• मंसिर ११ २०८१, मंगलवार

घोराहीका फुटपाथ सफा गर्दै नगर प्रहरी

जेष्ठ २५ २०८०, बिहीबार

घोराही, २२ जेठ ।
लराभर्ता, भाँचिएका रुख र ढिक, घारीमा उम्रेका झाडीले जंगलका गोरेटाहरु हिंड्नै नमिल्ने गरी बुजिएका हुन्छन् । त्यो फाँडेर बाटो उघारिन्छ र पैदल आवतजावत गर्न सजिलो बनाइन्छ । यता शहरका फुटपाथ पनि त्यसैगरी बुजिएका छन् । यहाँ व्यवसायीले फुटपाथमै सामान फिँजारेका हुन् ।

घरको पेटी बाहेक फुटपाथलाई खुला राख्न अनुरोध गर्दै घोराही उपमहानगरपालिकाका नगर प्रहरी श्रवण शर्मा बञ्जाडे सोमवार दामोदर चोकका पसल–पसल धाउनु भएको थियो । मैले भर्खरै झारेको सामान हो । अहिले भित्र लगिहाल्छु । एकछिनमा सार्छु जस्ता जवाफ पाउनु हुन्थ्यो । उहाँका अनुसार एउटालाई हटाउनुस् भनेपछि उसको किन राख्न दिनुभएको छ भनेर प्रश्न आउँछ । आफूले गरेको गल्ति सुधार्छु भन्दैनन्, अर्काको गल्तिको आडमा आफू गल्ति गर्छन् ।

‘काठमाण्डौमा बालेनले कस्तो बनाइसके’ एकजना बुजु्रक जस्ता देखिने व्यक्ति आएर नगर प्ररीलाई भन्नुभयो, ‘अब यहाँ पनि केही नगरे त लाजै हुन्छ ।’ ती व्यक्तिका अनुसार कत्रा विरोध हुँदा पनि बालेन पछि हटेनन् । अहिले काठमाण्डौमा जाम लाग्नै छोड्यो । एकै वर्षमा शहर परिवर्तन भयो । ती व्यक्तिले ‘गरे त हुने रैच नी’ भन्दै नगर प्रहरीलाई उक्साए । घोराहीमा उल्लेख्य काम नभएको बताए । निर्धक्कसँग कानुन कार्यान्वय गर्नुस् भन्दै आफ्नो बाटो लागे ।

नगरप्रहरीका सइ चुर्णबहादुर बस्नेतले फुटपाथ व्यवस्थित गराउने कामको नेतृत्व गर्नुभएको थियो । ‘यस अघि फुटपाथमा चेम्बर (ढकन) थिएन हिंड्न मुस्किल हुन्थ्यो । अब बनि सक्यो ।’ उहाँले व्यवसायीलाई भन्नुभयो, ‘अबै फुटपाथमा मात्रै हिंड्ने हो । मिचेको जति ठाउँ खाली गर्नुस् । सटरबाहिर सामान फिँज्ने काम नगर्नुस् ।’ उहाँले बाहिर राखेका जाली, चुलो, फलफूल कपडा लगायत वस्तु भित्र राख्न लगाउनु भयो । पहिलो दिन सूचना दिन आएको बताउनु भयो । यसलाई व्यवास्ता गरेर फेरिपनि बाहिर सामान राखे जफत गरी लैजाने बताउनु भयो ।

आज विदाको दिन हो नगर प्रहरी आउँदैन भनेर हाइसुक्कसित सडक पेटीमा व्यापार गर्नेहर पनि छन् । फुटपाथमा हिंड्नै नमिल्ने गरी धुवाँ पुत्ताउँदै खाना पकाउने पनि गर्छन् । जलेको तेलको खारले ख्वाकख्वाक गर्दै मानिसहरु हिडेका हुन्छन् । शहरमा आएर आनन्दले हिंड्न पाउने अधिकार खोसिएको छ । सटर बाहिर पाल गाँस्ने आम चलन जस्तै भइसकेको देखिन्छ । ह्याङ्गर गाँसेर फुटपाथमा हिंड्नै मिल्दैन । दिउँसो भरी कपडाको बार हुन्छ । रातपरेपछि ह्याङ्गरले घोच्ने डर छ । व्यवसायीले कमाउने नाममा फुटपाथमा हिंड्नेलाई सास्ती दिएका छन् ।

कुनाका सटर बाहिर पनि पाली र ह्याङ्गर गाँसेर कपडा फिजाइएका हुन्छन् । त्यसले आउँदै गरेको विपरित दिसाको सवारी देख्न दिँदैन । त्यसरी फिँजेका कपडाका कारण दुर्घटनाको जोखिम बढेको बताइन्छ । फुटपाथमा निर्वाध हिंड्न नपाउँदा मानिसहरु सडकमा हिंड्ने र सवारी साधनलाई असहज बनाउँदै आएका छन् ।

बजार सुन्दर बनाउन केहि वर्ष अघि नगरपालिकाले भर्याङ फाल्ने अभियान ल्याएको थियो । इन्जिनियर रामधन श्रेष्ठको नेतृत्वमा धेरैका भर्याङमा डोजर लगाइएको थियो । जनप्रतिनिधि आइसकेपछि पनि घोराही १४ ले शक्तिराम डाँगीको नेतृत्वमा सब्जिमण्डि आसपासमा पाली हटाइदियो । नेपाल टेलिकम आसपासका टहरा फालिदिएको थियो ।

यतिबेला भने बल प्रयोगका त्यस्ता कुनै गतिविधि देखिएका छैनन् । जसले घोराही उपमहानगरपालिका सकृय रहेकोे सन्देश दिन सकुन । परिवर्तन गरेको आभास छाड्न सफल होऊन् । घोराहीमा फुटपाथ उघार्दै नगरप्रहरीले पटक पटक सुधारको थालनी भने गर्छ । त्यो अभियान हरेक वर्ष, ढक तराजु जफत र डोका कुम्ला धपाउनमै सिमित हुने गरेका छन् । पुरानै समस्या, उही स्तरको सकृयता देखिन्छ । थप आक्रामक गराउन सकेको छैन ।