बझाङमा एकैदिन दुदुईवटा भूकम्प गए मंगलवार दिउँसो । ती भूकम्पको कम्पन २६ मिनेटको अन्तरालमा महसुस गरिए । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले पनि यसको रेकर्ड मापन गरिसकेको छ ।
मङ्गलवार दिउँसो २ बजेर ४० मिनेट जाँदा बझाङको तालकोट आसपास केन्द्रविन्दु भएर ५.३ म्याग्निच्युडको २६ मिनेटपछि ३ बजेर ६ मिनेट जाादा बझाङकै चैनपुर आसपास केन्द्रविन्दु भएर ६.३ म्याग्निच्युडको अझ ठूलो भूकम्प गयो ।
घर भत्कने र धनजनको क्षति हुनुका साथै भूकम्पको धक्काले पहिरो गएर बाटो अबरूद्ध हुँदा सवारी साधन पनि चल्न सकिरहेका छैनन् । भूकम्पको धक्का र यसले निम्त्याएको परिणति वा जोखिम डरलाग्दो छ । राजधानी सहरसम्म यसको धक्का महसुस गरिएको थियो ।
नेपालमा बराबर महसुस हुने भूकम्पको धक्का अबका दिनमा जटिल हुने देखिएको छ । आफ्नो सिंगो ‘बेस प्लेट’ नभएको र ससाना विसाल चट्टानमाथि रहेको नेपाल आफैमा भूगर्भीय बनोटका हिसाबले जोखिमा छ ।
नेपालको तराइ बेल्टको केही भाग भारतीय टेक्टोनिक प्लेटमा रहेको भए पनि बाँकी अधिकांश भाग यिनै प्रादेशिक संरचना आकारका र केही ती भन्दा पनि साना आकारका विसाल ढुंगामाथि रहेको भूगर्भविदको अनुसन्धानबाट खुलेको छ ।
पृथ्वीमा जमीन भागको निर्माणको इतिहास हेर्दा पनि विश्वका वैज्ञानिक यसमा सहमत छन् । दक्षिण एशियामा रहेको बङ्गलादेशसहित भुटान, सिक्किम, नेपाल आदिका सिङ्गो भाग तथा पाकिस्तान र अफगानिस्तानको उत्तरी भाग टेथिस सागरको पिँध माथि उठेर बनेको तथ्य पेस गर्दछन् वैज्ञानिकहरू ।
टेथिस सागर उठेर बनेको भूभागमा नेपालको भूबनोट निकै कच्चा र जोखिमयुक्त छ । अन्य देशमा जाने भूकम्पको मात्रा र नेपालमा जाने भूकम्पको मात्राले पनि यो कुरा सही भएको पुष्टि गर्दछ ।
भूकम्पले नेपालमा तात्कालीन र दीर्घकालीन असर पारिरहेको छ । तात्कालीन रूपमा धनजनको क्षति पुर्याएर असर गरिरहेको छ भने दीर्घकालीन रूपमा नेपालका बस्ती जोखिममा परिरहेका छन् । भूकम्पका कारण जमिनमा परेका चिरा र दरारमा पानी भरिन गई वर्षा याममा ठूला ठूला पहिरो गएर बस्ती जोखिममा परिरहेका छन् ।
जोखिमयुक्त बसोवास भएकाले नेपालको तराइदेखि पहाडसम्म र पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको भौगर्भिक बनोट अध्ययन गरिनु जरूरी छ । विश्वका सहरहरूमध्ये न्युयोर्क अहिले भासिइरहेको अवस्थामा छ । यसबाट पाठ सिकेर नेपाल पनि नेपालको भौगर्भिक अवस्थाबारे ‘अपडेट’ भइरहनु जरूरी छ ।
न्युयोर्क तीन कारणले भासिइरहेको वैज्ञानिक तथा भूगर्भशास्त्रीहरूको निचोड रहेको छ । पहिलो कारण यसको कमजोर ‘बेस प्लेट’ भएकाले त्यो मुनितिर भासिदो क्रममा छ । दोस्रो, न्युयोर्कमा निर्मित भौतिक पूर्वाधारको भार जमिनले थेग्न सकिरहेको छैन ।
तेस्रो, ग्लोबल वार्मिङका कारणले गर्दा पृथ्वीमा भार बहनीय क्षमतामा गडबडी आइरहेको छ । उत्तरी ध्रुवमा भइरहेको ‘आइस मेल्टिङ’ र समुद्रमा पानीको सतहमा बढोत्तरी हुन गएका कारण पृथ्वीको बहनीय क्षमताका फरक आइरहेको छ ।
नेपाल आफैमा पनि कमजोर भौगर्भिक बनोट रहेको देश हो । यो विश्वबाट अलग पनि छैन । विश्वमा हुने र भइरहेका उतारचढावबाट यो अछुतो रहनसक्ने पनि होइन । त्यसैले आफै त कमजोर भौगर्भिक बनोट रहेको नेपाल, त्यसमा पनि हिउँ पग्लदै जानु, बराबर भूकम्प र पराकम्प आइरहनुले नेपाल मानव बस्तीका लागि जोखिमयुक्त बन्दै गइरहेको छ ।
बेलाबेलामा पहिरो खसेर नदी रोकिने, बाटो बन्द हुने, बस्ती उजाड हुने, पानीका मूलहरू सुक्ने हाम्रा लागि नौला कुरा बनिरहेका छैनन् । यी कुरा नियमित आकस्मिकतामा अभिव्यक्त भइरहेका छन् ।
आजभन्दा ८ वर्षअघि गोर्खाको बारपाक केन्द्रविन्दु बनाएर गएको भूकम्पबाट सूचना र हल्लाखल्लाको सन्देश मात्र लिने होइन, यसबाट पाठ पनि सिक्नुपर्छ । अहिले बझाङको जुम्ल्याहा धक्काबाट त झन् सतर्क नै रहनु पर्ने अवस्था सिर्जना हुन गएको छ ।