चीनले रिमोट सेन्सिङ उपग्रह अन्तरीक्षमा पठाएपछि यसका बारेमा अन्तर्राष्ट्रिय चासो बढेर गएको छ । महाशक्ति राष्ट्रहरूको अन्तरीक्ष दौडमा यसले थप नयाँ आयाम उद्घाटन गरेको छ ।
अहिलेसम्म राजनीतिक उद्देश्यका लागि भनी टिप्पणी हुने अन्तरीक्षका गतिविधि यस पटकदेखि पृथ्वी र मानवका लागि भन्ने कुरामा बहस चल्न थालेको छ । चीनले बुधबार उत्तर पश्चिममा रहेको प्रयोगशाला जिक्वान स्याटेलाइट लन्च सेन्टरबाट अत्याधुनिक ‘रिमोट सेन्सिङ’ उपग्रह अन्तरिक्षमा पठाएपछि बहस आउनु स्वाभाविक पनि थियो ।
यो रिमोट सेसिङ याओगन–३३ ०४ नामक उपग्रह लङ मार्च–४ सी क्यारियर रकेटबाट स्थानीय समयानुसार बिहान ४ः१५ बजे प्रक्षेपण गरिएको थियो । यो सफल प्रक्षेपणबाट चीनले पृथ्वीकै बारेमा अरू थप कुरा पत्ता लगाउने ती कुरा मानव जीवनका लागि उपयोगी हुने ठानिएको छ ।
रिमोट सेन्सिङको उद्देश्य भनेको यो सेन्सिङ आफैको वैज्ञानिक प्रयोग, भूमि स्रोत सर्वेक्षण, बाली उत्पादन अनुगमन र विपद् रोकथाम र राहतकार्यका लागि यसको प्रयोग हो । यसको कामको प्रभावकारिताका आधारमा चीनले विश्व आर्थिक तथा सुरक्षाको क्षेत्रमा आफ्नो सुदृढ पहुँच पुर्याउने देखिन्छ ।
चीनले हरेक क्षेत्रमा अन्वेषणका लागि प्रक्षेपण गर्ने कार्यलाई निरन्तरता दिइरहेको छ । यो निरन्तरतामा रिमोट सेन्सिङ चिनियाँ लङ मार्च क्यारियर रकेट श्रृङ्खलाको ४८९औँ उडान अभियान हो ।