एकातिर महङ्गी अचाक्ली बढेको छ, भने अर्कोतिर बेरोजगारी पनि त्यतिकै देखिन्छ । पोहोरसाल यतिखेर दुई केजी हुलास पीठोको प्याकेटको १२५ रूपयाँ पर्थ्योभने अहिले त्यसको १८० तिर्नु परेको छ । दशैंको बेलामा ६ सयमा किनेको जिरा मसलाको अहिले बाह्र सय रूपयाँ पुगेको छ ।
मैदा, दाल, चामल, तेलजस्ता दैनिक नभइ नहुने खाद्यान्नहरूको मूल्य अति नै बढेको छ । एक पिस लुगा धुने साबुन मात्रै किन्न पचास रूपैयाँ खर्चिनु पर्छ । तरकारी फलफूल पनि त्यतिकै महङ्गा भएका छन् । पहाडदेखि तराइ जुनसुकै ठाउँमा र सबैजसो मौसममा फल्ने केराको समेत दर्जनको १५० रूपैयाँ पर्छ ।
एक हप्ता अगाडि केजीको ५० रूपैयाँमा किनेको प्याजको दोब्बरले बढेर अहिले सय पुगिसकेको छ । दैनिक ज्यालादारी गरेर घर खर्च टार्नेहरूलाई सकस हुँदै गएको छ । महिनामा दुईचार हजारमा काम गर्ने श्रमिकहरूको झनै बेहाल भएको छ ।
म बस्ने घरको भुइँतलामा एकजना महिलाले रूद्राक्षको पसल राखेकी छिन् । उनको पसलमा पन्ध्रजना जति रूद्राक्षको माला बनाउने महिलाहरू काम गर्न आउँछन् । विहान ११ बजेदेखि बेलुकी ६ बजेसम्म ७ घण्टा काम गर्दा करिब पचासवटा जति मालाहरू बनाउन सक्ने रहेछन् ।
उनीहरूले एउटा मालाको जम्मा ४ रूपयाँ पाउँदा रहेछन् । यस हिसाबले एकोहोरो एकै ठाउँ भुइँमा बसेर आँखा दुखाएर महिनामा उनीहरूले बढीमा ६, ७ हजार मात्रै कमाउँदा रहेछन् । तर बजार गएर तरकारी, फलफूल, दुध आदि किनेर ल्याउने हो भने एकचोटीमा हजार रूपैयाँ खर्च हुन्छ ।
छोराछोरी पढाउनकै लागि औषतमा प्रत्येक नेपालीले आफ्नो आम्दानीको २७ प्रतिशत खर्च गर्नुपरेको केही दिन अगाडि गरिएको एक अनुसन्धानले देखाएको थियो । कोठाभाडा तिर्ने, औषधि उपचारमा पनि खर्च गर्नुपर्यो भने ऋण नलागेको कुनै पनि महिना हुँदैन ।
आर्थिक सर्वेक्षण २०७९÷०८० का अनुसार नेपालीको प्रतिव्यक्ति कुल राष्ट्रिय आय १४१० अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ भने त्योभन्दा बढी प्रतिव्यक्ति राष्ट्रिय खर्चयोग्य आय १७५२ अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ ।
खाद्यान्नमा बढाइएको कर, रसिया, युक्रेन युद्ध, गत वर्ष किसानहरूले समयमा रासायनिक मल नपाउँदा धानको उत्पादनमा कमी लगायतका विभिन्न कारणहरूले गर्दा महङ्गी बढेकाले प्रत्येक नेपालीले आफ्नो आम्दानी भन्दा बढी रकम खर्च गर्नुपर्ने देखिएको छ ।
वर्षौंदेखि आफ्ना उत्पादनलाई महत्व नदिएर आयात गर्न खोज्दा उपभोक्ता जहिले पनि महङ्गीको मारमा पर्ने गरेका छन् । अहिले पनि बजारमा बन्दा किन्न जाँदा किलोको ५० रूपैयाँ भन्दा कममा पाइँदैन । तर स्वदेशमै फलेको दाङ मोतिपुरका–११ का किसान राजेश डाँगीले १५ कट्ठामा लगाएको बन्दा प्रतिकेजीको १ रूपैयाँमा पनि विक्रि नभएपछि गाईवस्तुलाई खुवाउनु परेको दुःखद अवस्था छ ।
त्यसैगरी भरतपुरका कतिपय किसानहरूले पनि बन्दा २ रूपैयाँ किलो पनि बिक्रि नभएपछि ट्याक्टर लगाएर मल बनाइरहेका छन् । सहरदेखि गाउँसम्मै होटेल, क्यान्टिन, रेस्टुरेन्ट, घरघरमा बन्दाको भेज मःमः विहानदेखि बेलुकीसम्मै बनिरहेको हुन्छ । बन्दाकै भेज मःमः किन्दा पनि प्लेटकै १०० भन्दा बढी पर्छ ।
तर त्यही बन्दालाई व्यापारीहरूले नेपाली किसानबाट प्रतिकेजी १ रूपैयाँमा पनि किन्न तयार छैनन् । तैपनि त्यही बन्दाको मःमः प्लेटकै १०० रूपयाँ भन्दा बढी कसरी पर्छ ? जुनसुकै ठाउँमा पनि किसान भन्दा व्यापारी, विचौलियाहरूलाई मात्रै पोस्ने गरिएको प्रत्यक्ष देखिन्छ ।
सरोकारवालाहरू ‘तैं चुप मै चुप’ भएर बसेका देखिन्छन् । बदमासी गर्नेहरूलाई स्वतन्त्र रूपमा छोडिएको देखिन्छ । सोझासाझा किसान, गरिबहरूका लागि मात्रै नियम कानुन बनेका छन् । लुटतन्त्र, भ्रष्टाचारमा संलग्नहरूलाई सजाय भएको कहिल्यै देख्न पाइएको छैन ।
अहिले पनि बजारमा गोलभेडा प्रतिकेजीको ४० देखि ५० रूपैयाँमा किन्नु परेको छ । त्यही गोलभेडा केजीको ५ रूपैयाँमा पनि बिक्रि नभएको भन्दै बाँके खजुराका लालबहादुर खत्रीले दुईसय क्यारेट मलखादमा खन्याएका छन् । त्यतिकै बारीमा पनि कुहिरहेका छन् ।
कहिलेसम्म नेपालीहरूले स्वदेशमा फलेको खाद्यान्न सस्तोमा किन्न नपाएर महङ्गो आयातित खाद्यान्नहरू किनिरहने ? सम्बन्धित सरोकारवालाहरूले वर्षेनी देखापर्ने यस्ता समस्याहरूलाई किन समाधान गर्न चाँसो दिदैनन् ?
नेपाल राष्ट्र बैंकले जेठ २६ गते सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार मुद्रास्फीति वाञ्चित सीमा नाघेर ७.४१ प्रतिशत पुगेको छ । प्रतिवेदन अनुसार काठमाडौं उपत्यकामा र पहाडी क्षेत्रमा सबैभन्दा बढी मूल्यबृद्धि भएको छ ।
विश्व बैंकको एक प्रतिवेदन अनुसार सन २०२१ भन्दा २०२२ मा न्यून आएका भएका धेरैको मुख्य खाना मकैको मूल्य २८ प्रतिशत, गहुँको १८ प्रतिशत तथा चामलको मूल्य ११ प्रतिशतले बढेको थियो । सन २०२३ मा पनि यो मूल्य घट्नुको सट्टा झनै बढेको हामीहरूले देखेकै छौं ।
हालै जापान सरकारले गाउँघर खाली भएको भन्दै राजधानी टोकियो सहर छोडेर ग्रामीण भेगमा बसाइँ सर्ने परिवारलाई कम्तिमा ५ वर्ष गाउँमै बस्न र व्यवसाय सुरू गर्नका लागि प्रतिसदस्य सात हजार डलर दिने घोषणा गरेको छ ।
अति नै सुन्दर, तराइको जस्तै मलिलो माटो धान लगायत सबै बालीनाली, फलफुल फल्ने अछाममा रहेको फल्टाणे गाउँमा ९ घरपरिवार थिए । घर थोरै भएपनि एकै परिवारमा कम्तिमा ८ देखि १० जना छोराछोरी हुँदा ठूलै गाउँ थियो ।
अहिले त्यहाँ जम्मा दुई परिवारका थोरै मात्रै सदस्यहरू कोही सरकारी जागिर भएर छोड्न नमिल्ने त कोहि बूढापाका भएर गाउँ छोड्न नमानेका कारण बाध्यताले गाउँमा छन् । केही समयपछि त्यो गाउँ उजाडिने निश्चित देखिन्छ ।
गाउँलेहरू सबै गाउँमा हुँदा सबैले श्रमदान गरेर नजिकको खोलाबाट गाउँमा विजुली समेत बालेका थिए । विजुली प्रसारण लाइन पनि बिग्रियो, गाउँलेहरू पनि गाउँ छोडेर हिँडे । बाँकी भएकाहरू फेरि टुकी या सोलारको भरमा रात बिताउँदै छन् ।
गाउँ खाली हुने अन्य कारणहरू पनि छन् । बाँदर, बँदेल, भालु, दुम्सी लगायतका जङ्गली जनावरहरूले लगाएको अन्नबाली खाइदिएपछि गाउँमै बसेर पनि हातमुख जोड्न समस्या हुन थाल्यो । वातावरणमा आएको परिवर्तनका कारण पहिलाजस्तो अन्नपात, फलफूलहरू पनि फल्न छोडेका छन् ।
भरपर्दो यातायात सुविधा नहुँदा खेतमा फलेका काँक्रा, अम्बा, आँप, आरू, जस्ता मौसमी फलफूलहरू, घिउ आदि बेच्न पनि बोकेरै दुई घण्टा पैदल हिँडनुपर्ने बाध्यता रहेको छ । मेरो गाउँ मात्रै होइन, नजिकका कयौं गाउँहरूको अवस्था पनि यस्तै रहेको छ ।
सहरमा बस्नेलाई भोलिपर्सि गाउँ जान नपाइने हो कि भन्ने चिन्ता हुन थालेको छ भने गाउँमा बस्नेलाई पनि पहिलाजस्तो सजिलो छैन । गाउँदेखि सहरसम्मै पीडामा बाँच्न बाध्य छन् नेपालीहरू !