रेबिज कसरी लाग्छ ?
रेबिज सङ्क्रमण भएका जनावरले मानिसलाई टोकेमा त्यस्ता जनावरको ¥यालबाट रोग सर्न सक्ने चिकित्सकहरू बताउँछन्।रेबिज भाइरस शरीरमा प्रवेश गरेपछि फैलिनका लागि “केही दिनदेखि महिनौँसम्म“ पनि लाग्न सक्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालकी निर्देशक डा. मनीषा रावलले बीबीसीलाई बताइन्।
पशुपन्छीमा हुने महामारी रोक्न वर्षैभरि खोप अभियान
के जनावरले कोभिड फैलाउन सक्छन्?
यी हुन् नेपालमा पाइने विषालु सर्पहरूः सर्पले टोकेमा के गर्ने?
उनले भनिन्, “रेबिज भाइरस शरीरमा प्रवेश गरेपछि त्यसको विकास भएर सङ्क्रमण हुने समय अरू रोगको तुलनामा अलि लामो छ। नौ दिनदेखि ९० दिनसम्म लाग्छ भनिन्छ। त्यसलाई हामी इन्क्यूबेशन पीरीअड (सङ्क्रमणकाल) भन्छौँ।“
“कुकुरले टोक्दैमा तुरुन्तै रेबिज हुन्छ भन्ने हुँदैन, विश्वमा कुकुरको टोकाइको एक वर्षपछि रेबिज भएर मृत्यु भएका घटना पनि छन्।“
नेपालमा ९९ प्रतिशत रेबिजका घटना परपालुवा जनावर कुकुरको टोकाइका कारण हुने गरेको उनले बताइन्।
अन्य घटना स्याल र फ्याउरोजस्ता जनावरको टोकाइका कारण भएको पाइएको छ।
रेबिजबाट बच्न के गर्ने ?
रेबिजबाट बच्नका लागि कुकुर वा अन्य कुनै पनि घरपालुवा तथा जङ्गली जनावरले टोकेमा लगत्तै उक्त रोगविरुद्धको खोप लगाउनुपर्ने चिकित्सकहरूको सुझाव छ।
त्यसो गर्दा “इन्क्यूबेशन“ कालमै भाइरस नष्ट हुने र रेबिज लाग्ने सम्भावना न्यून हुन्छ।
पशुमा वा मानिसमा एक पटक रेबिज सङ्क्रमण भइसकेपछि चाहिँ त्यसको उपचार सम्भव नभएको निर्देशक रावलले बताइन्।
“विश्वमा हालसम्म अभिलेख गरिएका कुनै पनि केसमा सङ्क्रमण भइसकेपछि बचाउन सकिएको देखिँदैन,“ उनले भनिन्।
उनी कुकुरले टोकेमा सकेसम्म चाँडो सफा पानीले घाउ धुनुपर्ने सुझाव दिन्छिन्।
रेबिजबाट बच्नका लागि कुनै पनि जनावरले टोकेपछि एन्टिरेबिज भ्याक्सीन दिनुपर्ने उनी बताउँछिन्।
पहिले १४ मात्रासम्म लगाउनु पर्ने उक्त खोप त्यसपछि पाँच मात्राको बनाइएको र अहिले भने तीन मात्रा मात्र लगाउँदा हुने रावलले जानकारी दिइन्।
“त्यस्तो खोप सकेसम्म टोकेको दिन, तेस्रो दिन र सातौँ दिन लगाउनुपर्छ,“ उनले भनिन्।
कोरोनाभाइरस सरेको शङ्का लागे यी छवटा काम गर्नुहोस्
चमेराको अध्ययनबाट मानिसलाई कोरोनाभाइरसबाट जोगाउन सकिने आशा
भेडीगोठको सुरक्षा गर्ने भोटेकुकुरको माग सहरमा पनि, यस्ता छन् विशेषता
त्यसका अतिरिक्त घाउको प्रकृति हेरेर ’इम्यूनोग्लोब्युलिन’ पनि दिनुपर्ने उनको सुझाव छ।
घाउमा लगाइने उक्त खोपको भने एक मात्रा मात्र दिँदा पुग्छ।
“यो उपेक्षित रोग हो तर नियन्त्रणका लागि पशुको स्वास्थ्यमा पनि केन्द्रित हुनुपर्छ,“ उनी भन्छिन्।
“आजको दिनमा पनि रेबिज लागेर मृत्यु हुनु भनेको मानव सभ्यताका लागि दुःखद कुरा हो।“
काठमाण्डूमा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र देशका अन्य तोकिएका सरकारी अस्पतालहरूमा रेबिजविरुद्ध खोप लगाइने गरेको उनले जानकारी दिइन्।