• कार्तिक ५ २०८१, सोमबार

दशैं नेपालीको गौरवमय चाड

कार्तिक ५ २०८०, आईतवार

दशैं तथा तिहार नेपाली दाजुभाइ दिदीबहिनीका लागि तादात्म्यताको गाँठो हो । नेपाल बाहिरका नेपालीहरूले दशैंं र तिहारलाई गोर्खालीहरूको पहिचानको रूपमा लिन्छन् । दार्जिलिङ्ग, सिक्किम, डुअर्स, आसाम, देहरादूनमा त दशैंं र तिहारलाई गोर्खाहरूको एकताको  बिडो ठान्छन् ।

भारत, बर्मा, श्रीलङ्का, इण्डोनेशियालगायत विश्वका अनेकौं देशहरूका हिन्दुहरूले आआफ्नै प्रकारले दशैंं मनाउँछन् । दशैं, धनी र गरीब सबैको साझा चाड हो । लिम्बु, राई, मगर, गुरूङ, तामाङ, थारू जातिले वारपार निधारभरि दहीसँग मुछेर सेतो अक्षताको टिका लाएर विजया दशमीदेखि पूर्णिमाको दिनसम्म बडो हर्षाेल्लासपूर्वक आमा, बाबु, ससुरा, सासु, गुरू र अन्य मान्यजनबाट टिका थापेर आसिरवाद ग्रहण गर्ने गर्छन् ।

निधारभरि दहीसँग मुछेर सेतो अक्षताको टिका लगाउने चलन जनजातिहरूबाटै प्रारम्भ भएको हो । निधारभरि टिका लाउने चलन दक्षिणबाट यहाँ आएको होइन । काठमाडौं उपत्यकामा अबीर मिसाएर राता टिका लाउने चलन छ । त्यही चलन आजभोलि नेपालभित्र र बाहिर बढ्दोछ । भारतीय हिन्दुहरू टिका नलगाएर पनि दशैंको उत्सव मनाउँछन् ।

घटस्थापनादेखि नवरात्रसम्म गरिने नवदुर्गा भवानीको पूजा अति प्राचीन परम्परा हो । देवीपुराणमा ‘रामले आश्विन–शुक्लको नवरात्रमा भगवतीको उपासना गरेर विजयदशमीको साइतमा लङ्कामा रामणविरूद्ध युद्ध गर्न प्रस्थान गरेको’ कुरा उल्लेख छ । पद्मपुराणमा उल्लेख छ, ‘चैत्रशुक्ल चतुर्दशीका दिन रामले रामणको बध गरेका थिए ।’

अनादि कालदेखि नै शक्तिको प्रतीकको रूपमा ‘दशैंं’लाई साझा चाडको रूपमा मानी आएको देखिन्छ । अनादिकालमा महिषासुर नामको राक्षसले गरेको अत्याचार र पीडाबाट मुक्त हुन आराधना गर्दा दुर्गा भवानीले महिषासुर राक्षस मारेर खुसीयाली मनाएको विजया दशमीको दिनदेखि शुभदिनको रूपमा मानिँदै आएको हो । असत्य माथि सत्यको विजयको प्रतीकको चाड हो दशैंं ।

पृथ्वीनारायण शाहबाट विशाल नेपालको एकीकरणको अभियानमा काठमाडौं उपत्यका विजयपछि दशैंमा फूलपाती र जमरा गोर्खाकी गोरखकाली मन्दिरबाट मगर जातिको पूजारीबाट काठमाडौं ल्याइन्छ । त्यसैलाई बढाईंको रूपमा लिइन्छ । दशैंं परम्परागत नेपालीको सांस्कृतिक पर्व हो ।

दशैं बारेमा डा. रामचन्द्र गौतम लेख्छन्, ‘हाम्रा धर्मशास्त्रहरूले राजस, तामस या सात्विक पुजाविधि चयन गर्न अधिकार दिएको छ । बलि नदिई पनि पुजा गर्न सकिन्छ । तर बडादशैंंमा आरधना गर्दै महाकाली, महालक्ष्मी र महासरस्वती स्वरूपिणी दुर्गाभवानीका लागि बलि आवश्यक छ । देवीहरूका लागि दिइएको बलिबाट भक्तजनहरूले शक्ति आर्जन गर्दछन् । राज्य शक्तिका लागि पनि बलि अनिवार्य छ । राज्य शक्ति अथवा प्रभुसत्ता या सरकारका लागि बलि अनिवार्य भएकाले राज्यका तर्फबाट प्राचीन कालदेखि नैं पशुपक्षीहरको बलि दिने व्यवस्था रहँदै आएको छ ।’

यसरी मतभिन्नता पनि प्रारम्भदेखि नैं हुँदै आए तापनि दशैंलाई पशुपक्षीको बलि चढाएर मनाउने र बलि नदिएर फूलपाती चढाएर पनि मनाउने गर्ने गरिएको छ । दशैंंको विषयमा स्वामी प्रपन्नाचार्य भन्नुहुन्छ– ‘दुर्गा, चण्डी र सुम्निमा तथा युसाहाम एउटै देवीको नाम हो । इष्टदेव महादेव, पार्वतीलाई पारूहाङ तथा सम्निमाको रूपमा मान्ने गरिएको छ । लिम्बुहरू धुवासाम, युमासाम भनेर महादेव र पार्वतीलाई इष्ट देवदेवीको रूपमा मान्दछन् । नवदुर्गाको पुजा नवरात्रमा गर्ने अति प्राचीन परम्परा हो । दशमीको दिन विजयदशमी भनेर दही अक्षता मिसाएर शुभघडी हेरेर बाजे, बराजु, आमाबाबु अथवा आफूभन्दा बुढापाका गुरूहरूबाट टिका लाउने प्राचीन संस्कृतिलाई दुषित पार्नु बुद्धिमत्ता होइन ।’

संस्कृतिविद् सत्यमोहन जोशी लेख्छन्, ‘घटस्थापनाको दिनदेखि वैदिक काल देखिकै परम्परा अनुसार विभिन्न शक्तिपिठमा पूजा आराधना गर्ने काम भइरहेको छ । तर राष्ट्रपतिलाई राजासँग तुलना गरेर अनेकौं भ्रमछर्दै धार्मिक र सांस्कृतिक अतिक्रमण गरिएको छ । परम्परा बचाउन राजासँग’ के सम्बन्ध छ यस तथ्यलाई हामीले प्रकाश पार्न सकेनौं भने दशैंं संस्कति मात्र होइन, कुनै पनि संस्कृति जोगाउन सक्तैनौं । क्रिस्चियनहरूले अनेक बाहनामा मोडिदिएका छन् ।’

तर नेपालमा २०६३ सालपछि सबै पार्टीका नेताहरूले नेपालको सम्वेदनशीलता बुझ्न नसकेर नेपालको सम्पूर्ण पहिचान, परम्परा, मान्यतामाथि विवाद ल्याएर आफ्नो स्वार्थसिद्ध गर्न विदेशीहरूलाई खुसी पार्ने जुन कुचेष्ठा गरिदैछ त्यो आत्मघाती काम गरिरहेका छन् । महादशैंंको सन्दर्भमा पञ्चरत्न पांधुश्रेष्ठ लेख्छन्, ‘बलिप्रथा नगर्ने हो भने कुलाचारीको बदला दुराचारीमा परिणत हुन जानेछ । शक्ति साधना मरूल पर्व मानिएको बडादशैंंको पूजा विधि हाम्रो मौलिक परम्परा हो । प्रारम्भिक कालदेखि नैं सनातन धर्मको नाममा वेद र तन्त्रको संयुक्त विधिविधान हो यो ।

पुराणले भनेको छ, ‘मोहले वा अहङ्कारले दशैंं पर्वमा बलि पूजा नगरेमा भगवती रिसाउनु हुन्छ र उसको सर्वनाश हुन्छ ।’ यसरी नेपाली समाजलाई बलि प्रथाले प्रभाव पारेको छ । वैदिक हिन्दु सनातन धर्म र संस्कृतिलाई ऋषिमहर्षिहरूको ‘कृण्वन्तो विश्वमार्यम’् विश्वलाई सभ्य बनाऔं भन्ने सिद्धान्तबाट विश्वव्यापी बनाउन सशक्त भूमिका खेलेकाले हिन्दुशास्त्र तथा बौद्ध दर्शन विश्वव्यापी हुन सकेको थियो ।

हिन्दु तथा बौद्ध दर्शनमा कुनै पूर्वाग्रह र मिचाहा प्रवृत्ति हुन्न । अनाक्रमण र सहिष्णुता यसको विशेषता हो । हिन्दु अस्मिताको कति महत्व छ भन्ने कुरा विश्वको सातौं आश्चर्य मध्ये चीनको विशाल पर्खालको पश्चिमी द्वारमा चौध फुट लामो ‘ॐ नमोभगवते ..’ आदि लेखिएको संस्कृत मन्त्रलाई मङ्गोल सम्राट कुब्ला खाँबाट चौधौं शताब्धीमा लेखिएको थियो, (पुरूषोत्तम धिमिरे) ।

‘चीनको ग्रेटवालको ढोकाहरूमा महाभारतका श्लोकहरू ंसंस्कृतभाषामा कलापूर्ण अक्षरमा लेखिएको छन्, (स्वामी डा. प्रपन्नाचार्य) । इशाभन्दा ४८६ वकर्ष पुरानो इरानको पारसी पोलिस नगरमा दारा हस्तास्पको स्मारकको शिलालेखमा ‘हिन्दु’ र ‘हिन्दस’ दुबै उल्लेख छ । त्यसबेलामा ब्यास ऋषिले ‘म हिन्दु देशमा जन्मिएको सच्चा हिन्दु हुँ’ भनेको कुरा इरानको पार्सी ग्रन्थ सातीरमा उल्लेख छ, (पं.सोमनाथ धिमिरें) ।

यस्तो हिमवतखण्ड र भारतखण्ड तहस–नहस बनाउन कुचक्रिहरू लागेका छन् । धर्म निरपेक्षको नाममा नेपालमा क्रिस्चियनकरण गरिदै छ । उता हजार वर्षसम्म मुसलमान र अंग्रेजको सम्राज्यबाट तहसनहस पारिएको अवस्थामा भारत स्वतन्त्रपछि आफ्नो सांस्कृतिक मान्यता र आफ्नो पहिचान पुनरूत्थान गर्न सशक्त भइरहेको छ, यद्यपि बाध्यताबस ऊ धर्मनिरपेक्ष छ ।

औरङ्गजेवले बनारसको विश्वनाथ मन्दिर ध्वस्त बनाएर जिर्णोद्वार नभइरहेको अवस्थामा वि.सं. १८०० मा पृथ्वीनारायण शाहबाट बनारसको भ्रमण भएको थियो । जुनबेला अंग्रेजहरूबाट भारतमा हिन्दुहरूमाथि भइरहेको अत्याचार देखेर, यस क्षेत्रका ससाना राज्यहरूको अस्मिता बचाउन, पृथ्वीनारायण शाहलाई राष्ट्रिय एकीकरणको प्रेरणा मिलेको थियो ।

विश्वनाथको मन्दिर औरङ्गजेवले भत्काएको कुराले यस क्षेत्रका हिन्दुहरूलाई समेत ठूलो हतोत्साही बनाएको थियो । प्रताप मल्लले यहाँका हिन्दुहरूको पीठामा शान्त्वना दिलाउन रानी पोखरीमा कासीबाट विश्वनाथ यहाँ आएर बिराजमान भएका छन् भनेर कविता लेखेको अभिलेख छ । हिन्दुत्व माथिको आक्रमणमा कति ठूलो पीडा हुन्छ भन्ने कुरा प्रताप मल्लले पनि जाहेर गरेका छन् ।

नेपाल हिन्दु र बौद्धको आधिकारिक थलो हो । भारत लगायत विश्वभरका हिन्दुहरू नेपाल हिन्दु राष्ट्र रहेर बाँचोस् भन्ने चाहन्छन् । तर नेपालकै दलालहरू धर्मनिरपेक्षको नाममा गृहयुद्ध निम्त्याइरहेका छन् । विश्वमा १९९ राष्ट्रमध्ये १०० जति राष्ट्रहरू धर्मसापेक्ष र बाँकी राष्ट्रहरू पनि कुनै न कुनैै प्रकारले क्रिस्चियन वा मुस्लिम प्रभावमा छन्, भने नेपालको पहिचानलाई समाप्त पार्न किन यहाँका नेताहरू धर्मनिरपेक्षता र गणतन्त्रको वकालत गरिरहेका छन् ? अमेरिका धर्म निरपेक्ष राष्ट्र हो ।

तर अमेरिकामा राष्ट्रपति क्याथोलिक बाहेक क्रिश्चियन वा यहुदी बन्न पाउँदैन । अमेरिकाका राष्ट्रपति र प्रधानन्यायधीसले संविधानको सपथ नलिएर बाइबलको सपथ लिन्छन् । त्यहाँका चर्चहरू राजनीति र शिक्षामा रूची राख्छन् र विदेशमा धर्म प्रचार गर्न अर्बौ डलर खर्च गर्न सक्रिय छन्, (प्रा.रामजीप्रसाद पोखरेल) ।

मालदीप र साउदी अरबमा मुसलमान मात्र त्यहाँको नागरिक हुन पाउँछन् । इजराइलमा केही अपवाद बाहेक यहुदी मात्र त्यहाँको नागरिक हुन पाउँछन् । सउदी अरब लगायत अन्य मुस्लिम राष्ट्रमा शिवजीको फोटो अथवा हिन्दुको पहिचान लिएर बस्न पाइँदैन, (प्रकाश ए. राज) । पाकिस्तानमा मुसलमान उमेद्वारलाई हिन्दुले भोट दिन पाउँदैन ।

तर नेपालमा क्रिस्चियन वा मुस्लिम धर्मावलम्वीहरू आफ्नो धर्म बचाएर बस्न स्वतन्त्र र सुरक्षित छन् । राजदरबार अगाडि ठूल्ठूला मस्जिदहरूको निर्माणमा यहाँका हिन्दु राजाहरूले दिएको स्वीकृती नैं उदारताको ताजा उदाहरण हो ।

हिन्दुधर्मको दाँजोमा संसारका कुनै पनि धर्म उदार र सहिष्णु छैनन् भने नेपालले चाहीं आफ्नो पहिचान गुमाउँदै धर्मनिरपेक्षताको बाटो अपनाउनु पर्ने यो कस्तो राष्ट्रियता ? युगयुगदेखिका स्थापित मान्यताहरू तोडेर नेपाल टिक्न सक्तैन ।

पृथ्वीनाराण शाहभन्दा शताब्दियौं अगाडि देखि नैं दशैंं र तिहार यस क्षेत्रको नै हिन्दु तथा बौद्ध तथा सबै जातिको साझा संस्कति बनिसकेको थियो । हिन्दु–बौद्धले विजय दशमीको शुभसाहितमा मूलढोकाको पूजा गरी मान्यजनबाट परिवारको मर्यादाक्रम अनुसार टिका प्रारम्भ हुन्छ । दशैंको चाडमा असङ्ख्यौं इच्छुक हिन्दु, बौद्ध तथा केही नेपाली मुसलमानहरू समेत राजाबाट आशीर्वादस्वरूप विजयदशमीको दिनमा टिका थाप्न राजदरबार जाने गर्छन् ।