काठमाडौं । गत महिना नै बासमती बाहेकका चामलमा प्रतिबन्ध लगाएको भारतले अहिले उसिनेको चामल निर्यातमा २० प्रतिशत भन्सार शुल्क लगाएको छ । तत्काल कार्यान्वयनमा आउने गरी गत शुक्रबार यस्तो शुल्क लगाइएको हो ।
अन्तर्राष्ट्रिय बजारमा चामलको मूल्य १२ वर्षयताकै उच्च भइरहेको अहिलेको समयमा भारतले लगाएको यो शुल्कले थप मूल्य बढ्ने आशंका गरिएको छ । भारतमै चामलको खुद्रा मूल्य गत वर्षको तुलनामा १०.६३ प्रतिशतले वृद्धि भइसकेको छ । चामलको मूल्य घटाउन भारतले खुला बजार बिक्री स्किम नै सञ्चालन गरिरहेको छ ।
गत महिना पनि भारतले बासमती बाहेकको सेतो चामलको निर्यातमा प्रतिबन्ध लगाएको थियो भने अघिल्लो वर्ष कनिकामा यस्तै प्रतिबन्ध लगाएको थियो । सन् २०२२ मा भारतले ७४ लाख टन उसिनेको चामल निर्यात गरेको थियो । विश्वभर हुने चामल निर्यातमा भारतको हिस्सा ४० प्रतिशत रहेको छ ।