मान्छे बाँच्ने आशाले हो । मान्छे व्यस्त रहने प्रेमले हो । आशा विवेक र प्रेम चाहिँ इच्छा र चाहना हो । यो कुरा ९० वर्षका दङ्गाली प्रेमबहादुर डाँगीले सिकाइरहेका छन् ।
पनाति उमेरका ससाना बालबालिकासँग ९० वर्षका डाँगी कक्षा १ मा पढिरहेका छन् । तुलसीपुर भमकेका डाँगी आफ्नै वडाको वीरेन्द्र मावि भ्यूडहर सुनपुरमा पढ्छन् । त्यहाँ पुग्न उनलाई १ घण्टा पैदल यात्रा गर्नुपर्छ ।
गाउँघरमा आफ्ना दौंतरी चौतारी र चिया पसलमा बिगतका कुरा गरेर दिन बिताउँदा उनी आफ्ना पनाति पुस्तासँग लुकामारी खेल्दै कक्षा १ मा पढिरहेका छन् ।
बालसखा पनातिपुस्ता उनका कक्षाका साथी भएका छन् । कक्षा १ मा पढ्ने उनका साथीहरूले कक्षामा ल्याउने अध्ययन सामग्रीभन्दा बढी उनले एउटा लट्ठी पनि लिएर जान्छन् ।
दैनिक पिठ्युमा झोला, हातमा लट्ठी र मनमनै एबीसीडी घोक्दै विद्यालय पुग्छन् उनी ! बूढो उमेरमा पनि पढाइको भोक लागिरहेपछि उनी विद्यालय भर्ना भएरै छाडे ।
जीवन जुन बाटोमा लगायो वा डोर्यायो, उतै उतै अघि बढ्छ । अहिले सम्मको उमेरमा घर–व्यवहारमा समय बिताएका उनी आजभोलि भने विद्यालयमा ब्यस्त छन् ।
बाल्यकालमा विद्यालय जान नपाएका उनी अहिले विद्यालय धाउन व्यस्त छन् । उनको गुनासो पनि छ, ‘सानोमा पढ्न पाइनँ, अहिले गाउँमा कुराकानी गरेर दिन बिताउने साथी पनि पाइन ।’
आजभन्दा आधा शताब्दी पहिले (२०३२ सालमा) उनले आफ्नी जीवन साथी गुमाए । छोरोको पनि निधन भइसकेपछि अहिले नातिसँग छन् । घरमा पनि पनाति पनातिनी उनका साथी रहेका छन् ।
बूढापाकाले भन्ने गरेको ‘मरौं भने आज हो कि भोलि, बाँचौं भने कति हो कति’ भन्ने भनाइ उनमा चरितार्थ हुन गएको छ । बूढेसकालको कुनैपनि छनक दिन चाहन्नन् उनी !
बाध्यता भनौ वा संयोग ! घरमा हुर्काइ बढाइ गरेका नाति पनाति विद्यालय गए । उनलाई पनि रहर लाग्यो । विद्यालय जाने पो हो कि ! विद्या पनि आर्जन हुने, साथी पनि पाइने ।
उनी पनातिसँगको पढाइमा कमजोर पनि छैनन् । किताब पढ्न सक्ने भइसकेका छन् । उनको परिपक्व दिमागले बालबालिकालाई उछिनेको छ ।
उनको विद्यालय भर्ना सबैका लागि प्रेरणा बनेको छ । पहिले उनको खिसिटिउरी गर्नेहरू अहिले अचम्म परिरहेका छन् । पढाइ, लेखाइ र सिकाइले उमेर हेर्दैन भन्ने कुरा उनको पछिल्लो जीवनले पुष्टि गरेको छ ।