• आश्विन १२ २०८१, शनिबार

यि हुन् अबको १२ वर्षसम्मको भावी प्रधानन्यायाधीश

भाद्र १३ २०८०, बुधबार

काठमाडौं । सर्वोच्च अदालतमा आगामी १२ वर्षपछिसम्म बन्ने प्रधानन्यायाधीशको नाम सिफारिस गरिएको छ । न्याय परिषद्को रोलक्रम अनुसार हालका प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठपछि न्यायालयमा १२ वर्षसम्मका लागि प्रधानन्यायाधीश हुनेको सूची लगभग निश्चित भइसकेको छ ।
न्यायपरिषद्ले रोलक्रमअनुसार विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा, प्रकाश राउत र सपना प्रधानलाई राखेको छ । यि मध्ये श्रेष्ठ हाल प्रधानन्यायाधीश छन् भने श्रेष्ठपछि प्रकाशमान सिंह राउतले २०८१ पछि सर्वोच्चको नेतृत्व सम्हाल्ने छन् । उनी पछिको रोलक्रममा सपना प्रधान मल्ल प्रधानन्यायाधीश हुनेछिन् ।

को कहिले प्रधानन्यायधीश ?

हरिकृष्ण कार्कीपछि प्रधानन्यायाधीश बनेका विश्वम्भरप्रसाद श्रेष्ठ असोज २०८१ सम्म सर्वोच्चको नेतृत्व सम्हाल्ने छन्

ईश्वरप्रसाद खतिवडा प्रधानन्यायाधीश नबनी फागुन २०८० अवकाश

आनन्दमोहन भट्टराई प्रधानन्यायाधीश नबनी असार २०८१ मा अवकाश

अनिलकुमार सिन्हा प्रधानन्यायाधीश नबनी कात्तिक २०८० मा अवकाश

विश्वम्भरप्रसाद श्रेष्ठपछि प्रकाशमानसिंह राउत चैत २०८२ सम्म प्रधानन्यायाधीश

राउतपछि सपना प्रधान मल्ल कात्तिक २०८५ सम्म प्रधानन्यायाधीश

टंकबहादुर मोक्तान प्रधानन्यायाधीश नबनी साउन २०८० मा अवकाश

प्रकाशकुमार ढुंगाना प्रधानन्यायाधीश नबनी कात्तिक २०८१ मा अवकाश

सुष्मलता माथेमा प्रधानन्यायाधीश नबनी वैशाख २०८१ मा अवकाश

मल्लपछि कुमार रेग्मी भदौ २०८८ सम्म प्रधानन्यायाधीश

रेग्मीपछि हरिप्रसाद फुयाँल जेठ २०९२ सम्म प्रधानन्यायाधीश

मनोजकुमार शर्मा प्रधानन्यायाधीश नबनी असार २०९२ मा अवकाश

नहकुल सुवेदी प्रधानन्यायाधीश असार २०९२ देखि एक वर्षसम्म

विश्वम्भरप्रसाद श्रेष्ठ १ वर्ष दुई महिना प्रधानन्यायाधीश बन्नेछन् । श्रेष्ठको अवकाशपछि प्रकाशमानसिंह राउत एक वर्ष ६ महिना सर्वोच्चको प्रधानन्यायाधीश बन्नेछन् । उनको अवधि समाप्त भएपछि सपना प्रधान मल्ल दुई वर्ष सात महिना प्रधानन्यायाधीश बन्नेछिन् ।

मल्लको अवकाशपछि कुमार रेग्मी दुई वर्ष १० महिना प्रधानन्यायाधीश हुनेछन् । रेग्मीको अवकाशपछि चार वर्षका लागि हरि फुयाँलले सर्वोच्चको प्रधानन्यायाधीश बन्न पाउनेछन् । हरि फुयाँलपछि नहकुल सुवेदीलाई प्रधानन्यायाधीश बन्ने रोलक्रममा राखिएको छ । यसअघि ३४औं प्रधानन्यायाधीशमा कुमार रेग्मी र ३५औं प्रधानन्यायाधीशमा हरि फुयाँल रोलक्रममा परिसकेका छन् ।

सुवेदी २०९२ सालपछि सर्वोच्च अदालतको प्रधानन्यायाधीशको रूपमा एक वर्ष नेतृत्वमा रहनेछन् । सुवेदी सर्वोच्चको रजिस्ट्रारबाट छोटो समयमा उच्च अदालतको मुख्य न्यायाधीश हुँदै सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका हुन् ।

के छ सर्वोच्चको न्यायाधीशको योग्यता ?

संविधानको धारा १२९ मा सर्वोच्च अदालतको प्रधानन्यायाधीश र न्यायाधीशको नियुक्ति र योग्यतासम्बन्धी व्यवस्था गरिएको छ ।

उक्त धाराको उपधारा ५ मा सर्वोच्चको न्यायाधीश हुने योग्यता तोकिएको छ । सर्वोच्चको न्यायाधीश बन्न कानुन विषयमा स्नातक उपाधि प्राप्त गरी उच्च अदालतको मुख्य न्यायाधीश वा न्यायाधीशको पदमा कम्तीमा पाँच वर्ष काम गरेको वा कानुनमा स्नातक उपाधि प्राप्त गरी वरिष्ठ अधिवक्ता वा अधिवक्ताको हैसियतमा कम्तीमा १५ वर्ष निरन्तर काम गरी विशिष्ट कानुनविद्को रूपमा ख्याति प्राप्त गरेको हुनुपर्ने योग्यता तोकिएको छ । त्यस्तै, न्याय सेवाको राजपत्रांकित प्रथम श्रेणी वा सोभन्दा माथिल्लो पदमा कम्तीमा १२ वर्ष काम गरेको नेपाली नागरिक सर्वोच्च अदालतको न्यायाधीशको पदमा नियुक्तिका लागि योग्य मानिने पनि उल्लेख गरिएको छ ।