• मंसिर १२ २०८१, बुधबार

दशैं नमानेको निहुँमा राणाहरुले झुन्ड्याएर मारेका ‘रिदामा राई र रामलिहाङ राई’

कार्तिक ४ २०८०, शनिबार

धनकुटा । यतिबेला दशैंले सबैलाई छोएको छ । दशैको टीका लगाउन धेरैलाई भ्याइनभ्याइ छ तर, धनकुटामा मात्रै बसोबास रहेको आठपहरियाहरुलाई दशैंको कुनै महत्व नै छैन । दशैंको सन्दर्भ आउनासाथ जंगबहादुर राणाको समयमा मारिएका दुई साँस्कृतिक सहिद रामलिहाङ र रिदामाको प्रसंग आठपहरिया समुदायमा आइहाल्छ ।

धनकुटाका आदिवासी आठपहरिया राईले कहिल्यै पनि दशैं मनाएका छैनन् । वि.स १९३३ सालमा दशैं नमान्दा रामलिहाङ र रिदामा आठपहरियालाई धनकुटामा झुण्ड्याएर मृत्युदण्ड दिइएको थियो भन्ने मान्यता आठपहरिया समुदायमा स्थापित छ । रामलिहाङ र रिदामा आठपहरियाका पुजाहारी थिए । दुवैले अनिवार्य रुपमा दशैं मनाउन जारी गरिएको सरकारी आदेशको अवज्ञा गरेपछि झुन्ड्याएर मारिएको किराँत आठपहरिया समाज धनकुटाका अध्यक्ष अष्टमान आठपहरियाले बताए ।

धनकुटाको चुलिबन नजिकै झुण्डगाउँ छ । राणाकालमा मानिस झुन्ड्याएर मार्ने ठाउँ भएकोले यो ठाउँको नाम पनि झुण्डगाउँ राखिएको हो भन्ने भनाई छ । चुलिबनको पिकनिक पार्क नजिकै झुन्डगाउँ हुनु र रामलिहाङ र रिदामालाई पनि झुन्ड्याएर मारिएको कथनबाट यी दुई कुनै काल्पनिक पात्र नभई वास्तविक साँस्कृतिक सहीद हुन् भन्ने लागेको किराँत आठपहरिया समाज केन्द्रिय महासचिव सूर्य आठपहरियाको भनाई छ ।
दशैं लादिएको
जबरजस्ती दशैं मनाउने सरकारी प्रयासको अवज्ञा गर्दा दुई व्यक्तिको प्राण हरिएको इतिहास भए पनि आठपहरियाहरुमा दशैं भने लादिएको भन्ने गरिएको छ । राजा राजेन्द्रविक्रम शाहको समयमा जारी एक रुक्का यसको प्रमाण भएको किराँत आठपहरिया समाज केन्द्रीय महासचिव आठपहरियाले बताए ।

‘धनकुटाको मार्गाथानको पूजाहारी खलकलाई दशैंमा पूजा गर्न एक गुठीसमेत स्थापना गरिएको प्रमाण उक्त रुक्काबाट प्राप्त हुन्छ’ उनले भने ‘धमिलो र मुस्किलले बुझिने उक्त रुक्का धनकुटाको ताङ्खुवा निवासी मुन्धुम तथा इतिहासविद भरत तुङ्घङसँग रहेको छ ।’

वि.सं १८९२ को वैशाखमा धनकुटाका वाहिदुमसिंह राईका नाममा उक्त रुक्का जारी भएको उनको भनाइ छ । नित्य पूजा र बडादशैंमा पञ्चवली पूजाका लागि २२ मुरीको गुठी राखेको र बडादशैंमा पञ्चवली दिनु भन्ने आदेश रुक्कामार्फत् दिइएको भनाइ छ । मार्गाका पूजारी मांवु थरका आठपहरिया हुन् ।

उनका सन्तानहरु चितदलसिंह, जितासिंह, प्रतापसिंहहुँदै पाँचौं पुस्ताका भरतसिंहले उक्त रुक्का जोगाएर राखेका हुनाले यो रुक्काबाट आठपहरियामा दशैं लादिएको थियो भन्ने प्रमाणित हुन आउने उनले बताए ।

यसरी सरकारी तहबाट राजा नै लागेर लादिएको दशैंको अवज्ञा गर्दै आएका आठपहरिया राईमध्ये रामलिहाङ र रिदामा अगुवा बनेर निस्केका हुनाले उनीहरुलाई झुन्ड्याएर मृत्यु दण्ड दिइयो भन्ने अनुमानलाई उक्त रुक्काले बलियो बनाएको आठपहरियाहरु बताउँछन् ।

देशमा आएको संघीयता पछि धनकुटाको चुलिबनलाई सहिद रामलिहाङ र रिदामा स्मृति पार्क घोषणा गरिसकिएकोे छ । धनकुटाका आठपहरियाहरु आफ्नो परम्परा, भाषा र सँस्कृतिप्रति मरिमेट्ने जाति हुन् । उनीहरूले वैशाखे पूर्णिमा, भदौरे पूर्णिमा र मंसिरे पूर्णिमालाई भब्यतापूर्वक मनाउने गरेका छन् ।