाई नै गाउँजस्तो सानो बनाएको छ । बरु गाउँभरी घुम्न ढिला होला तर संसारभरीको खबर एकैछिनमा थाहा पाइहालिन्छ । यो कोणबाट यो पुस्ताका हामीहरु शौभाग्यशाली छौं भन्नुपर्ला ।

मोबाइल र ल्यापटप जस्ता प्रविधि र इन्टरनेटको प्रयोग गरेर संसारमा जहाँ बसेको भएपनि सजिलै सहकार्य र व्यापार गर्न सकिने भएपछि चाडबाडमा नाचेको, गाएको र रमाइलो गरेको देख्न पाउनु ठूलो कुरै भएन । तर अब हिजो भन्दा आजको दशैंमा महँगी निकै बढेका समाचारहरु सुन्दा दिक्क लाग्ने गर्छ । अरु चाडहरुमा पनि यस्तै हुँदो हो । तर नगन्यरुपमा मात्र घटनाहरु सुन्नमा आउँछन् । हिजोका दिनमा चाडहरु मान मर्यादा र इज्जतका लागि हुन्थे । विस्तारै आज चाडहरु कमाउने माध्यम बनेका छन्, बनाइएका छन् । सामान महँगिनुको कारण यही हो । ठूला साहुजीहरुलाई दशैंको बेला माल बेच्ने ध्याउन्न छ । सर्वसाधारणलाई किन्नैपर्ने बाध्यता छ । यही मेसोमा हो कालोबजारी र महँगी बढ्ने ।

दशैंका बारेमा कुरा गर्दा रामले रावण मारेको, देवीले राक्षसलाई मारेको जस्ता प्रसंगहरु भएपनि ती कुरा र प्रसंग कहिलेका हुन्, ती कथाहरु सत्य हुन् कि होइनन् ? कसैलाई थाहा छैन । ती त केवल भनिँदै र सुनिँदै आएका कथाहरु हुन् । तर यिनै कथाहरुका आधारमा दशैं आविष्कार भएको र मनाइँदै आएकोले यिनकै तरिकाले मनाइए पनि ठिकै छ नी त । यी भन्दा फरक तरिकाले मनाउँदै आएकाहरुले पनि आफ्नै तरिकाले मनाए भइहाल्छ । मनाउनेहरुले आ-आफ्नै तरिकाले मनाउँदा राम्रै हुन्छ ।

चाडपर्वहरुका बारेमा आफ्ना अनुभवहरु लेख्दा वा बोल्दा किन धन, पैसा र बजारको महँगो र सस्तोको कुरा आउँदो हो भन्ने लाग्थ्यो । आज लाग्छ, सबै चीज र हरेक प्रसंग र सन्दर्भहरु अर्थतन्त्रसित जोडिएका रहेछन् र ती विषय अनिवार्य रहेछन् । मात्र अर्थतन्त्र (पैसा) कस्को हातमा छ र हुँदा खानेहरुको अवस्था के छ ? हुनेखानेहरुको अवस्था के छ भन्ने फरक कुरा हो । तर आजका दिनमा दशैं र दशैं जस्ता चाडहरु देखाएर व्यापार गर्ने माध्यम बनाएकोले यसलाई नियन्त्रण गर्ने तरिका सरकारले खोज्नु पर्छ ।

अब रह्यो परदेशी मनको कुरा, रोजगारीको खोजीमा आज ७० लाख भन्दा बढी नेपाली विदेशमा छन् भनिन्छ । त्यतिधेरै नेपालीहरु विदेशमा छन् भन्नुको मतलव त्यति धेरै नेपालीका मनहरु विदेसिएका छन् र हरेक चाडपर्वहरुमा ती सबैका मनहरु आफन्तहरु र आफ्नो माटोको मायाले तड्पिरहेका छन् । अर्को अर्थमा भन्दा ७० लाख नेपालीका परिवारहरु पनि आफ्ना परदेसिएका सन्तानको अभावमा नरमाइलो महसुस गरिरहेका छन् । कारण हो, बेरोजगारी ।

उसो भए नेपालको लागि के बेरोजगारी बाँचुञ्जेलको समस्या हो ? स्वदेशमै रोजगारी नपाएकै कारणले लाखौंको संख्यामा मानिसहरु घरबार त्यागेर भौंतारिँदै, बालबच्चाका आँशु बगाउँदै देश छोड्नु पर्ने हो भने यसको स्थायी समाधान खोज्न सरकार किन तयार छैन ? आफ्ना जनताले विदेशमा पसिना बगाएर गर्ने काम स्वदेशमै स्थापना गर्न किन सकिएन ? भनेर सोंच्न सरकारमा बसेका मानिसहरु किन सक्दैनन् ?

के सरकारलाई नेपालमै कारखाना खोलेर वस्तु उत्पादन गरेर बेचेर भन्दा युवाहरु विदेश पठाएर आउने कमिसन धेरै हुन्छ ? उसो भए किन युवायुवती मात्रै बेच्ने ? बच्चाबच्ची, बुढाबुढी सबै बेचिदिउँ न त ! नदीनाला त बेचबिखन भइसके नै अब बेच्न बाँकी देश पनि छ क्यार होइन ? त्यो पनि बेचिदिउँ । अनि मजाले दुधभात खाएर बसौं, हुँदैन ? नत्र समाचारहरुमा सुन्नमा आए अनुसार दैनिक दर्जनौंको संख्यामा विमानस्थलमा नेपालीका शव ओर्लिरहेका छन् ।

हजारौं घाइतेहरु ‘गरि खानु न मरि जानु’ भएर घर फर्किएका छन् । अलि अलि कमाउनेहरुको पनि नेपाल आएका वर्षदिन नपुग्दै महँगीले कमाएको पैसा पनि सिद्धिन्छ । धेरैको त परिवार पनि समाप्त भइसकेको छ । श्रीमान विदेशबाट आउँदा श्रीमती घरमा छैन, कसैको भने श्रीमती घर आउँदा श्रीमान अर्कै टिपेर भागिसकेको छ । विदेश बस्न बाध्य हुँदा परिवार नै सखाप भइसकेका उदाहरण पनि थुप्रै छन् । तर सरकारलाई यस्ता कुराको कुनै मतलव छैन ।

समाज भाँडिइसक्दा, देशै रित्तो भइसक्दा पनि रेमिट्यान्समा र्याल चुहाएर युवाको श्रम बेचेर तलब भत्ता खान अब त कम्तिमा लाज मान्नु पर्छ सरकारी सुविधामा मस्ती गरिरहेकाहरुले । गणतन्त्र आएको १५ वर्षमा देश के कुरामा आत्मनिर्भर भयो ? कृषि उत्पादनमा होइन मान्छे बेचेर रेमिट्यान्स कमाउनमा सफल भइयो होला होइन ? यी सबै प्रश्न र आक्रोशहरु विदेशी भूमिबाट पोखिएका हुन् ।

आज विदेशमा हाड मासु घोट्न बाध्य भएकाहरु नेपालको सरकारको लाचारीपनप्रति कोही पनि सन्तुष्ट छैन । यसको मतलब हो, कुनैपनि बेला राज्यविरुद्द हुने आन्दोलनमा पीडितहरु ह्वात्तै सडकमा आउनेछन् । परदेशबाट दशैंको अवसरमा आफन्तलाई सम्झँदै मनका भावना व्यक्त गर्नेक्रममा अलिकति सरकारलाई झटारो होनियो । तर बहिरो सरकारले के सुनोस्, अन्धो सरकारले के देखोस् !