• मंसिर ११ २०८१, मंगलवार

मोदीको अमेरिका भ्रमण : अब भारत पश्चिमा कित्तामा कि पूर्वीय कित्तामा ?

जेष्ठ ३२ २०८०, बिहीबार

वासिङ्टन । एकजना भारतीय कुटनीतिज्ञले अमेरिकी राष्ट्रपति जो बाइडेनको निमन्त्रणामा प्रधानमन्त्री नरेन्द्र मोदीको आगामी साता हुने अमेरिकाको राजकीय भ्रमणबाट भारत–अमेरिका सम्बन्ध नयाँ चरणमा प्रवेश गर्ने एक बताएका छन् ।

संयुक्त राज्य अमेरिकाका लागि भारतका राजदूत तरनजीतसिंह सन्धुले प्रधानमन्त्री मोदीको भ्रमणबाट दुई देशबीचको सम्बन्धमा अर्को अध्याय थपिने बताउँदै त्यसले नयाँदिल्ली र वासिङ्टनको साझेदारीलाई सुदृढ बनाउने बताए ।

नेपालमा भने मोदी त्यसरी अमेरिकाको नजिक पुग्दा भारतको रुससितको सम्बन्धमा चिसोपन आउने विश्लेष गरिएको छ । रुस–युक्रेन युद्धमा भारत तटस्थ रहेको छ । प्रधानमन्त्री मोदी र अमेरिकाका राष्ट्रपति बीचको घनिष्ठ मित्रतालाई पनि भ्रमणले प्रतिविम्बित गरेको ती भारतीय कुटनीतिज्ञले बताए ।

एएनआई प्रतिनिधिसँगको कुराकानीमा राजदूत सन्धुले दुवै देशका मन्त्रिपरिषदका सदस्यहरू र वरिष्ठ अधिकारीहरूले राजकीय भ्रमणबाट प्राप्त हुने उपलव्धिको प्रतीक्षा गरिरहेका बताउँदै उनले नयाँदिल्ली र वासिङ्टनको सम्बन्ध सही दिशामा अघि बढिरहेको सुनिश्चित हुने जनाए । भूमण्डलीकरणको सन्दर्भमा भारत–अमेरिका साझेदारीका विविध पक्षबारे चर्चा गर्दै भारतीय राजदूतले व्यापार, रक्षा, रणनीतिक सहयोग, प्रविधि, उच्च शिक्षा र स्वच्छ ऊर्जा क्षेत्रमा दुवै देश सहकार्य गर्न उत्सुक रहेका बताए ।

पारस्परिक विश्वास र साझेदारीलाई थप सुदृढ बनाउन तथा जनस्तरको सम्बन्धलाई पनि अझ घनीभूत तुल्याउन प्रधानमन्त्री मोदीको भ्रमण फलदायी हुनेमा आफू विश्वस्त रहेको राजदूत सन्धुले बताए । रुसले युक्रेनमाथि गरेको आक्रमणलाई बेवास्ता गरेको भारतले मस्कोसँगको साथ र सहयोगलाई पनि बढाएको छ । वासिङ्टन र मस्कोबीचको सम्बन्ध अधिक चिसिएको अहिलेको अवस्थामा पनि रुसको मौन समर्थक भारतसँगको आफ्नो व्यवहारमा अमेरिकाले कुनै परिवर्तन गरेको छैन ।

चीनसँगको बिग्रिएको सम्बन्धलाई सन्तुलनमा राख्न वासिङ्टनले नयाँदिल्लीसँगको सम्बन्धलाई उच्च प्राथकिता दिएको नेपाली विश्लेषकहरु बताउँछन् । मध्य तथा दक्षिण एसियाली क्षेत्रमा चीनको प्रभाव कम गर्न अमेरिका भारतसँग निकट सम्पर्कमा काम गर्न सधैं तत्पर रहेको छ ।

पछिल्लो केही समय यता विश्वमा विकसित भएको २ ध्रुवीय राजनीतिमा भारत कुन कित्तामा उभिनेछ ? भन्ने कुरालाई मोदीको अमेरिका भ्रमणले निर्क्यौल गर्छ कि गर्दैन ? त्यो भने हेर्न बाँकी नै छ । तर मोदी सरकार विश्व मामिलामा हालसम्म दोधारे नीतिमा अडेको स्पष्ट देखिँदै आएको छ । तर अबको तिब्र वैश्विक ध्रविकरणमा २ डुंगामा खुट्टा राख्दा भने भारतलाई अघि बढ्न गाह्रो पर्ने देखिन्छ ।