• आश्विन १४ २०८१, सोमबार

अधिवक्ता पाण्डे विरुद्ध मगर र तामाङ अगुवाले दिए उजुरी

श्रावण १२ २०८०, शुक्रबार

काठमाडौँ। मगर र तामाङ लगायतका जनजातिको विवाह संस्कार बारे विवादास्पद अभिव्यक्ति दिएकी अधिवक्ता भगवती पाण्डे विरुद्ध नेपाल मगर संघ र नेपाल तामाङ घेदुङले प्रहरीमा जाहेरी दिएका छन् ।

जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय) ऐन २०६८ र मुलुकी अपराध संहिता २०७४ विपरीत कसुर गरेको भन्दै गुल्मीकी अधिवक्ता भगवती पाण्डेविरुद्ध ती दुई संगठनले काठमाडौं जिल्ला प्रहरी कार्यालयमा मंगलबार जाहेरी दर्ता गरेका हुन् ।

“कसैको मनमा ठेस लागेको भए माफी पाउँ” भन्दैमा माफी नहुने हुँदा कानुनको विधि अनुसार नै माफी माग्नु पर्ने मगर संघका अध्यक्ष ज्ञानेन्द्र पुनकोे भनाई छ । त्यसैगरी तामाङ घेदुङका कार्यवाहक अध्यक्ष कुमारसिंह घिसिङले अधिवक्ता पाण्डेले पशुभन्दा पनि तल गिराएर अभिव्यक्ति दिएकोप्रति घोर आपत्ति जनाए ।

जाहेरीमा अधिवक्ता पाण्डेसहित कार्यक्रम प्रस्तोता दिक्पाल कार्की र कार्यक्रम प्रसारण गर्ने टेलिभिजनलाई विपक्ष बनाइएको छ । उक्त जाहेरी जिल्ला प्रहरी परिसर काठमाडौंमा दर्ता भइसकेको छ ।

उक्त विषयमा संसदमा बोल्दै एमाले सांसद ईश्वरी घर्तीमगरले अधिवक्ता पाण्डेको अधिवक्ता लाइसेन्स खारेज गरी कानुनी कारवाही गर्न माग गरेकी छिन् भने सत्तारुढ दल कांग्रेसका सचेतक सुशिला थिङले तामाङ समुदायको संस्कृतिमाथि धावा बोल्ने अधिवक्ता पाण्डेलाई कारबाहीको माग गरेकी छन् ।