काठमाडौं । नेपाल मगर संघका संस्थापक अध्यक्ष तथा प्रजातन्त्र सेनानी हेमबहादुर पुनको १९औं स्मृति दिवस मनाइएको छ । काठमाडौंको कलंकीमा रहेको नेपाल मगर संघको मुलघरमा एक कार्यक्रमको आयोजना गरी पुनको स्मृति दिवस मनाइएको हो ।
उनको स्मृतिमा प्रतिष्ठान घोषणा गरिएको छ । कार्यक्रममा दिवंगत हेमबहादुरका छोरा पूर्वमन्त्री उत्तम पुनमगर र नेपाल मगर संघका संस्थापक महासचिव सुरेश आलेमगरले हेमबहादुर पुनले मगर जातिको अधिकार र पहिचान स्थापना गर्न खेलेको भूमिकाको चर्चा गरेका थिए । कार्यक्रममा बालसिंह काउछामगरले कार्यपत्र प्रस्तुत गर्नुका साथै हेमबहादुर पुनको जीवनीका बारेमा जानकारी गराएका थिए ।
हेमबहादुर पुन ०७ सालमा राणा शासन हटाएर प्रजातन्त्र ल्याउन युद्ध लडेका योद्धा हुन् । उनी राणा शासन फालेर प्रजातन्त्र स्थापना गर्न कांग्रेसका नेता वीपी कोइराला लगायतका नेतासित मिलेर काम गरेका थिए । पछि उनी नेपाल प्रहरीमा रहेर सरकारी सेवामा रहेका थिए । ०७ सालको क्रान्तिमा लाग्नु भन्दा अघि हेमबहादुर बेलायती सेनामा पनि काम गरेका थिए ।
वीपी कोइरालाले प्रजातन्त्र स्थापना गर्ने लडाइँमा लाग्न प्रेरणा दिएपछि उनी बेलायती सेनाको जागीर छोडेर मुक्तिसेनामा भर्ती भएर राणा शासनविरुद्ध कमाण्डर बनेर लडेको इतिहास रहेको छ । प्रजातन्त्र सेनानी पुन म्याग्दी जिल्लाको शिखका स्थायी बासिन्दा हुन् । प्रजातन्त्र स्थापनापछि मुक्तिसेनालाई नेपाल प्रहरी बनाइयो । हेमबहादुर नेपाल प्रहरीको निरिक्षकसम्मको जिम्मेरीमा रहेर लामो समय सेवा गरे ।
सोही समयमा उनले मगर जातिको संस्कृतिको संरक्षण र विकासको बारेमा कृयाशील रहँदा तत्कालीन पञ्चायती सरकारले उनलाई सहन नसकी प्रहरी सेवामा रहँदा बढुवा गरेन । फलस्वरुप उनी १८ वर्षसम्म एउटै पदमा रहन बाध्य भए । यो उनी जनजाति भएको सजाय थियो । सामन्ती राजाहरुले चलाउँदै आएको एकल जातीय शासनको दमनकै कारण यस्तो भएको भन्नेमा कोही पनि भ्रममा रहनु हुँदैन ।
यस्तो वीरता र गर्व गर्न लायक इतिहास बनाएका हेमबहादुर पुनको आजका जनजाति नेतृत्वले उनको सम्मान र आदर्शिकरण गर्न भुल्नु हुँदैन । तस्वीरहरु : रोमन बुढामगर