सिद्धान्ततः नेपाल कल्याणकारी र लोकतान्त्रिक मुलुक हो । तर, राज्यले अन्य विकसित मुलुकमा जस्तो ज्येष्ठ नागरिकहरूलाई सहयोग गरिराखेको छैन । सबै प्रकारका जिम्मेवारीहरू सरकारले होइन परिवारले लिनुपर्ने, परिवारका सक्षम युवाहरू देशमै नरहने स्थितिले गर्दा ज्येष्ठ नागरिकहरू लावारिस बन्दै आएका छन् ।
सबै प्रकारका सेवा सुविधा र फाइदाहरू राज्यले प्रदान गर्न सक्दा मात्र यथार्थतामा कल्याणकारी राज्यका रूपमा देश स्थापित हुने हो । तर, यसतर्फ सरकारको ध्यान गएको छैन । परिवारले मात्रै यसको उत्तरदायित्व वहन गर्नुपर्ने अवस्था मुलुकभित्र सिर्जना गरिएको छ । ज्येष्ठ नागरिकलाई हेरचाह गर्ने युवा जनशक्तिलाई मुलुकभित्रै राखेर राष्ट्र निर्माणमा उपयोग गर्ने योजनामा चिन्तन हुन सकेको छैन ।
जनताको तिर्नसक्ने क्षमताभन्दा बाहिर गएर राज्यले कर असुल गरिराखेको छ । नागरिकहरू आफ्ना सन्ततिका लागि सबै प्रकारको त्याग र तपस्या गर्न सक्छन् । कुनै पनि प्रकारको कमी उनीहरूको सन्ततिका लागि नहोस् भन्ने धारणाका साथ सन्तानप्रति अत्यन्त ज्यादा समर्पित छन् । अर्को अर्थमा नेपालीहरूको जन्म नै सन्ततिको लाड प्यार, शिक्षा र स्वास्थ्यका लागि भएको हुन्छ ।
तर, आधुनिक युवाहरू मुलुकभित्र वा बाहिर रहँदा पनि त्यो स्तरको समर्पण भावका साथ आफ्ना सम्मानित पितामाताका लागि सेवा गर्न सकिराखेका छैनन् । यस प्रकारको सेवा र हेरचाह गर्ने वातावरण र संस्कार दुवैमा परिवर्तन भइराखेको छ । आफ्ना मातापिताको आर्जनसमेत उनीहरूको स्वास्थ्यलगायतका विषयमा प्रयोग गरिराखेका छैनन् ।
सरकारले उपलब्ध गराउने सामाजिक सुरक्षाबापतको सांकेतिक रकम पनि ७० वर्ष पूरा गरेकाहरूले मात्र पाउँछन् । ज्येष्ठ नागरिकको व्यक्तिगत अवस्था अध्ययन गरेर उनीहरूलाई संरक्षण गर्ने जिम्मेवारी प्रथमतः सरकारको हो ।
सरकार यस प्रकारले प्रस्तुत हुन सकिराखेको छैन । युवा पुस्तामा पर्दै गएको पश्चिमा प्रभावका कारण यो अवस्था सिर्जना भएको हो । पारिवारिक मूल्य, मान्यता, संस्कार र निकटतामा कमी आउँदैगएको छ । आफ्ना सन्ततिमा ज्येष्ठ नागरिकहरूको सेवा गर्ने समय नहुने त्यस प्रकारको संस्कार पनि परित्याग गरिसक्ने सरकारले यस सन्दर्भलाई प्राथमिकतामा नराख्ने गर्दा ज्येष्ठ नागरिकहरू अत्यन्त असहज अवस्थामा बाँच्नु परिराखेको छ ।
उन्नत मुलुकमा ज्येष्ठ नागरिकको सेवा र संरक्षण राज्यकै तर्फबाट हुन्छ, गरिन्छ । आफ्ना वृद्ध उमेरका बुबाआमासँग अलग्गिएर बस्ने प्रवृत्तिसमेत नेपालको सहरी क्षेत्रमा मात्र नभइ ग्रामीण क्षेत्रमा समेत वृद्धि भइराखेको छ ।अशक्त अवस्थामा रहेका यस उमेर समूहका लागि सरकारले आफ्नो दायित्व निर्वाह गर्दैन ।
आफ्ना सन्ततिहरूसँगै बसेर दुःख–सुखको क्षण व्यतीत गर्ने अवसर पनि उपलब्ध भइराखेको छैन । माया, दया, करूणाको साझेदारी गर्ने अवसरबाट वञ्चित हुनुपरिराखेको छ । यसले गर्दा ज्येष्ठ नागरिकहरू मनोवैज्ञानिक प्रकारले समेत कुण्ठित भएर बस्नुपर्ने बाध्यताबाट गुज्रिराखेका छन् ।
नेपाली परिवारमा हाम्रो संस्कृति, धर्म, मूल्य, मान्यताविपरीतका अशुभ र अस्वीकार्य प्रकारका चुनौती पनि साथसाथै देखिनेगरेको छ । परिवारका सदस्यहरूका बिचको पवित्र नातामै आँच आउने परिस्थिति बनिराखेको छ । बुबाआमा र उनीहरूका सन्ततिहरूका बिचको न्यानोपन र पवित्र सम्बन्ध लोप हुने अवस्था छ ।
केही परिवारमा हुर्किएका छोराले आफ्ना बुबाआमालाई बेवास्ता गर्ने, उनीहरूको सम्पत्तिमा दावा गर्दै चलअचल सम्पत्ति लिने र उनीहरूलाई घरबाटै निकाला गर्ने सम्मका क्रियाकलाप हुँदैआएका छन् ।
आफ्ना जन्मदाताप्रतिको कुनै पनि प्रकारको जिम्मेवारी र कर्तव्य निर्वाह नगर्ने प्रवृत्ति बढिराखेको छ । यो उदाहरण सबै परिवारका लागि समान रूपले लागू हुँदैन तर चिन्ताको विषय बन्दै गएको भने अवश्य पाइन्छ । किनकि, यस प्रवृत्तिमा सुधार आउने सम्भावनामा कमी देखिँदै छ । जब जन्मदाताहरूको उमेर बढ्दै जान्छ, पारिवारिक निकटतामा कमी आउँछ ।
उनीहरू अनुत्पादक जनशक्तिका रूपमा आफ्नै सन्ततिका लागि थप भार बनिराखेको महसुस गर्छन् । एकभन्दा बढी सन्तान भएको परिवारमा सन्ततिहरू र बुबाआमाका बिच नै द्वन्द्व प्रारम्भ हुनथाल्छ । यही विषयलाई लिएर युवा अवस्थाका श्रीमान्–श्रीमतीका बिच पनि वैमनस्यता प्रारम्भ हुन्छ ।
कतिपय अवस्थामा श्रीमती र बुबाआमामध्ये एकलाई परित्याग गर्नुपर्ने पीडादायी अवस्थाको समेत सामना गर्नुपर्ने हुन्छ । यस प्रकारको पारिवारिक द्वन्द्वको अवस्थाको समाधान यथा समयमा गर्न सकिएन भने भयाभह अवस्थाको समेत सामना गर्नु परिराखेको तितो अनुभव नेपाली समाजमा देखिँदै छ ।
ज्येष्ठ नागरिकले आफ्नो उत्तरार्ध अवस्थालाई आरामदायी प्रकारले सन्तुष्ट भएर त्यही प्रकारको संस्कार आफ्ना सन्ततिलाई प्रदान गर्ने अवस्थाबाट पनि वञ्चित हुनुपर्ने अवस्था छ । यस अवस्थाबाट गुज्रिनुपर्दा ज्येष्ठ नागरिकले नारकीय जीवन व्यतीत गरिराखेका छन् ।यस प्रकारको पीडादायी अवस्थामा अनुभवी मध्यस्थकर्ताको योगदान आवश्यक पर्ने गरेको छ ।
भाइभाइका बिचको र मातापिता अनि छोराछोरीबिच सुसम्बन्ध कायम गर्ने गराउने सन्दर्भमा यस्ता मध्यस्थकर्ताको भूमिका नेपाली समाजमा सराहनीयसमेत देखिएको छ ।
यस प्रकारको प्रयासबाट सम्पत्तिको भागबन्डा गर्ने जीवनभर पितामातालाई आफ्नो इज्जत र सामर्थ्यनुसारको सेवा गर्ने अवस्थामा निश्चित योजनासमेत तयार पारेर पारिवारिक न्यानोपन कायम गरिदिने कार्यमा सफलतासमेत मिलेको छ ।
यदि, सरकारले यस प्रकारका ज्येष्ठ नागरिकहरूको संरक्षण राम्ररी गरिदिने हो भने परिस्थितिमा सुधार आउनसक्ने थियो । तेस्रो पक्षका रूपमा समाजले सम्मान गरेका तेस्रो पक्षको उपस्थिति यस्ता मामिलाको समाधानमा हाम्रो समाजले परापूर्वकाल देखिनै प्रयोग गरिआएको छ ।
अदालती निर्णयभन्दा यस प्रकारको मध्यस्थता बढी प्रभावकारीसमेत देखिएको छ । द्वन्द्वले प्रभाव पार्नुभन्दा अघि नै यसका लक्षणहरू देखिँदैगर्दा यस्ता मध्यस्थकर्ताले आफ्नो क्रियाशीलता प्रदर्शन गर्छन्, परिवारको हैसियतमा सुधार आउँदा वा अवस्था नाजुक बन्दासमेत यिनै मध्यस्थकर्ताहरूको योगदानले ठुलो राहत विशेषगरी ग्रामीण अशिक्षित समाजमा मिलिराखेको छ ।
यस्ता समझदारीलाई स्थानीय भद्र भलाद्मीहरूको रोहवरमा लिपिबद्ध गरिने र उल्लंघन हुँदा समाजले नै कारबाही गर्नेसमेत गरिएको पाइएको छ । परिवार संभ्रान्त शिक्षित हुँदासमेत ज्येष्ठ नागरिकले राम्रो हेरचाह पाउन नसकेको स्थितिसमेत देखिँदै छ ।
शिक्षित छोराछोरीहरूले आफ्नो कार्य व्यस्तताले गर्दा पर्याप्त समय दिन नसक्ने तर स्रोत साधन जुटाइदिनसक्ने पनि देखिएका छन् ।
यस अवस्थामा ज्येष्ठ नागरिकले वृद्धाश्रमकै सहारा लिनुपर्ने र यस्ता वृद्धाश्रम आधुनिक सुविधा सम्पन्न हुनेसमेत अवस्थाको अनुभव नेपालमै गरिँदै छ । शिक्षित र संस्कारी परिवारले कुनै पनि प्रकारको असहज अवस्था हुन नदिने व्यवस्था मिलाइराखेका छन् ।
चिकित्सक सेवादेखि आफ्नो समय बचेको अवस्थामा बुबाआमालाई विशेष सेवा र मनोरञ्जन गराउने उनीहरूको चाहनालाई ख्याल गर्ने समेत गरिएको देखिन्छ । तर, यो अवस्था अत्यन्त थोरै अपवादको परिवारमा मात्र देखिएको छ ।