• मंसिर १३ २०८१, बिहीबार

मुखको सरसफाई किन आवश्यक छ ?

भाद्र ३ २०८०, आईतवार

मुखको सरसफाई पनि सम्पूर्ण शरीरकै सरसफाईको एक भाग भएकाले यसलाई शरीरको सरसफाईबाट अलग गर्न मिल्दैन। दाँत माझ्नु भनेको शरीरका अन्य सरसफाईहरु मुख धुने, कपाल कोर्ने, नङ्ग काट्नेजस्तै हो। दाँतमा भएको फोहोर र किटाणुहरु हटाउन एवं दाँतमा फ्लोराइड लगाउनका लागि दाँत माझ्नु अति जरुरी हुन्छ। मुख स्वस्थ राख्न दिनमा कम्तिमा दुई पल्ट–बिहान खाना वा खाजा खाइसकेपछि र राति सुत्नु अघि दाँत माझ्नुपर्दछ।

यसरी दाँत माझ्नाले दाँतमा भएका फोहोर हट्नुका साथै राति सुत्दा ¥याल कम हुँदा किटाणुले दाँतमा पु¥याउने क्रम पनि कम हुन्छ। त्यतिमात्र होइन दाँत माझ्नाले गिजाको रोग लाग्दैन र श्वास पनि गन्हाउँदैन। दाँत माझ्ने ब्रस नरम वा मध्यमखाले हुनुपर्छ। ब्रसलाई दाँत र गिजा छुने गरी (करिब ४५ डिग्रीको कोणमा) ढल्काउनुपर्छ र हलुकासँग गोलाकार चालमा चलाएर दाँतको भित्र, बाहिर र चपाउने सतहहरु माझ्नुपर्दछ।

दाँत माझ्दा केराउको दाना जति मात्राको फ्लोराइडयुक्त मञ्जनको प्रयोग गरे पुग्छ। ब्रस नभएमा दत्तिवनको प्रयोग गर्न सकिन्छ। तर मञ्जनको सट्टा खरानी, बालुवा, अंगार आदि प्रयोग गर्नु हुँदैन। व्यवस्थित तरिकाले दाँत माझ्ने बानी बसाल्नुपर्छ । यसरी दाँत माझ्नाले दाँतहरु पूर्ण रुपमा सफा हुन्छन्। दाँत माझ्दा माथिल्लो दायाँ कुनाबाट शुरु गरेर माथिल्ला बायाँतिर अनि तल्लो बायाँ हुँदै दायाँ कुनाका दाँतहरु तीन–तीन वटाका दरले क्रमैसँग माझ्दै जानुपर्छ ।

पहिला दाँतका बाहिरी सतह, त्यसपछि दाँतका भित्री अनि चपाउने सतह माझ्नुपर्दछ। यसरी माथि, तल, दायाँ, बायाँ सबैतिर माझिसके पछि मञ्जनको फिँज थुक्नुपर्छ। सम्भव नभए थोरै पानीले कुल्ला गर्नुपर्छ । यसो गर्नाले मञ्जनमा भएको फ्लोराइड लामो समयसम्म मुखमा रहन्छ र दाँत बलियो बनाउनमा मद्दत पुग्छ।