• आश्विन १४ २०८१, सोमबार

मगर संघको वैदेशिक शाखा मलेसियाद्वारा राष्ट्रिय आविष्कार केन्द्रलाई दुई लाख रुपैँया हस्तान्तरण

असार १४ २०८०, बिहीबार

काठमाडौं । नेपाल मगर संघको वैदेशिक शाखा मगर संघ मलेसियाले राष्ट्रिय आविष्कार केन्द्रलाई नेपाल मगर संघको पहलमा सहयोग स्वरुप दुई लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।

बिहिबार किर्तिपुरस्थित राष्ट्रिय आविष्कार केन्द्रको मुल घरमा कार्यक्रम आयोजना गरि मगर संघ मलेसियाका वरिष्ठ उपाध्यक्ष सञ्जय मगर र मगर संघ मलेसियाका वरिष्ठ सल्लाहकार भूपाल झाँक्री मगरले आविष्कार केन्द्रका संस्थापक महाविर पुन मगरलाई रकम हस्तान्तरण गरेका हुन् ।

केन्द्रका संस्थापक महाविर पुनमगरले आविष्कार केन्द्रलाई सो रकम हस्तान्तरण गरेकोमा आभार व्यक्त गर्दै मगर समुदायलाई नाचगान र खानेपिउनेमा मात्र समय बर्बाद नगरी नयाँ नयाँ आविष्कारहरुमा लाग्न आग्रह गरे । पुनले आफ्नो बौद्धिक ज्ञानका कुरा सुनाउन खोज्दा मलेसियामा एकजना दर्शकले गीत गाउन भनेको तितो पल स्मरण गर्दै धेरै नाचगानमा नभुल्न पनि सल्लाह दिए ।

वर्तमान समयमा निकै चर्चामा रहेको पुन र पुनमगरको विषयमा केहि भाव राख्न भनि प्रश्न गर्दा संस्थापक पुनमगरले यो ऐतिहासिक कुरा नभई राजनैतिक कुरा मात्र भएको भाव राखे र आफू स्वयम् पुन भएकाले मगर नै भएको दावी गरे ।यो कुरा भनेको धेरै ठूलो कुरा नभई कसैप्रति रिस पोख्न मात्र गरिएको सानो राजनीतिक भएको उनले बताएका छन् ।आगामी  दिनमा यो विषय विस्तारै हराउने हुँदा पुन मगर होइन भन्ने व्यक्ति  र मगर संघलाई पनि यसप्रति चासो नराख्न महाविर पुन मगरले आग्रह गरे । यस्ता अगतिला कुरालाई आगामी दिनमा सन्ततिले विश्वास नगर्ने हुँदा यो विषय हराउने उनले ठोकुवा गरेका छन् ।

पुनमगरले कार्यक्रममार्फत् मानिसले स्वइच्छाले दिए मात्र रकम लिने तर आफूले कसैसित पनि पैसा नमागेको हुनाले आविष्कार केन्द्रको नाममा पैसा दिन कर नगर्न पनि अनुरोध गरे । उनले आफूलाई सम्मान गरेको मन नपर्ने हुँदा सम्मानलाई पनि भ्रष्टाचारको संज्ञा दिए ।

सोही कार्यक्रममार्फत् आफू सम्मान दिने कार्यक्रममा भाग नलिने कुरा पनि पुनमगरले घोषणा गरे । कार्यक्रममा बोल्दै नेपाल मगर संघ केन्द्रिय समितिका अध्यक्ष ज्ञानेन्द्र पुनमगरले महाविर पुनमगरको नाममा उठाइएको पैसामा हिनामिना भएकाले उक्त कारण खुलाई प्रष्ट पार्न मगर संघ मलेसियालाई अनुरोध गरे । यस्ता बेतिथिका समस्या आमनेसामने बसेर नै सुल्झाए राम्रो हुने अध्यक्ष पुनले बताए ।

पैसा हिनामिनाको कारण खुलाउँदै मगर संघ मलेसियाका वरिष्ठ सल्ल्हकार भूपाल झाँक्री मगरले छैँठौँ महाधिवेशनको समयमा निवर्तमान अध्ययक्षको एकल निणर्यका कारण सो समस्या आएको बताए । सोही क्रममा उनले विभिन्न कार्यक्रमको आयोजनाबाट पनि घाटा व्यहोर्नु परेकाले गल्ती हुन पुगेको बताए ।त्यस अवधिमा दुःख दिएकाले आविष्कार केन्द्रका संस्थापकसँग माफी माग्दै गुनासो नगर्न झाँक्री मगरले अपिल गरे ।

त्यसैगरी मगर संघ मलेसियामा वरिष्ठ उपाध्यक्ष सञ्जय मगरले पनि संस्थाको गल्तीलाई माफी माग्दै आठौँ अधिवेशनको टिमले राष्ट्रिय आविष्कार केन्द्रलाई दुई लाख रुपैयाँ दिने निर्णय गरेको बताए । कार्यक्रममा नेपाल मगर संघ केन्द्रिय समितिका विभिन्न पधादिकारीहरु पनि उपस्थित थिए ।