• मंसिर ११ २०८१, मंगलवार

थबाङको शहिद पार्कमा रमाउन चाहने जापानी डा. इशिडा

असार १८ २०८०, सोमबार

घोराही, १८ असार ।
शहीद लली रोकामगर ‘कमरेड वेदना’को शिलालेख बायाँतर्फ उभिएर जापानी डा. र्‍युकिचि इशिडाले दह्रोसँग मुठी कस्नुभयो । शुरुमा गोरो अनुहार अँध्यारीयो अनि केहिबेरमा उज्यालिँदै धपक्कै बलेको जस्तै चम्कियो । त्यस अवधिमा उहाँले मनमनै कुनै कल्पना गरेको हुनुपर्छ ।

जनयुद्धका महान सहिद लली रोका (क. वेदना) को २०५३ माघ ४ गते शहादत भएको थियो । प्रहरीले चवाङ खोलामा लगि हत्या गरेको थियो । उहाँ थबाङको संस्थापक महिला स्वास्थ्य स्वयमसेविका हुनुहुन्थ्यो । उहाँकै सम्झनामा बृक्षा रोपन गर्न डा. इशिडा शहिद पार्क पुग्नुभएको हो ।

अगरबत्ती बालेर त्यहि शिलालेखमाथि घुमाउँदा र पुष्प अर्पण गर्दा डाक्टर सिला बुढामगर पनि हुनुहुन्थ्यो । ‘दश पन्ध्र वर्षपछि म त रहँदैन शिला त रहन्छ’ उहाँले भन्नुभयो, ‘आज देखि म, शिला र शहीद लली रोकाले नयाँ हस्पिटल बनाउने ।’ उहाँले जीवन अस्पतालमा बिताउने इच्छा गर्नुभयो ।

‘यता यता सुत्न चाहन्छु’ जीवनको अन्तिम लक्ष्य सुनाउँदै उहाँले भन्नुभयो, ‘त्यस अघि सरकारले ठुलो बजेट दिएर राम्रो अस्पताल बनाइदिओस् ।’ उहाँका अनुसार मगर खाम भाषा बोल्ने स्थानीय डाक्टर चाहिएको छ । उसले त्यहाँका जेष्ठ नागरिकका समस्या बुझ्न र समाधान गर्न सकोस् । नयाँ पुस्तामा नेपाली भाषा प्रयोग भएपनि जेष्ठ नागरिकले मगर खाम भाषा छोडेका छैनन् ।

उहाँलाई खाना पकाइदिन पुनबहादुर र जोरबहादुर खट्नु हुन्छ । चिया खुवाउँदै गर्दा भेटिनु भएका उहाँका अनुसार थबाङमा जे उब्जिन्छ त्यहि खान रुचाउनुहुन्छ । उहाँलाई अलग्गै परिकार चाहिँदैन । पूणर्रुपमा स्थानीय मानिस जस्तै हुनुभएको छ । पकाइ खुवाउन कुनै कठिनाई छैन । अंग्रेजी भाषाका जानकार उदय घर्तीका अनुसार नेपाली भाषा पूणर्रुपमा डाक्टरलाई आउँदैन । दोभासे भएका बेला बाहेक विरामीलाई सबैकुरा बुझाउन कठिन हुन्छ ।

एक वर्षमा दुईपटक र एक पटकमा एक महिना डाक्टर जापान जहान परिवारलाई भेट्न जानुहुन्छ । त्यहाँ जानु अघि विरामीलाई समय दिनुभएको हुन्छ । त्यसले उहाँलाई चयनसँग बस्न दिँदैन । ‘मेरो मुटुभित्र धेरै विरामी वेटिङमा बसेको बिझ्छ’ उहाँले थप्नुभयो, ‘मिति लिएका विरामीले पर्खिरहेका होलान् भन्ने लाग्छ र फर्किन्छु ।’ उहाँका अनुसार ज्यान उता रहँदा मन यता पुगिसक्छ । किनभने पहिल्यैदेखि आफू फर्किने समय हिसाब गरेर भेट्ने समय दिनुहुन्छ ।

उहाँका अनुसार १५ वर्ष अगाडि थबाङ आउँदा सहिद ललीका बारेमा बुझ्न पाउनुभएको थियो । त्यसबेलाका स्टाप हितमान रोकाले संस्थापक महिला स्वास्थ्य स्वयमसेविका सहितको ललीको बारेमा सुनाउनुभयो । त्यसले डाक्टरलाई निकै प्रभावित बनायो । ‘लली रोकाको आत्माले थबाङमा आउनुस् भन्यो’ डाक्टर इशिडाले भन्नुभयो, ‘त्यस बेला स्वास्थ्य समस्या पनि निकै गाह्रो थियो ।’ दुर्गम ग्रामिण भेगमा ठुला डाक्टर बस्न मान्दैन्थे । मानिसहरुले धेरै दुःख पाएका थिए ।
त्यस अघि २२ वर्षको उमेरमै डा. इशिडा नेपाल आउनुभएको थियो । त्यसबेला ग्रामिण इलाका त्यसमा पनि मगर बस्ती देखेर फेरि आउँछु भनेर जानुभयो ।

दोस्रोपटक आउँदा ललिका बारेमा बुझ्नुभयो । त्यसैबेला किओको ओगुराको प्रचण्डपथ र थबाङका बारेको लेख पढ्नु पाउनु भयो । स्थानीयका अनुसार ओगुरा जनयुद्धकालमा निर्धक्कसँग थबाङमा घुम्ने र बस्ने एकमात्र विदेशी हुनुहुन्थ्यो । उहाँले जनयुद्धका भित्रि कुरा लेख्नुभएको थियो ।

प्रचण्डपथका बारेमा पनि स्टोरी छापिएको थियो । त्यो अध्ययन गरेपछि डा. इशिडालाई प्रभावित बनायो । ‘नेपाली भिखारी होइनन् भन्ने लेखिएको थियो’ उहाँले केहिबेर गमेर इतिहास याद गर्नुभयो, ‘जापानी दानी त हुन्छन् । गरिबलाई दिन्छन् । त्यो बेलाको त्यो लेखाईले एकदमै प्रभावित भएँ ।’ त्यसबेला देखि उहाँ यतै बस्न थाल्नुभयो । निरन्तर विरामीको सेवा गर्न लाग्नुभयो ।

अक्मकिएर नेपाली बोलेपनि प्रष्ट पार्न कठिन हुन्छ । अंग्रेजी भाषाका जानकार वीर बलभद्र नमुना माध्यामिक विद्यालय थबाङका सहायक प्रधानाध्यापक उदय घर्तीमगरका अनुसार सहयोगी चाहिन्छ । सबै कुरा फरर्र नेपाली नबोलेपनि धेरै बुझ्नुहुन्छ । केहि खाम भाषा पनि बुझ्नुहुन्छ । स्थानीय खानपिन गर्नुहुन्छ । चाडपर्व तथा निम्ता गरेको सभा समारोहमा उपस्थिति जनाउनुहुन्छ । उहाँ यहिँको संस्कार संस्कृति तथा चालचलनमा भिज्दै भिज्दै जानुभएको छ । जीवन छउन्जेल यहिँ सेवा गर्ने र अन्तमा यहिँ आरामगर्ने विचार व्यक्त गर्नुहुन्छ ।

उहाँलाई थबाङीले हरेक बखत सम्मान गर्छन् । सार्वजनिक समारोहमा अनेक सम्मानित शब्दले इशिडालाई पुकार्छन् । ‘जनताको माया, कम्युनिष्टको माया, नेपालीको माया गर्ने त्यो भन्दा झन् माया थबाङीको गर्ने विदेशी’ शहिद पार्क व्यवस्थापन समिति संस्थापक अध्यक्ष अजय घर्तीमगरले भन्नुभयो, ‘थबाङको विकासका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने जापानी हुनुहुन्छ ।’ जलजला अस्पताल तथा अनुसन्धान केन्द्रका प्रमुख तुलबहादुर पुनका अनुसार १५ सैया भवन निर्माण कार्य शुरु भएको तिन वर्ष भयो ।

त्यसलाई सञ्चालनमा ल्याउने डाक्टरको ठुलो धोको छ । अब डाक्टर आफ्नो जीवनको सबै अवधि त्यहिँ बिताउन चाहनुहुन्छ । आफ्नो भौतिक शरीर त्यहि शहिद पार्कमा बिसाउन पाइयोस् भन्ने अठोट लिनुभएको छ ।