काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस नेतृ तथा सांसद आरजु राणा देउवा पक्राउ नपर्ने भएकी छिन् । सो प्रकरणमा हाल जेलमा रहेका सन्देश शर्माले दिएको बयानकै आधारमा आरजुलाई उन्मुक्ति हुने देखिएको छ ।
यसअघि आइतबार अभियुक्तका रुपमा पुर्पक्षका लागि थुनामा रहेका सन्देश शर्मा र जाहेरवाला गजेन्द्र बुढाथोकीबीच भएको टेलिफोन संवादमा सुनिएको आवाज सन्देश शर्माकै भएको प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको थियो ।
डा. आरजु देउवालाई २ करोड र पूर्वगृहमन्त्री बालकृष्ण खाणकी पत्नी एवं अर्की प्रतिनिधिसभा मञ्जु खाँणलाई ६ करोड रुपैयाँ बुझाएको भनिएको सो अडियो रेकर्डका विषयमा अभियुक्त सन्देश शर्माले अदालतमा आफू बच्नका लागि मात्रै उनीहरुको नाम लिएको बयान दिएका थिए । आरजुले आफ्नो नाम लिएर गरिएको अडियो जाँच गर्न निवेदन दिएकी थिइन् । स्मरणीय के छ भने शर्मा स्वयंले पनि अदालतको बयानमा उक्त अडियो आफ्नै भएको स्विकारेका थिए। तर, उनले राणालाई चिन्दै नचिनेको र पैसा बुझाएको कुरा वास्तविक नभएको बयान दिएका थिए। अदालतमा बयान दिएकै विषयलाई समेटेर प्रहरीले आरजुलाई अडियो रेकर्डको स्वर सन्देशकै भएको भनी पत्र पठाएको थियो । सो पत्र सार्वजनिक भइसकेको छ ।
आरजु देउवाले सो वार्तालापको टेप ‘एनिमेटेड’ भएको दाबी गर्दै अनुसन्धान गर्न प्रहरीमा निवेदन दिएकी थिइन् । हालै आरजुले आफ्नो उजुरीमाथिको अनुसन्धान कहाँ पुग्यो भनी ताकेता गरेकी थिइन् । प्रहरीले जनाएअनुसार आइतबार सार्वजनिक भएको प्रहरीको पत्र कुनै सार्वजनिक खपतका लागि नभई स्वयं आरजु देउवाको ताकेताको जवाफ हो । प्रहरी भन्छ, ‘त्यो कसरी सार्वजनिक भयो हामीलाई थाहा छैन ।’
जाहेरवाला गजेन्द्र बुढाथोकी र रामकुमार रेग्मीले आफूहरू फस्न सक्ने भन्दै फोन गरेर राणासहितको नाम लिई पैसा बुझाएको भन्न लगाएकाले मात्र आफूले त्यसो भनेको शर्माको बयान थियो। शर्माले काठमाडौं जिल्ला अदालतमा दिएको बयानमा भनेका छन्, ‘निज जाहेरवाला गजेन्द्र बुढाथोकी र रामकुमार रेग्मीले मलाई पहिले नै फोन सम्पर्क गरी हामीले पैसा लिएका मानिसहरूले हामीलाई समस्यामा पारिसके, निजहरू आएको समयमा हामी तपाईंलाई फोन गर्छौं, सो समयमा तपार्इंले हामीले भनेको मानिसलाई रकम बुझाएका छौं भनी जानकारी गराइदिनुभयो भने हामी बच्छौं भनी पहिले नै निजहरूको नाम लिई पैसा दिएको हो भनी भन्नु भनेको हुँदा निजहरूले भनेअनुसार आरजु देउवा तथा बालकृष्ण खाण र मञ्जु खाणको समेत नाम लिई मैले रकम बुझाएको हो भनी कुरा गरेको हो। उक्त कुरा वास्तविक होइन। जाहेरवालाले भन्नु भनेअनुसार मात्र भनेको हुँ। मैले निजहरूलाई चिनेको छैन। चिन्दै नचिनेको व्यक्तिहरूलाई यति धेरै रकम नगदै बिनाकाम दिने कुरै भएन।’
अदालतको बयान र अडियोको बारेमा प्रहरीले सार्वजनिक गरेको पत्र अनुसार आरजु राणा पक्राउ पर्ने आधार देखिदैन । यदि पुरक अनुसन्धानबाट थप तथ्य खुले भने पक्राउ पर्न सक्छिन् । पक्राउ परेका अभियुक्तकै बयानका आधारमा भने आरजु यो प्रकरणमा उम्किएकी छिन् ।