गत मंगलवार बिहान १० बजेर ५ मिनेट जाँदा सोलुखुम्बुको सुर्के हेलिप्याडबाट उडेको ९ एन–एएमभी कल साइनको मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुकै लिखुपिके गापा–५ लामजुरामा दुर्घटनाग्रस्त हुँदा चालक सीवी गुरूङसहित ५ जना मेक्सिकन नागरिकको निधन भएपछि नेपाली आकाश बारेमा फेरि पनि प्रश्न उठेका छन् ।
यो नेपालमा भएको पहिलो दुर्घटना होइन । तर पनि यस्ता दुर्घटना बारम्बार दोहरिइरहन्छन् किन ? हरेक दुर्घटनापछि छानबिन आयोग बन्छन्, सतर्कता अपनाइन्छ र भएका कमीकमजोरीमा सुधार गरियो पनि भनिन्छ । धनजनको नोक्सानीले सबैलाई आहत बनाउँछ । देशभित्र मात्र होइन, देश बाहिर पनि यसखाले दुःखको नराम्रो सन्देश जान्छ ।
नेपाल आफैमा पर्यटक स्थल हो । यहाँ आन्तरिक तथा विदेशी पर्यटकको आवागमन भइ नै रहन्छ । तर बेला बेलामा हुने यस्ता दुर्घटनाले केही समय पर्यटक र स्थानीय वासिन्दालाई क्षुब्ध तुल्याउँछ, निराश बनाउँछ र आकाशे यात्राका लागि निरूत्साहित पनि गर्छ । तर जीवनको गति आधुनिक आविष्कार र प्रविधिसँग अभिन्न भइसकेको छ । फेरि पनि डराइ डराइ आकाशे यात्राको लागि मानिस तयार हुन्छ ।
प्राकृतिक भौगोलिक विविधताले नेपाललाई जति सौम्य, आकर्षक र मनमोहक बनाएको छ, यसले स्वयंमा समस्या र चुनौती पनि उत्तिकै खडा गरेको छ । त्यसमा पनि क्षणक्षणमा बदलिने मौसमले अनुमान नै लगाउन नसकिने बदलिँदो प्राकृतिक पर्यावरण सिर्जित गरी यसमाथि थप आकस्मिक चुनौतीको वर्षा गरिदिन्छ ।
नेपालका हिमाल आफैमा सगर छुन आँटेका त छन् नै, महाभारतीय उच्च पहाड पनि हिमालसँग प्रतिस्पर्धा गरी ठाडठाडै उभिएका छन् । यी पनि सगर छुने हिम चुचुराभन्दा कम अग्ला छैनन् । एकले अर्कालाई उछिनेका छन् । बाङ्गिएका छन् र पस्रिएर लमतन्न सुतेका पनि छन् ।
कुन बेला यस्ता प्राकृतिक भौगोलिक सिर्जनामाथि मौसमले खास्टो ओढाउँछ, सिरकले ढाक्छ, कोखिलामुनि लुकाउँछ र अनुमा न नै गर्न नसकिने गरी छिपाउँछ, यो सबैभन्दा आश्चर्यको विषय बनिरहेको छ । नेपालको भौगोलिक विशिष्टतामा आकाश धरतीभित्र र धरती आकाशभित्र लुकेका छन् ।
धरती र आकाशको यही लुकामारीमा कतिबेला आकाश भेटिन्छ र कतिबेला धरती भेटिन्छ भन्ने पत्तो नै हुँदैन । मुख्यतः यही कारणले नेपालमा बेलाबेलामा ठूल्ठूला र अपत्यारिला दुर्घटना निम्तने गरिरहेका छन् ।
मंगलवार सोलुखुम्बुमा भएको चालकसहित ६ जनाको ज्यान जाने गरी भएको हेलिकोप्टर दुर्घटनामा पनि अहिलेसम्म मौसम परिवर्तनको बखत नेपाली धरती–आकाशको लुकामारी बाहेक अर्को कारण अनुमानसम्म पनि हुन सकेको छैन । अनुसन्धानपछि प्राविधिक कमी कमजोरी पनि कारक रहेको खुल्न सक्ला ।
तर अहिलेसम्म यी कुरा भनेका कोरा अनुमानका विषय बनिरहेका छन् । त्यसैले नेपालमा हुने र हुनसक्ने यस्ता दुर्घटनाका कारक आफैमा ‘खुला रहस्य’ का रूपमा रहँदै आएका छन् । यसका लागि नेपाली भौगोलिक तथा मौसमी विशिष्टता पहिचान गर्नसक्ने क्षमताको विकास हुनु जरूरी हुन्छ ।
धरतीभित्र लुकेको नेपाली आकाश खोज्न र पहिल्याउन सक्ने विशिष्ट ज्ञान र तालिम हासिल गरिनुपर्छ, जसबाट सुरक्षित हवाइ यात्रा तय गर्न सकियोस् ।