• मंसिर ११ २०८१, मंगलवार

अशान्त बन्दै प्रशान्त टापुहरू !

श्रावण २९ २०८०, सोमबार

भन्छन् पनि, ‘साँढेको जुधाइ, बाछाको मिचाइ ।’ प्रशान्त टापुमा अहिले ठीक यही भनाइ सार्थक हुँदै गएको छ । १४ वटा टापु राष्ट्र रहेको प्रशान्त अहिले अशान्त छ । अतिमहाशक्तिको शीतयुद्ध ! मिचिएर मरिएला कि भन्ने डर छ ।

यहाँ रहेका पपुवा न्युगिनी, फिजी, पलाव टोंगा, टोभलो सामोअ, भानुआटू, माक्रोनेसिया, किरिबाटी, नवरु, द मार्सल आइल्याण्ड, द सोलोमन आइल्याण्ड, कुक आइल्याण्ड र निवी अहिले बलियो तेस्रो पक्षको खोजीमा छन् ।

यी आइल्याण्डहरू पहिलेदेखि महाशक्ति राष्ट्र अमेरिकाको पक्षमा थिए । तर समयले कोल्टे फेर्न थाल्यो । परिवर्तित परिस्थितिले ती साना टापु राष्ट्रलाई कता जाऔंको अवस्थातिर धकेल्यो ।

पहिलेदेखि अमेरिकाको निकट रहेका यी टापु राष्ट्र अब बाँडिन थालेका छन् । अमेरिकासहित अष्ट्रेलिया, न्युजिल्याण्ड, बेलायतजस्ता देशहरूसँग सहकार्य गर्दै आएका यी राष्ट्रहरू अब पक्षधरताको सिमारेखाले निकै आक्रान्त छन् ।

चीन–अमेरिका तनाव :

यो क्षेत्र भूरणनीतिक महत्वको क्षेत्र हो । त्यसैले यहाँ अहिले भूराजनीतिक तनाव बढ्दैगएको छ । यहाँका चार टापु राष्ट्रहरूले अहिले पनि ताइवानको पक्षमा आफ्नो मत जाहेर गरिरहेका छन् । यो भनेको अमेरिकी पक्षधरतामा कायम रहनु नै हो ।

द सोलोमन आइल्याण्ड र किरीबतीले ताइवानलाई दिँदै आएको समर्थन फिर्ता लिएका छन् । यसको अर्थ यहाँ चीनको पहल आउँदै र अमेरिकी पहल गुम्दै गएको छ । यी टापु राष्ट्रहरूमा अमेरिका र चीनजस्ता अति महाशक्ति राष्ट्रहरूले सुरक्षा सम्झाौताको ढडिया थापिरहेका छन् ।

बाक्लिएको भेटघाट :

पपुवा न्युगिनीका प्रधानमन्त्री जेम्स मरापे शक्ति राष्ट्रका नेताहरू तथा राज्य प्रमुखहरूको स्वागत र विदाइमा व्यस्त छन् । राजधानी सहर पोर्ट मर्सवे कुटनीतिज्ञहरुको उडान र अवतरणको स्थल बनिरहेको छ । पोर्ट मर्सवेको आकाशमा चीलजजस्तै जहाजहरूको बथान उडिरहेको देख्न सकिन्छ ।

सन् २०२२ को मध्यतिर चीनका उच्चपदस्थ कुटनीतिज्ञ तथा हालका विदेश मन्त्री वाङ यी पपुवा न्युगिनी पुगेपछि विनाढिलाइ अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिंकेनले पाइला टेकिहाले, पपुवा न्यगिनीमा । यति मात्र होइन, अमेरिकी रक्षा मन्त्री लोयड अस्टिन पनि त्यहाँ पुगे ।

शक्ति राष्ट्रहरुको आवतजावत बाक्लिएको छ । अष्ट्रेलिया र न्युजिल्याण्ड बीचमा रहेको यो टापु देशमा युरोप पनि हामफाल्न छाडेको छैन । फ्रान्सेली प्रधानमन्त्री इम्यानुअल म्याक्रोँ पनि त्यहाँ पुगेका छन् ।

ढुवानी केन्द्र :

यी प्रशान्त टापुदेश भनेका विश्व व्यापारको ढुवानी केन्द्र हुन् । अमेरिका तथा चीन बाहेक युरोप र एशियाका भारत, इन्डोनेसिया, दक्षिण कोरियाजस्ता राष्ट्रले आफ्नो व्यापारिक प्रयोजनका लागि यी टापु देशहरूसँग हात मिलाउँदै आएका छन् । अहिलेको बाक्लो आउजाउ यही स्वार्थ रक्षाका लागि नै हो ।

ओझेल पर्नखोज्दै प्रशान्त :

अतिमहाशक्तिको कडा शीतयुद्धको छायाँ छल्न खोज्दैछन् प्रशान्तटापुहरू ! यस क्षेत्रमा अमेरिका र चीनबाहेक अन्य राष्ट्रले पनि चासो व्यक्त गरिरहेकाले ठूला देशहरूको जाँतो मुनि परेर पिधिनबाट बच्न यी राष्ट्रले इच्छुक सबैलाई स्वागत गरिरहेका छन् ।

अमेरिका–चीन तनावको ओझेलमा पर्न अन्य देशसँगको सहकार्य वैकल्पिक बाटो रउपाय हुने यी राष्ट्रहरूको ठहर देखिन्छ ।

न्यु गिनीमा भारतीय युद्धपोत :

पछिल्लो समयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पपुवा न्युगिनी पुगे । उनी पुगेपछि प्रधानमन्त्री जेम्स मरापेले निकै ठूलो स्वागत गरे मोदीको ! मोदीको पाउमा मरापेको ‘गोड लगी’ निकै चर्चाको विषय बन्यो पनि ।

अहिले पपुवा न्युगिनीमा भारतले २ वटा युद्धपोत पनि राखिसकेको छ । यसले न्युगिनी र भारतका बीचमा सुरक्षा सम्बन्ध बाक्लिएको देखाउँछ । प्रम मोदीले गरेको प्रशान्त टापु राष्ट्रका लागि नयाँ दिल्ली निकट सहयोगी बन्ने वाचा पनि निकै चर्चामा छ ।