केही दिनदेखि नेपालका सवै भूभाग र क्षेत्रमा अत्याधिक गर्मी बढीरहेको छ । गर्मीले देशका सवै जिल्लाहरु प्रभावित बनेको समाचारहरु आइरहेका छन् । यो सिजनमा गर्मी हुनु स्वभाविक नै हो । तर नेपालमा जसरी हरेक वर्ष निरन्तर तापमान बढ्दै गएको छ यो चाही अस्वभाविक र चिन्ताजनक विषय बनेको छ ।
यो साता मात्रै देशभर मापन गरिएको तापक्रममा धेरै जिल्लाहरुमा अधिकतम ४० डिग्री भन्दा माथि तापक्रम पुगेको छ । देशका प्रमुख शहरमा केही दिनयता वृद्धिभएको तापक्रमको रेकर्डलाई उदाहरणको रुपमा हेरौं —आइतबार सवैभन्दा बढी भैरहवामा अधिकतम तापक्रम ४०.८ डिग्री सेल्सियस मापन गरिएको छ । त्यस्तै सिमरामा ४०.७, नेपालगञ्जमा ४०.५ र जनकपुरमा पनि ४०.५ डिग्री सेल्सियस तापक्रम मापन भयो । त्यस्तै विराटनगरमा ४०, धनगढीमा ३९.२, वीरेन्द्रनगरमा ३८.५, धरानमा ३८.३, दिपायलमा ३७.८ र घोराहीमा ३७.६ डिग्री सेल्सियस तापक्रम मापन गरियो । यस्तै सोही दिन काठमाडौं उपत्यकामा ३२ डिग्री रह्यो । लगातार दोस्रो दिन ३२ डिग्री रहेको हो । सबैभन्दा कम अधिकतम तापक्रम भने जिरीमा २५.१ डिग्री पुग्यो । न्यूनतम तापक्रममा अधिकतम धरानमा २६.५, जनकपुरमा २६.२, विराटनगरमा २५.६ भैरहवामा २४.९ तथा सिमरा, घोराही र नेपालगञ्जमा समान २३ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ ।
गत वर्षको अप्रिलमा पनि विभिन्न स्थानको तापक्रम ३८.१ देखि ३८.६ डिग्रीसम्म पुगेको थियो । हालसम्मको तथ्यांकमा सबैभन्दा बढी तापक्रम धनगढीमा रेकर्ड भएको छ । सन् १९९५ को जुन १६ मा धनगढीको अत्तरीया स्टेसनमा ४६.४ डिग्री तापक्रम मापन गरिएको थियो । ४५ डिग्री धेरैपटक नाघेकोे छ । सन् १९९५ अगस्ट २ मा नवलपरासीको सेमरी स्टेसनमा ४५.८ डिग्री मापन भएको थियो । त्यसैगरी सन् १९९५ को मे ३ मा भैरहवा एयरपोर्टमा ४५.२ पुगेको थियो । नेपालगन्ज सन् १९९५ को जुन १६ मा ४५.० डिग्री देखिएको थियो । सन् १९६६ को जुन ८ मा चिसापानी कर्णालीमा ४५ डिग्री पुगेको थियो । टीकापुरमा सन् २०१२ को जुन १३ मा ४५ डिग्री र सन् २०१२ कै मे २८ मा दीपायलमा ४५ डिग्री पुगेको थियो । अन्य धेरै वर्षहरूमा अत्यधिक तापक्रम देखिएका थिए ।
काठमाडौंको हकमा अहिलेसम्मको सबैभन्दा धेरै तापक्रम ३६.६ डिग्री मापन भएको छ । सन् १९८९ को मे ७ मा । त्यसपछि सन् १९९९ को अप्रिल २६ मा ३५.६ डिग्री र सन् २००० पछि २०१५ को जुन ६ मा ३४.६ डिग्री र २०१६ को जुन ६ मा ३६ डिग्री मापन भएको छ । लगातार तीन दिन उस्तै गर्मी भएमा त्यसलाई हिटवेभ भनिन्छ । हिटवेभ हुनका लागि थ्रेसहोल्ड कट्नुपर्छ । प्रत्येक स्टेसनका फरक–फरक थ्रेसहोल्ड हुन्छन् (हट डे, भेरी हट र एस्ट्रिम हट डे) गर्मी, धेरै गर्मी र अत्यन्त गर्मीमा वर्गीकरण गरिन्छ । अहिले नेपालका धेरै भू–भागमा तापक्रमले ‘थे्रसहोल्ड’ नाघेपछि ‘हिटवेभ’ सुरु भएको छ ।
यसरी देशका विभिन भूभागहरुमा क्रमश अधिकतम तापक्रममा वृद्धि भइरहेको पाउन सकिन्छ । नेपालमा निरन्तर तापमानमा वृद्धिभइरहेको उदाहरणले प्रष्ट पार्दछ । केवल गर्मी सिजनको गर्मी भनेर मात्र यो अवस्थालाई नजरअन्दाज गर्नु भविष्यको लागि गम्भीर गल्ती पनि हुनसक्छ । विश्वमा बढ्दै गएको तापमान वृद्धि र जलवायु परिवर्तनको गम्भीर असर नेपालमा केही वर्ष यतादेखि देखिंदै आएको छ । केवल तापमानमा वृद्धिमात्र नभएर अतिवृटि, अनावृष्टि, हिमालयमा हिंउ पग्लीदै गएको छ भने, बाढी पहिरो जस्ता प्रक्रोप पनि समस्या बन्दै गइरहेको छ ।
केही अध्ययनहरुमा उल्लेख भएअनुसार जलवायु परिवर्तनले डढेलो, चर्को गर्मी र अचानक बाढी पहिरोको समस्या देखा परेको छ । त्यस्तै करिब ४७ वटा हिमताल विस्फोटको जोखिममा परिसकेको बताइन्छ । जलवायु परिवर्तनले पु¥याइरहेको असरले संसारभरि मौसम प्रणाली खलबलिएको र तिनले यस्तै अतिवृष्टि, खडेरी, व्यापक डढेलो, हिमताल विस्फोटन जस्ता अप्रत्यासित विपदहरूको संख्या र स्तर बढाइदिने वैज्ञानिकहरूले बताइरहेका छन् । हिमाली क्षेत्रमा हिमताल विस्फोट हुने जसले तलतिर बाढी अनि पहिरो निम्त्याउने, पहिरोले खोला थुन्ने अनि तल्लो तटमा झन् ठूलो बाढी र डुबान ल्याउने जस्ता घटनाबारे उनीहरूले सजग गराइरहेका छन् । नेपालमा करिव ०.०५६ डिग्री सेल्सीअस तापक्रम वृद्धि भइरहेको बताइन्छ । यो अङ्क नेपालको औसत वार्षिक तापमान वृद्धि भइरहेको सुचक हो ।
जल तथा मौसम विज्ञान विभागले सन् २०१७ मा निकालेको निचोडले नेपालमा वार्षिक अधिकतम तापक्रमको वृद्धिदर औसतमा ०.०५६ डिग्री रहेको देखाएको थियो । मध्यम कालमा सन् २०१६ देखि सन् २०४५ सम्म औसत तापक्रम ०.९ देखि १.१ डिग्रीले बढ्ने र दीर्घकालमा भने सन् २०३६ देखि २०६५ सम्ममा औसत तापक्रम १.३ देखि २.८ डिग्रीले बढ्ने पनि उक्त दस्तावेजमा उल्लेख छ ।
अन्तर्राष्ट्रिय जगतले तापक्रमको औसत वृद्धिलाई औद्योगिक कालभन्दा पहिलेको तुलनामा डेढ डिग्री सेल्सीअसमा सीमित गर्ने भनिरहेको छ । तर यसका दुईवटा पाटा छन् । एक त उक्त लक्ष्यलाई भेट्न आवश्यक हरितगृह ग्याँस उत्सर्जनको कटौतीमा अपेक्षित तदारुकता देखिँदैन भने अर्को यो लक्ष्य भेटिइहाले पनि यसको प्रभाव अन्यत्रभन्दा नेपालजस्तो हिमाली देशमा धेरै पर्ने देखिन्छ ।
जलवायु परिवर्तनको गति तिव्र देखिएको छ भने यसलाई न्युनिकरण गर्ने गति शुस्त देखिएको छ । अधिक कार्वन उत्सर्जन गर्ने विश्वका शक्ति राष्ट्रहरु यसको कारक हुन् । तर नेपालजस्तो कमजोर र सानो मुलुकहरुले यसको न्यूनिकरणमा खासै ठूलो भूमिका निर्वाह गर्न सक्दैनन् । तर यसको असर यस्तै नेपाल र नेपालजस्ता साना देशहरु प्रत्यक्ष परिरहेको छ । हेर्दा वा सुन्दा थोरै जस्तो लागे पनि यो स्तरको तापमान परिवर्तनका कारण अहिले नै ठूलाठूला असर पर्न थालिसकेको केही विज्ञहरूको भनाई छ ।
नेपालको हकमा यसले वर्षाको प्रवृत्तिमा व्यापक फेरबदल, हिमताल विस्फोटन, अनपेक्षित विपद् लगायतका असर पर्ने जसले गर्दा खाद्य उत्पादन, जलस्रोत व्यवस्थापन तथा जनजीविकामा प्रभाव पर्दछ । तापक्रम वृद्धिले औसत वर्षाको परिमाण मध्यम कालमा दुईदेखि छ प्रतिशत अनि दीर्घकालमा आठदेखि १२ प्रतिशतले बढ्ने सरकारी एवं अन्तर्राष्ट्रिय संस्थाहरुको एक अध्ययनले समेत देखाएको छ । विश्वव्यापी जलवायु सम्झौता प्यारिस अग्रीमेन्टबमोजिम सबै देशले तापक्रम वृद्धिलाई नियन्त्रण गरेर डेढ डिग्रीमा सीमित गर्दा पनि त्यसको असर हिमाली क्षेत्रमा डरलाग्दो पर्ने जलवायु परिवर्तनका जानकारहरुको भनाइ छ । विज्ञहरुको भनाई अनुसार अहिले नै विश्व तापक्रम १.१ डिग्रीले बढिसकेको छ । त्यसलाई १.५ डिग्रीमा सीमित पार्दा पनि हाम्रो हिमाली क्षेत्रको एकतिहाइ हिउँ पग्लिने देखाएको छ । यसको अर्थ विश्वका ठूला देशले प्रतिवद्धता व्यक्त गरेबमोजिम नै तापक्रम वृद्धिको गति घटाउन सके पनि हिमाली देशहरूका निम्ति त्यो प्रयास अप्रयाप्त देखिन्छ ।
नेपालले विश्वव्यापी तापक्रम वृद्धि रोक्ने दिशामा हरितगृह ग्याँस उत्सर्जन कटौती गर्ने शून्य कार्बन उत्सर्जनको लक्ष्य सन् २०५० सम्म भेट्ने संयुक्त राष्ट्रसंघमा बुझाएको प्रतिवेदनमा उल्लेख गरेको छ । तर उत्सर्जनका वास्तविक अगुवा देशहरू नै अग्रसर नभएसम्म यसले सार्थक परिणाम ल्याउन सक्दैन । मौसममा आउने उथलपुथलले विगतमा जलवायु परिवर्तनका असरबाट बच्न अपनाइएका अनुकूल उपायहरू अब पर्याप्त नहुने र गरिब अनि न्यून कार्बन उत्सर्जन गर्ने नेपाल जस्ता मुलुकमा आइपर्ने ठूल्ठूला हानिनोक्सानीको कतैबाट लेखाजोखा र क्षतिपूर्ति हुनुपर्ने आवाज उठिरहेका छन् ।
विगत कैयन वर्षदेखि विकासोन्मुख देशहरूले अनुकूलन तथा क्षति न्यूनीकरणलाई जलवायु परिवर्तनसँग जुध््ने प्रमुख नीतिगत औजार बनाइरहेका छन् । तर अब यस्तो प्रयासमात्र समस्या समाधानमा अपुग देखिएको छ । नेपालजस्ता देशले कार्बन उत्सर्जन गर्ने ठूला शक्ति राष्ट्रहरुलाई कार्बन उत्सर्जन घटाउन घच्घच्याउनका साथै ठूलो स्तरका हानिनोक्सानीका विषय पनि गम्भीरताका साथ उठाउनु पर्ने अवस्था आइसकेको छ ।