क्वान्टम सिद्धान्त आणविक सिद्धान्तको समुच्चय हो । यसले सिंगो भौतिक विज्ञान बुझ्न मद्दत गर्छ । तर आणविक सिद्धान्त ‘वान डिभाइड्स इन्टु टु’ (एकको दुईमा विभाजन) हो । यसले एकको दुईमा विभाजन हुने सूत्रानुसार भौतिकीमा एटोम बम तथा समाज विज्ञानमा सामाजिक अन्तरविरोध बुझ्न सहन बनायो ।
कार्ल मार्क्सदेखि माओसम्मका विचार प्रतिपादन र समाजमा वर्ग तथा वर्ग अन्तरविरोध बुझ्न यसले सहयोग पुर्यायो । आणविक सिद्धान्तको प्रयोगको क्रममा दुनियाँ आज यहाँसम्म आइ पुगेको छ । यसमा परक थप नयाँ प्रयोग चीनले गर्न थालेको देखिन्छ, त्यो हो ‘क्वान्टम थ्यौरी’को समाजमा प्रयोग !
अहिले चीनले क्वान्टम कम्प्युटर प्रयोगमा आएको कुरा सार्वजनिक गरेको छ । यो चिनियाँ आविष्कारलाई देश, काल, परिस्थितिसँग जोडेर हेर्नुपर्छ । चीनको वर्तमान सफलता र अग्रगमनसँग पनि जोडेर हेर्न विर्सन हुँदैन । क्वान्टम थ्यौरीको व्यवहारिक प्रयोग आणविक सिद्धान्तको एक विशिष्ट पक्षमात्र नभएर त्यसको विहङ्गम प्रयोग नै हो ।
उदाउँदो अतिमहाशक्ति चीनद्वारा गरिएको यो प्रयोग आफैमा नौलो भने हो । विज्ञान तथा प्रविधिमा कम्प्युटरले निर्णायक भूमिका निर्वाह गरिरहेको बेलामा स्वयम् ‘क्वान्टम’को कम्प्युटरमा प्रयोग सामान्य कुरा होइन ।
२१औं शताब्दीभर विश्वका कुनाकुनामा विचरण गरेर साधरण मानिसका सोच, शैली, सिर्जना र काम गर्ने तरिकामा आधुनिकीकरण ल्याइदिने कम्प्युटरमा क्वान्टम चमत्कार नै हो । क्वान्टम कम्प्युटर सिस्टमले हालसम्मको कम्प्युटर सिस्टमलाई १६ करोड गुणा तीव्र र शक्तिशाली बनाइदिएको दाबी चीनको छ ।
अब कल्पना गरौं अहिलेसम्मका कामकाजको गतिमा १६ करोड गुणा बढी तिब्रता आउँदा अबका दिनका वैज्ञानिक तथा प्रविधिक काम कति बेजोडको गतिमा अघि बढ्लान ? कल्पना गर्दै आश्चर्य लाग्छ ।
चिनियाँ वैज्ञानिकका दाबीमा अनुसार क्वान्टम कम्प्युटर अबको युगमा एक कोसेढुङ्गा साबित हुने भएको छ । यसको नाम पनि चिनियाँ नै दिइएको छ ः ‘जिउजाङ क्वान्टम कम्प्युटर’ ! यो सिस्टममा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कुशलतापूर्वक प्रयोग गरिएको छ ।
आफै त कम्प्युटर र त्यसमा पनि एआई जोडिएकाले वैज्ञानिक खोजमा यसले पक्कै पनि नयाँ आयाम ल्याउने देखिन्छ । जिउजाङ क्वान्टम कम्प्युटर डाटा माइनिङ, जैविक जानकारी पत्ता लगाउन, नेटवर्क विश्लेषण गर्न र रासायनिक मोडलिङजस्ता अनुसन्धानमा बेजोड सहयोगी सिद्ध हुनेछ ।
प्रयोगकै क्रममा क्वान्टम कम्प्युटरले विश्वमा कम्प्युटर जगतमा हालसम्म समाधान हुन बाँकी रहेका समस्या समाधान गरिसकेको छ । क्वान्टम कम्प्युटर प्रयोगमा आएदेखि दुई लाखभन्दा बढी नमुना (समस्या) प्रशोधन गरिसकेको छ ।
सुपर कम्प्युटरले ७०० सेकेण्ड लगाउने समस्यामा जिउजाङ क्वान्टम कम्प्युटरले मात्र बढिमा एक सेकेन्ड लगाएको छ । यसको आगमनसँगै नयाँ नयाँ कुरा द्रुततामा हेर्न, पत्ता लगाउन र प्रयोगमा ल्याउन सकिने भएको छ ।
कम्प्युटर सिस्मको यो आविष्कार केवल प्राविधिक मात्र होइन, यो राष्ट्रपति सि चिन फिङको ल्याण्ड लिंक्ड स्ट्राटेजीसँग र सि चि फिङ विचारधारासँग पनि जोडिन पुगेको छ ।
चीनले अख्तियार गर्दै आएको ‘वान बेल्ट वान रोड’ को अवधारणा कार्यान्वयनसँग यो थ्यौरी निकै घनिष्ट भई गाँसिएको छ । क्वान्टमका कण यति साना मानिन्छन् कि ती प्रकाशका कणभन्दा पनि साना हुन्छन् । यी कण विश्व ब्रह्माण्डमा रहेका सारा पिण्ड भेदन गरी घुमिरहेका छन् ।
यिनले नयाँ नयाँ पिण्ड निर्माण गर्ने काम पनि गरिरहेका हुन्छन् । यसले समाज विज्ञानमा साना भन्दा साना अन्तरविरोधमा पसेर अतिसूक्ष्म ‘माइक्रो म्यानेजमेन्ट’ गर्ने तरिकाको बाटो अख्तियार गर्छ । जस्तो चीनले सबै देशको आआफ्नो सार्वभौम सत्ताको सम्मान गर्दै सहकार्यको हात अघि बढाइरहेको छ ।
यसको तुलनामा अमेरिकाले आफ्नो पक्षमा भए नभएको वा हस्तक्षेपको नीति अख्तियार गर्दै आएको छ । यो ‘वान डिभाइड्स इन्टु टु’ मा आधारित छ । अर्थात्, हाम्रो पक्षमा कि विद्धमा ? यसलाई चिनियाँ क्वान्टम पद्धतिको प्रयोगले सजिलै उछिन्ने देखिन्छ ।
थ्यौरी मात्र नभएर टेक्नोलोजीमा पनि अब्बल र अग्रज भएकाले चीनका आगामी दिन विजयका नजिक छन् । त्यो पनि संसारलाई क्वान्टम ‘चिनियाँ समाजवादी’ पद्धतिमा माला झैं उनेर !