रूसी राष्ट्रपति भ्लादिमिर पुटिनविरूद्ध रूसकै निजी सैन्य कम्पनी वागनर समूहका प्रमुख येवगेनी प्रिगोजिनले विद्रोह गरेको कुरा अहिले चर्चामा छ । यसलाई कतिपयले पश्चिमा घुसपैठको संज्ञा पनि दिएका छन् त कतिपयले रुसको विशिष्ट विद्रोहको पर्दा उघारिएको संज्ञा दिन पनि पछि परेका छैनन् ।
पुटिनका ‘सेफ’ भनेर चिनिने प्रिगोजिनको विद्रोह वास्तवमा के हो ? यो एक रहस्य बनेको छ, अहिलेलाई । यसले रूस–युक्रेनको जारी युद्ध पछाडिको खेलको भेद पनि प्याजको पत्रझैं एकएक गरी खुल्दै र खुलाउँदै लगेको छ ।
अघिल्लो शनिवार प्रिगोजिनको नेतृत्वमा भएको विद्रोह २४ घन्टाभित्रै शान्त भई निभिसकेकाले पनि यो सबैका लागि अस्वभाविक बनेको छ । उता प्रिगोजिनको नेतृत्वमा रहेका सशस्त्र लडाकुले शनिबार बिहान मस्कोबाट ११०० किलोमिटर टाढा रहेको सामरिक महत्वको क्षेत्र रोस्तोव सहर आफ्नो कब्जामा लिएको दाबी गरेको विश्वभर प्रचार भइरहेको छ ।
हाल बेलारूस निर्वासनमा रहेका भनिएका प्रिगोजिन कहाँ छन् ? थाह छैन । तर उनको बारेमा पश्चिमा शक्तिहरूले मिश्रित प्रतिक्रिया दिएका छन् । कसैले पुटिनको विसाल रुस अभियानका सहयोगी भनेका छन् भने कसैले विद्रोही नेता !
रोस्तोव युक्रेन युद्धका लागि आवश्यक हातहतियार र बन्दोबस्तीका सामान भण्डरण केन्द्र रहिआएको छ । यो युक्रेन युद्धका लागि सैनिक मुख्यालय पनि हो । यस्तो सामरिक महत्वको सहर कब्जा गरेका प्रिगोजिन भने सहर कब्जाका बारेमा आधिकारिक रूपमा बोलेका नै छैनन् ।
उनलाई अरूले भनिदिएका छन् कि उनी विद्रोही नेता हुन् । कुरा यत्तिमा मात्र सिमित छैन । रोस्तोवस्थित सैन्य कार्यालय कब्जा गरेपछि लडाकु मस्कोतर्फ अगि बढेको सूचना पनि जोडतोडले प्रचार प्रसार गरिएकै थियो ।
प्रिगोजिनको नेतृत्वमा रहेको वागनर लडाकुले रोस्तोवदेखि मस्कोसम्मको आधाभन्दा बढी दूरी पार गरिसकेको भनी होहल्ला पनि फैलाइएको थियो । अमेरिकी नेटोसँग लड्न युक्रेनी मैदानमा उत्रिएका पुटिनले उनीमाथि शान्तिको हात दिइरहेका छन् ।
पछिल्लो समयमा रुसको छिमेकी मित्र बेलारूसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोले विद्रोही कमाण्डर प्रिगोजिन र रुसी राष्ट्रपति पुटिनबिच सहमति गराएको कुरा पनि सार्वजनिक भएको छ । हाल प्रिगोेजिनका लडाकु भनिएका वागनर समूह बेलारूसमा सैन्य क्याम्प खडा गरी व्यवस्थित रूपमा बसेको स्थलगत भिडियो पनि सार्वजनिक गरिएको छ ।
सहमति अनुसार बेलारूस जाँदा प्रिगोजिन र विद्रोहमा सहभागी भएका उनका लडाकुहरूलाई पनि कारबाही नगर्ने सहमति आफैमा आश्चर्य रहेको छ । यो रूस एकीकरणका लागि पुटिनले चलाएको अभियानजस्तै देखिन्छ ।
प्रिगोजिनले रूसी रक्षामन्त्री सर्गेइ शोइगु र जनरलहरूको कडा आलोचना गर्दै आए पनि पुटिनको भने कहिल्यै आलोचना गरेका छैनन् । मात्र उनले युक्रेनविरूद्ध युद्ध अनावश्यक, भ्रष्ट कुलिन जनरलको आक्रमणमा निहित स्वार्थ र नेटोसँग मिलेर युक्रेनले रूसमाथि आक्रमण गर्ने योजना पनि नबनाएको कुरा सार्वजनिक गरेका थिए ।
यसको बारेमा रूस चुपचाप छ । पुटिन बोलेका सम्म पनि छैनन् । त्यसैले यो सोभियत रसिया निर्माणका लागि चालिएको एक कुटिल कदम भएकामा धेरै विशलेषक चूपचाप बसेका छन् । बेलारूस आफैमा रुसको संकटको सारथी पनि हो ।