आज अगष्ट १५ । आजकै दिन सन् १९१४ मा पनामा नहर खुलेर विश्वव्यापारमा एक ऐतिहासिक ‘ब्रेकथ्रु’ भएको थियो । यो उत्तर तथा दक्षिण अमेरिका जोड्ने गणतन्त्र पनामा देशस्थित साँघुरो घाँटीमार्फत् जोडिएको मानव निर्मित एक विसाल नहर हो ।
आन्ध्र महासागर र प्रशान्त महासागर जोड्ने मानवनिर्मित यो नहर सपनाको नहर हो । सामुद्रिक व्यापारका लागि यो अवधारणा अघि सार्दा यसले विवाद र आशङ्का पनि निकै उब्जाएको थियो । तर यो नहर निर्माण भई उद्घाटन हुँदा ‘एसएस एन्कन’ पानीजहाजले पहिलो आन्ध्र–प्रशान्त ऐतिहासिक यात्रा सम्पन्न गरेको थियो ।
कूल ८० किलोमिटर लामो यो व्यापारिक नहर दशकौं लगाएर निर्माण गरिएको थियो । फ्रान्सेली कम्पनीले १८८२ को जनवारीमा काम सुरु गरे पनि सन् १९०४ मे महिनामा अमेरिकाले काम अघि बढाएको थियो ।
उक्त नहर निर्माणका क्रममा २५ हजार ६ सय कामदारले आफ्नो जीवन बलिदान गरेका थिए । यीमध्ये धेरैजसो ज्वरोका कारण मरेका थिए । अधिकांशको नहर निर्माणका क्रममा फैलिएको मलेरियाले मृत्यु भएको थियो ।
नहर निर्माणमा अमेरिकाको निकै चासो थियो । यसै कारणले पनि तात्कालीन अमेरिकी राष्ट्रपति थियोडोर रुजबेल्ट नहर निरीक्षणका लागि १९०६ मा पनामाको भ्रमण गरेको थिए ।
पनामा नहर निरीक्षणका लागि भ्रमणमा जाने उनी पहिलो उच्च पदस्थ व्यक्ति हुन् । नहर निर्माणपछि अमेरिकाको पूर्वी र पश्चिमी तट बीचको दूरी करिब १२ हजार ८ सय ७५ किमिले कमी हुन आएको छ ।
विश्व व्यापार तथा पारवाहन मामलामा ‘ब्रेकथ्रु’ यो नहर पार गर्न पानी जहाजलाई ८ देखि १० घण्टा लाग्छ ।