खेतीपातीका लागि नयाँ ठाउँ र वातावरण खोज्दै गर्दा म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जा उच्च घनत्वको स्याउखेतीका लागि उपयुक्तरहेको ठहर भएको छ । यहाँ गरिएको स्याउ खेतीको पहिलो परीक्षण नै सफल भएपछि यसले स्थानीय जनतामा उत्साह ल्याएको छ ।
नेपालमा विकास गरिएका स्याउका प्रजाति पनि बिस्तारका क्रममा छन् । तर गुर्जामा गरिएको स्याउ खेती भने इटलीबाट ल्याइएको उच्च घनत्व जातका स्याउका बिरुवा हुन् । गण्डकी प्रदेशको कृषि विकास निर्देशनालयले दुई वर्षअघि परिक्षणका लागि यी विरूवा गुर्जामा रोपिएका थिए ।
देशभित्र खाने पेटहरू पनि बढे । जीविकोपार्जन पनि मुस्किल हुँदै गयो । कृषि विभाग र संस्थाहरूको पनि ध्यान अलि केही वरपर पुग्न थाल्यो । नयाँ नयाँ कुराको खोजका क्रममा गुर्जामा उच्च घनत्वका स्याउ खेती गरियो ।
यो पहिलो परीक्षण भएकाले जोखिम मोलेर गरिएको थियो । तर सबै बोटमा फल लागेपछि यसले सम्बन्धित सबैमा नयाँ रौनक ल्याएको छ । समुद्री सतहदेखि २ हजार ७ सय मिटर उचाइमा रहेको गुर्जाको स्याउखेती आफैमा उदाहरणीय बन्न गएको छ ।
गुर्जाको हिमाली कृषि सहकारी संस्थाले स्थानीय जनताको सहकार्यमा बाँझो जमिनमारहेको झाडी फाँडेर स्याउ बगैँचा निर्माण गरेको थियो । यो बगैचामा २६ कृषकले करिब २० रोपनी जग्गामा स्याउखेती गरेका छन् ।
यसमा कृषि विकास निर्देशनालयको सहजीकरण, गण्डकी प्रदेशको ५० प्रतिशत अनुदान बजेट र स्थानीय जनताको उत्कट चासो र सहभागिताले यो स्याउ खेती सफल हुनुमा त्रिसंगमको काम गरेको छ । यसमा स्थानीय कृषि ज्ञान केन्द्र अनुदानसहित लागि परेको छ ।
छिटो फल्ने, धेरै उत्पादन दिने, फल टिप्न र खेती गर्न सजिलो हुने उच्च घनत्वको स्याउखेती नेपालमा सफल भएपछि यसको विस्तारको सम्भावनाको ढोका उघ्रिएको छ । यसले स्थानीय किसानलाई बाँझो जमिनको सदुपयोगसहित कृषकको आम्दानी बढाउन उत्साहित गरेको छ ।