प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ५ असोजमा अमेरिका भ्रमण सके लगतै उतैबाट चीन भ्रमण गरे । भ्रमणमा लामो कार्य सूची बने । सञ्चारमाध्यमहरुले पनि चर्चा र परिचर्चा गरे । बहसको विषय पनि बन्यो । तर प्रधानमन्त्रीले मित्र राष्ट्र चीनमा देखाएको कूटनीति भने केही धर्मराएको देखिन्छ ।
नेपाली राजनीति र कूटनीतिक क्षेत्रमा भ्रमणको विषयमा बहस हुने त गर्छ तर प्रधानमन्त्रीले सन्तुलन कायम गर्ने विषयमा ध्यान दिएको भने पाइदैन । एकातिर विश्व महाशक्ति राष्ट्रको खेल मैदान नेपाल बन्ने सम्भावना बढिरहेको छ भने नेपालले आफ्नो तटस्थताको नीतिमा पनि लत्तो छाड्दै गइरहेको अबस्था छ । यही सेरोफेरामा हेर्दा नेपाल खेलमैदान मात्रै बनाउन खोज्ने शक्ति राष्ट्रलाई देशको प्रमुखले कूटनीतिक चातुर्यता देखाउन पर्ने हो तर उनले देखाउन सकेनन् । बोरु चीनले यसअघि गरेको पुरानै सम्झौतामा हस्ताक्षर गर्नु पर्ने बाध्यता बन्न पुग्यो । एकातिर दुई ठूला शक्ति राष्ट्रको बीचमा बस्नु परेको छ भने अर्को तिर सन्तुलन मिलाउन पनि पर्नेछ । सन्तुलन बिग्रदा एउटा पक्ष तल र अर्को पक्ष माथी बन्न सक्ने अबस्था आउनु पनि नेपालकै लागि खतराको सूचक हुनेछ ।
सत्ता टिकाउनकै लागि छिमेकी देशको शरणमा पर्नु र आफ्नो एजेण्डा भुल्दै जाने हो भने भोलि नेपालको कूटनीति र राजनीतिक चाललाई विदेशीले पनि शंकाको दृष्टिकोणबाट हेर्ने निश्चित छ । नेपालको कम्युनिष्टहरुलाई पुटिनदेखि चीनको सी आफ्नै खलकजस्तो लाग्छ तर कूटनीतिक सन्तुलन कसरी राख्ने भन्ने विषयमा भने धेरै ठाउँमा चुकेको पाइन्छ । त्यस्तै कांग्रेसलाई प्रजातन्त्रिक देश भारत र अमेरिका प्यारो लाग्छ । जसको उदाहरणको रुपमा भारतका लागि नेपालका राजदूतले दिएको अभिव्यक्तिलाई उदाहरणका रुपमा बुझ्न सकिन्छ । केही महिनाअगाडि भारतका लागि नेपाली राजदूत शंकर शर्माले ‘नेपालमा आफूले भारत मात्रै देखेको’ भन्दै चीन कहाँ छ भनेर प्रश्न गरेका थिए । यो आफैमा लज्जास्पद तर्क थियो । धेरै यो विषयलाई मसिनो गरेर केलाउने प्रयास गरेनन् तर त्यो शब्दले नेपालका राजनीतिक दल र कूटनीतिक कर्मचारी कुन हदसम्म आफ्नो परिचय दिन सक्छन् भन्ने एउटा उदाहरण हो ।
अर्को तर्फ कम्युनिष्टहरुमा देशभक्तिको भावना भन्दा पनि विदेशका दार्शनिक तथा राजनीतिज्ञ मार्क्स, लेनिन, स्टालिन र माओ आफ्नै गोत्री हुन् भन्ने लाग्छ । बामपन्थीको हरेक भाषामा हेरौ हाम्रो माक्स माहान हुन् भन्ने भावना छ । उनीहरुले मार्क्स, लेनिन, स्टालिन र माओलाई महान मान्दै गर्दा आफू भू-धरातल भने भुसुक्कै बिर्सिरहेका हुन्छन् । यस्तो भयानक विचारले र पूर्वाग्रहले नेपालको कूटनीति कता जाला ?
बङ्गलादेशलाई जी २० मा निम्त्याउँदा नेपाल नपर्नु
जी२० शिखर सम्मेलनमा भारतले बङ्गलादेशलाई निमन्त्रणा गर्दासमेत उत्तरको छिमेकीलाई बेवास्ता गर्यो । बङ्गलादेशसँगै इजिप्ट, मौरिसस, नेदरल्यान्ड्स, नाइजेरिया, ओमान, सिङ्गापुर, स्पेन र यूएईलाई आमन्त्रित गरिएको थियो । बङ्गलादेश क्षेत्रफलको आकारले नेपालजत्रै भए पनि अर्थतन्त्र र जनसंख्याको हिसाबले नेपालभन्दा ठूलो छ ।
बङ्गलादेश भारतका लागि दक्षिण एसियाको सबैभन्दा ठूलो बजार हो । त्यस्तै अब्जर्भर रिसर्च फउन्डेसनका अनुसार भारतको उत्तरपूर्वी भूभागको प्रवेशद्वार, छिमेक पहिलो नीतिको केन्द्रीय हिस्सा तथा बङ्गालको खाडीमा चिनियाँ नौसैनिक उपस्थिति रोक्ने आधारको मुख्य साझेदारको रूपमा सुदृढ सम्बन्ध स्थापित गर्न चाहन्छ । झण्डै १७ करोड ३० लाख जनसंख्या रहेको बङ्गलादेश र ३ करोड हाराहारी जनसंख्या भएको नेपाललाई भारतले आर्थिक, सामरिक र रणनीतिक लाभको कोणबाट हेरेर नीति तय गर्ने कुरालाई नेपालले बुझ्न जरुरी छ ।
सन् २०२२ मा बङ्गलादेशको अर्थतन्त्र ४६० विलियन अमिरकी डलर भएको छ र विश्वको ३५औँ अर्थतन्त्र हो । पीडब्लूसीको एउटा अध्ययनले बङ्गलादेश सन् २०५० सम्म विश्वको २३औँ ठूलो अर्थतन्त्रमा फड्को मार्ने देखाएको छ । यस्तो अथाह सम्भावना बोकेको देशलाई किनारा लगाएर नेपाललाई काखी च्याप्ने काम भारतले कदापी गर्न सक्दैन भन्ने नेपालका राजनीतिक दलले बुझ्न नसकेका कि बुझ्न नचाहेका हुन् ?
चीन-भारत र अमेरिकाको त्रिशक्तिको केन्द्रबिन्दुमा नेपाल
नेपाललको कूटनीति पञ्चशिलको आधारमा चल्थ्यो । असंलग्न देशहरुको सूचीमा रहेको नेपाल बिगत केही वर्षअघिदेखि छ्याङ्ग देखिने गरी एउटा ध्रुवको पक्षमा उभिन पुग्यो । रुसले युक्रेनबीचको तनाबको विषयमा छिमेकी देश भारत र चीनले तटस्थ बन्दा नेपाल भने एक कदम अगाडि बढेर अमेरिकी एलाइन्समा गयो । जुन नेपालले तटस्थताको नीतिबाट पछि हटेको भन्ने अर्थमा बुझ्न सकिन्छ । नेपाल सो समयदेखि अब तटस्थताको नीतिमा रहेन । एउटा ध्रुबमा बाँधिएर अगाडि बढिसकेको जग जायर नै छ ।
अमेरिकी एकाधिकारवादी विश्व व्यवस्थामाथि चुनौती खडा गर्न सक्ने समकक्षीमा उभ्याएको चीन छिमेकीको रूपमा अर्कोपट्टि खडा हुनु निश्चय पनि सुखद पक्ष हुनुपर्थ्यो । तर अमेरिका, चीन र भारतको भूराजनीतिको खेल मैदान नेपाल बन्न पुगिरहेको छ । हामी कतै पनि रहदैनाै भन्दाभन्दै पनि एउटा ध्रुवमा कित्ता काँट गरेर लागिसकेका छौ । यद्यपी नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल छिमेकी भारतसँगको सन्तुलन कायम राख्न चीनलाई आफू तटस्थ भएको सन्देश दिए पनि जुन कुरा चीनले विश्वास गर्न सकेको छैन । एसियामा चीनको तीव्र प्रभावलाई रोक्ने अमेरिकी मुख्य कडीको अभिन्न हिस्सा पनि हो । हाल नेपालमा एमसीसी कार्यान्वयनतर्फ गइरहेको छ । सोही सन्दर्भमा उत्तरको चीन पनि नेपालमा बेल्ट एण्ड रोड इनिसियटिभ(बीआरआई) कार्यान्वयनमा लैजान चाहन्थ्यो तर अहिले तत्काल लागू हुने सम्भावना भने न्यून भएको छ । तर पनि सरकार अझै पनि बीआरआईमा प्रतिबद्धता जनाउन भने छाड्दैन ।