• मंसिर १२ २०८१, बुधबार

रमिते मान्छे घाइतेलाई सहयोग नगरी तस्वीर र भिडियो खिच्नै व्यस्त,मानवता कता हरायो?

श्रावण २५ २०८०, बिहीबार

काठमाडौं । सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका– ७ स्थित १६ किलोमा मंगलबार बस र मोटरसाइकल आपसमा ठोक्किँदा देखिएको हृदयविदारक तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेको छ । 

सिन्धुपाल्चोक दुर्घटनामा तस्वीर र भिडियो खिच्नाले घाइतेको ज्यान गएको छ । दुर्घटना हुना साथ एम्बुलेन्स नबोलाउदा र त्यहाँ देख्ने मानिसहरु तस्वीर र भिडियो खिच्नमै व्यस्त हुँदा घाइतेको अत्याधिक रक्तस्राव भइ समयमै उपचारको अभावले मृत्यु भएको हो ।  

सडक नै रगताम्मे हुने गरी रक्तस्राव भइरहेका दोलखा बैतेश्वर गाउँपालिका– ७ का २३ वर्षीय विश्वराज श्रेष्ठ दुर्घटना भएकै सडकमा झन्डै आधा घन्टा दुई हात टेकेर रुँदै सहयोगको याचना गरिरहेका थिए । दुर्घटना भएको झन्डै आधा घन्टापछि प्रहरी चौकी लिसंखुपाखरका प्रहरी सहायक निरीक्षक नेत्र काफ्लेको टोली घटनास्थल पुगेको थियो । त्यसपछि प्रहरीले लिसंखुपाखर गाउँपालिका– ६ को एम्बुलेन्स मगाएर घाइते श्रेष्ठलाई खाडीचौरस्थित सिन्धु सदाबहार अस्पताल पुर्‍याएको थियो । अस्पतालले रक्तस्राव रोक्न नसक्ने र तत्काल काठमाडौं लैजान भनेपछि श्रेष्ठलाई काठमाडौं लगिएको थियो ।

अत्यधिक रक्तस्रावका कारण विश्वराजको बाटोमै मृत्यु भएको हो  ।  दुर्घटनामा सहयोगको याचना गरिरहेका घाइतेको उपचारमा सहयोग गर्न भन्दा पनि तस्वीर र भिडियो खिच्ने प्रवृत्तिले हाम्रो समाज कता जादैछ भनेर प्रश्न गर्ने बेला भएको छ । हामी भित्रको मानवीय धर्म कता बिलिन हुँदैछ ? आफैले आफैलाई प्रश्न गर्ने बेला आएको छ ।