• मंसिर ७ २०८१, शुक्रबार

अमेरिकी प्रविधि चीन नजाँदा अमेरिकालाई नै घाटा

श्रावण २७ २०८०, शनिबार

अमेरिका र चीनका बीचमा अघोषित समग्र युद्ध चलिरहेको छ । यसले अहिले शीत युद्धको रूप धारण गरेको छ । यो युद्ध कहिले व्यापार, कहिले सैन्य, कहिले कुटनीति त कहिले प्रविधि, कहिले वैंकिङ त कहिले अन्तरीक्षहुँदै बहुआयामलाई समेटेको छ ।

पछिल्लो समयमा अमेरिका र चीनका बीचमा प्रविधि युद्ध उत्कर्षमा छ । एकले अर्काको प्रविधिमाथि एकपछि अर्को गरी प्रतिबन्ध लगाइरहेका छन् । अमेरिकाले चिनियाँ प्रविधि क्षेत्रमा थप प्रतिबन्धको घोषणा गरेर थप अडचन खडा गर्न खोजिरहेको छ ।
तर यसका बारेमा चीनको नरम र सम्झौताउन्मुख प्रतिक्रिया आएको छ ।

चीनले ‘विश्व अर्थतन्त्र र व्यापार साझेदारीमा अवरोध खडा गरेको’ चीनको आरोप छ । अमेरिकी राष्ट्रपति जो बाइडनले कार्यकारी आदेशमा हस्ताक्षर गर्दै चिनियाँ प्रविधि क्षेत्रमा हुने अमेरिकी लगानी तथा चिप लगायत प्रविधिमा चीनको पहुँच नियन्त्रण गर्ने सहितका थप प्रतिबन्धको घोषणा गरेसँगै यो अवरोध सुरू भएकोछ ।

अमेरिकी यो निर्णयले अमेरिकी ट्रेजरी मन्त्रीलाई चिनियाँ सेमीकन्डक्टर चिप, माइक्रोइलेक्ट्रोनिक्स, क्वान्टम कम्प्युटिङ प्रविधि र केही आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिजस्ता क्षेत्रमा हुने अमेरिकी लगानीमाथि प्रतिबन्ध लगाउने अधिकार प्रदान गरिसकेको ।

व्यापार यति धेरैसम्म विश्वव्यापीकरण भइसकेको छ कि कतिपय प्राइभेट कम्पनीहरूले विकास गरेका प्रविधि अमेरिकी सरकारको जानकारीविना चीनसम्म पनि पुगिसकेका छन् र पुगिरहेका छन् । अमेरिकी सरकारलाई यसले चिन्तित बनाएको छ ।

अमेरिकी प्रविधिमा निर्मित चिनियाँ सामान अमेरिकालगायत विश्व बजारमा बेहिसाब पाइनथालेपछि अमेरिकी उत्पादन बिक्रि हुन छाडेको छ । यसले अमेरिकी अर्थतन्त्रमा ठूलो ह्रास ल्याएको छ । यो अमेरिकी अर्थतन्त्र र व्यापारका लागि ठूलो चिन्ताको विषय रहिआएको छ ।

यसले गर्दा चिनियाँ प्रविधि क्षेत्रमा अमेरिकी प्रविधि लगानी गर्दा अमेरिकी सरकारलाई स्पष्ट जानकारी गराउनुपर्ने व्यवस्था पछिल्लो ह्वाइटहाउस आदेशमा उल्लेख छ । यसले चिनियाँ भन्दा पनि अमेरिकी प्रविधि विक्रेतालाई सकस निम्त्याएको छ । यी प्रविधि विक्रेताको विरोध र अडचन छल्नका लागि बाइडन प्रशासनले प्रविधिका संवेदनशील क्षेत्र पनि परिभाषित गरेको छ ।

यीमध्ये चीनले यी अमेरिकी प्रविधिको उपयोग गरी चिनियाँ सैन्य प्रविधिको अत्याधुनिकीकरण र सशक्तीकरण गरिरहेको भनिरहेको छ । यसले अमेरिकी राष्ट्रिय सुरक्षालाई उल्टै चुनौती सिर्जना गरेको अमेरिकी ठहर छ । अमेरिकी लगानी र प्रविधिले चीन अघि बढिरहेको पनि उसले औल्याइरहेको छ ।

तर यो आदेशले अमेरिका नै बढी प्रभावित हुन गइरहेको छ । यो आदेशसँगै तोकिएका क्षेत्रमा हुने निजी, साझेदारी, भेन्चर पुँजी तथा ग्रिनफिल्ड अमेरिकी लगानी प्रभावित हुने भएका छन् ।

यो भन्दा पहिले राष्ट्रपति बाइडनले अमेरिकी संसदलाई लेखेको एक पत्रमा ‘सैन्य, जासुसी, निगरानी तथा साइबरमा आधारित संवेदनशील प्रविधि र उत्पादनहरूमा चीनजस्ता देशहरूको उन्नतिले ल्याउनसक्ने जोखिमको सामना गर्न एक राष्ट्रिय सङ्कटकालको घोषणा’ गर्ने उल्लेख गरेका थिए ।

अमेरिकी यो नीति बाइडनको आफ्नो नभएर आफ्ना पूर्ववर्ति डोनाल्ड ट्रम्पको हो । चीनसँगको सम्बन्ध र प्रविधिको मामलामा बाइडनले ट्रम्पको नीति ‘फलो’ गरिरहेका छन् । यस मामलालाई लिएर चीनले अमेरिकालाई ‘विश्व अर्थतन्त्रको पुनरुत्थानको लागि अवरोध’ खडा गरेको आरोप लगाएको छ ।

तर अमेरिकी प्रविधि चीनमा बेच्न लगाइएको प्रतिबन्धले अमेरिका आफैलाई घाटा हुँदै आएको छ । यसका कारण यी छन् ः

१. क्वान्टम कम्प्युटरको विकास : चीनले पछिल्लो समयमा क्वान्टम कम्प्युटर विकास गरेको छ । यसले हालसम्म अमेरिकाले विकास गरेको कम्प्युटर प्रविधिभन्दा हजारौं गुणा बढी गति, गुण र मात्रामा काम गर्न सकेकाले यो अमेरिकाका लगि टाउको दुखाइको विषय बनिरहेको छ । क्वान्टम कम्प्युटरको प्रभाव र बिक्रिवितरणमा कमी ल्याउने उद्देश्यले पनि अमेरिका प्रविधिमाथि प्रतिबन्धको कुरा गरिरहेको छ ।

२. चिनियाँ सामानमा वर्ग विश्लेषण : चीनले जनताको आर्थिक हैसियत अनुसारको उही सामान पनि विभिन्न तह र गुणमा उत्पादन गरी विश्व बजार कज्याइरहेको छ । जस्तो ज्याकेट चाहिएकालाई ज्याकेट नै बनाइदिएको छ, तर फरक मूल्यमा । अमेरिकी उत्पादनमा सामानमा यो वर्गीय विविधता सम्बोधन भएको पाइँदैन । त्यसैले पनि अमेरिकामा महंगो सामान उत्पादन गरिरहेको उही प्रविधिको सामान चिनियाँ उत्पादनमा सस्तो वा महंगो जुनसुकै विविधतामा मजाले उपयोग गर्न पाइन्छ ।

३. लगानीको समस्या : अमेरिकामा लगानीको समस्या छ । अमेरिकी डलर विश्व बजारमा चिनियाँ पहुँच बढेसँगै चीनमा थुप्रन पुगेको छ । चीनले चाहेजति लगानी गर्न सक्छ । तर अमेरिकामा चीन बराबरको लगानी गर्न संभव छैन । त्यसैले पनि अमेरिकी प्रविधिद्वारा चीनमा गरिएको उत्पादनमा सबैको पहुँच बढिरहेको छ ।

४. स्रोतसाधनको समस्या : अमेरिकाले उत्पादनमा आवश्यक स्रोतसाधनको उपभोग गरिसकेको छ । भएको स्रोतसाधन पनि अपर्याप्त छ । तर चीनमा उत्पादनका लागि आवश्यक स्रोत साधनको अमेरिकामा झैं अभाव छैन । यसैले पनि चिनियाँ सामान सस्तो र सर्वसाधरणको पहुँचमा छन् ।

५. मागको पूर्ति : चीनले जुसुकै तह र तप्काका मानिसको मागलाई सम्बोधन गर्न साममथ्र्य राखिरहेको छ । तर अमेरिकाले त्यो सामथ्र्य राख्न सकिरहेको छैन ।

६. सारमा, चीनले सबै आफ्नै प्रविधि प्रयोग गरेर उत्पादन गरेको हो भन्न सकिने अवस्था छैन । अमेरिकाले पनि प्रविधि बेचेर त्यसमा ‘प्याटेन्टसीप’ कायम गर्न पछि परेको छैन । विश्वमा प्रविधि बेचेर ‘रोयल्टी’ कमाउने देशमा अमेरिका नै पहिलो छ ।

चीनले जत्तिको अमेरिकी प्रविधि किन्न लालायित देखिन्छ, त्यति नै लालायित अमेरिका पनि चीनसित प्रविधि बेच्नका लागि छ । किनकि चिनियाँ जनसंख्या र चीनको विश्व बजारको सञ्जालले अमेरिकालाई अत्यधिक रोयल्टी प्रााप्त गर्नका लागि हौस्यााएको छ ।

तसर्थ नयाँ नयाँ प्रविधि चीनलाई अमेरिकाले नबेची सुख पाउनेवाला पनि देखिदैन । सरकारले प्रतिबन्ध लगाए पनि ‘ब्ल्याक’मा भए पनि अमेरिकी प्रविधि चीनमा भित्रने संभावनालाई कसैले नकार्न सक्दैन ।