• मंसिर ११ २०८१, मंगलवार

‘देउसरा आइगै’ लिएर आए गायक-संगीतकार तिलकसिंह पेला

आश्विन ५ २०८०, शुक्रबार

काठमाडौं । गायक तथा संगीतकार तिलकसिंह पेलाको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । मानसखण्डीय भाषा, संस्कृति झल्काउने ‘देउसरा आइगै’ बोलको गीत पेलाको आफ्नै युट्युब च्यानलमा बिहीबार सार्वजनिक भएको हो । गीतकार हेमन्त विवशले रचना गरेको गीतमा संगीत गायक पेलाकै रहेको छ ।

गीतको भिडियोमा मानसखण्डीय भाषा, संस्कृति, परम्परा एवम् सभ्यतासम्बन्धी विभिन्न दृष्य (हुड्केली, ठाडोखेल, छलिया नृत्य, होली, धामी कामेको आदि) समावेश गरेको देखिन्छ ।

मानसखण्डीय सभ्यताले हाल भारतको गढवाल, कुमाउँदेखि काली कणर्ालीको उद्गम मानसरोवरसम्मको कला संस्कृति, परम्परालाई जनाउने पेलाले बताए ।
तिलकसिंह पेला पछिल्लो समयका चर्चित गजल/गीत ‘के लत बस्यो’, ‘हेर दिन ढल्यो’ का गायक तथा संगीतकार हुन् । गायक पेला वर्ष २०७९ मा शिलापत्र वर्षकलाकार घोषित भएका थिए ।

२०६१ सालदेखि काठमाडौंको वनस्थलीमा श्रीकृष्ण गुरुकुल संगीत पाठशाला खोलेर शास्त्रीय संगीत पढाइरहेका उनले तीन वर्षअघि आँसु एल्बमको तेस्रो भागका रूपमा ’निर्जन किनार’ एल्बम ल्याएका थिए । त्यसअघि उनले डोट्याली भाषाका गीतहरूको एल्बम पनि ल्याए ।

हिट हुने लोभमा उनले हल्काफुल्का सिर्जनामा कहिल्यै काम गरेनन् । बरु बजार, पदक र सम्मानबाट टाढै रहेर निरन्तर साधना गरे । बैतडीमा जन्मेका पेलाले आधुनिक गीतबाट करिअरको सुरुवात गरे पनि अहिले आफूलाई पूणर्तः शास्त्रीय संगीतमा समर्पित गरेका छन् ।

यति मात्र होइन, नेपाली आधुनिक र शास्त्रीय संगीतको डुङ्गा डुब्न नदिन उनले केही सर्जक पनि तयार पारिदिएका छन् । अर्थात्, उनका केही चेलाहरू नेपाली सांगीतिक क्षेत्रका उम्दा प्रतिभाका रूपमा देखिन्छन् ।