• मंसिर ११ २०८१, मंगलवार

आयो क्वान्टम कम्प्युटर युग !

असार ८ २०८०, शुक्रबार

कम्प्युटर युग आफैमा चमत्कारको युग हो । यसले २१औं शताब्दीभर विश्वका कुनाकुनामा विचरण गरेर साधरण मानिसका सोच, शैली, सिर्जना र काम गर्ने तरिकामा आधुनिकीकरण ल्याइदियो । यसले बदलिँदो जीवनको गतिमा हजारौं गुणा तिब्रता ल्याइदियो ।

यस्तो चामत्कारिक आविष्कारमाथि आवश्यकता र संयोगले अर्को चमत्कार थपेको छ । त्यो हो, क्वान्टम कम्प्युटर ! यसको आविष्कारका बारेमा चीनले सतथ्य कुरा सार्वजनिक गरेको छ । यसले हालसम्मको कम्प्युटर सिस्टमलाई १६ करोड गुणा तीव्र र शक्तिशाली बनाइदिएको छ ।

चिनियाँ वैज्ञानिकका अनुसार क्वान्टम कम्प्युटर अबको युगमा कोसेढुङ्गा साबित हुने छ । यसको पूरा नाम ‘जिउजाङ क्वान्टम कम्प्युटर’ दिइएको छ । यसमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कुशलतापूर्वक प्रयोग गरिएको छ ।

आफैमा कम्प्युटर र त्यसमा पनि एआई जोडिएका कारण हालसम्म प्रयोगमा रहेको विश्वको शक्तिशाली सुपर कम्प्युटरभन्दा यो आफैमा १८ करोड गुणा शक्तिशाली हुन गएको हो । यसले वैज्ञानिक खोजमा नयाँ आयाम ल्याउन सहयोग पुराउने अपेक्षा गरिएको छ ।

प्रारम्भिक अनुमानअनुसार जिउजाङ क्वान्टम कम्प्युटर डाटा माइनिङ, जैविक जानकारी पत्ता लगाउन, नेटवर्क विश्लेषण गर्न र रासायनिक मोडलिङजस्ता अनुसन्धानमा निकै सहयोगी सिद्ध हुनेछ ।

चिनियाँ वैज्ञानिकका अनुसार क्षमतावान क्वान्टम कम्प्युटरको प्रयोगले विश्वमा हाल समाधान हुन बाँकी रहेका समस्या समाधान गर्न बल पुग्ने छ । यो कम्प्युटर प्रयोगमा पनि सफल भइसकेकाले अब सबैका लागि यो एक आधुनिक र उपयोगी यन्त्रका रूपमा सार्वजनिक हुने छ ।

चीनको विज्ञान र प्रविधि विश्वविद्यालयका भौतिकशास्त्री प्यान जियानवेको नेतृत्वमा यो आविष्कारले शिखर चुम्न पाएको हो । ‘क्वान्टमका पिता’ भनिने जियानवेको यस अनुसन्धानसम्बन्धी लेख अङ्ग्रेजी मे महिनामा ‘फिजिकल रिभ्यू लेटर’ जर्नलमा प्रकाशित भएको थियो ।

यसको आविष्कारलगत्तै चिनियाँ अन्वेषकको टोलीले सामान्य कम्प्युटरका लागि चुनौतीपूर्ण बन्दै आएका समस्या यो क्वान्टम कम्प्युटरमार्फत समाधान गरेर देखाएका थिए । ती समस्या समाधान गर्न क्वान्टम कम्प्युटरले दुई लाखभन्दा बढी नमुना प्रशोधन गरिसकेको छ ।

अन्वेषकको टिमले क्वान्टम कम्प्युटरलाई ‘रेन्डम सर्च’ र ‘सिमुलेटेड एनिलिङ’ गर्न लगाएपछि नमूना प्रशोधनका लागि माग गरेको थियो । हाल सम्मको सबैभन्दा तीव्र मानिएको क्लासिकल सुपर कम्प्युटरमार्फत् हरेक नमुना समस्या समाधान गर्न करीब ७०० सेकेन्ड लाग्छ । यसलाई आधार मान्ने हो भने दुई लाख नमुना प्रशोधन गर्न सुपर कम्प्युटरबाट कम्तिमा पाँच वर्ष लाग्ने देखिन्छ ।

जिउजाङ क्वान्टम कम्प्युटरले एउटा नमूना प्रशोधन गर्न बढिमा एक सेकेन्ड समय लगाउने भएपछि समस्या समाधानमा निकै कम समय लाग्ने भएको छ । यो भर्खरैै अन्वेषणबाट प्रमाणित भएकाले सर्वसाधरणको हातसम्म आइपुग्न समय भने लाग्ने छ ।

हाल गति अवरोधका कारण भनेजति कुरा थाह पाउन नसकिइरहेको अवस्थामा यसको आगमनसँगै नयाँ नयाँ कुरा द्रुततामा हेर्न, पत्ता लगाउन र प्रयोगमा ल्याउन सकिने छ ।

मानव जीवनमा यो ठूलो सफलता हो । साथै, पूर्ण कम्प्युटर युगमा प्रवेशको सुखद सङ्केत पनि हो ।