• मंसिर ११ २०८१, मंगलवार

विश्व दूध दिवस सप्ताहव्यापी रुपमा मनाइयो

जेष्ठ २४ २०८०, बुधबार

ललितपुर । नेपालमा यस वर्षको विश्व दूध दिवस २०८० ‘दूध क्षेत्रको विकास, आर्थिक समृद्धिको आधार’ भन्ने नाराका साथ मनाइएको छ । बागमती प्रदेश सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालय, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय अन्तरगत भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र ललितपुरद्वारा आर्थिक वर्ष २०७९/०८० को स्वीकृत कार्यक्रम अनुसार विश्व दूध दिवस, २०८० मनाउने कार्यक्रमका साथ पशुजन्य पदार्थ उपभोग प्रवर्द्धन कार्यक्रमलाई सप्ताहव्यापी रुपमा दूध तथा दूधजन्य पदार्थहरुको उपभोगमा जोडदिँदै मनाइरहेको छ ।

मिति २०८०/०२/१८ गतेका दिन मानसिक अस्पताल लगनखेल ललितपुरमा कार्यक्रम उदघाटन समारोहमा अस्पतालका विरामीहरुको लागि दूध र दुग्धजन्य पदार्थ अस्पतालका निर्देशकलाई हस्तान्तरण गरिएको जानकारी भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ललितपुरका सूचना अधिकारी बासुदेव नाथले दिनु भयो ।

दैनिक गुणस्तरीय दूध पिउन जनचेतना वृद्धि गर्न, प्रचार प्रसार गर्ने, दूध तथा दुग्धजन्य पदार्थको गुणस्तर कायम गर्ने, जनचेतना जगाउने र दुध तथा दुग्धजन्य पदार्थको उपभोगमा सबैको पहुँच पुर्याउन पहल गर्ने उद्देश्य एवम् विश्वमा दूध क्षेत्रले पोषण तथा खाद्य सुरक्षा एवम् जिविकोपार्जनमा पुर्याएको योगदानको मनन गर्दै दूध उपभोगमा वृद्धि गर्न संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनले विश्व दूध दिवस सन २००१ देखि र नेपालले सन २०११ देखि मनाउँदै आएको छ ।

२०८० साल जेठ २२ गतेका दिन श्री नमूना मछिन्द्र माध्यमिक विद्यालय लगनखेल ललितपुर र श्री छम्पीदेवी माध्यमिक विद्यालय छम्पी ललितपुरका विद्यार्थीहरुका लागि दूध तथा दुग्ध जन्य पदार्थ भेटेरिनरी अस्पतालका कार्यालय प्रमुख डा.रामप्रकाश प्रधानले प्रधानाध्याप राधाकृष्ण महत र रमेप्रसाद आचार्यलाई प्रशोधित पाकेटको दूध ४०० लिटर, घिउ १० केजी, पनिर १० केजी, लालमोहन २०० गोटा र रसवरी २०० गोटाका दरले दुबै विद्यालयका विद्यार्थीहरुको दिवा खाजामा समेत समावेश हुने गरी हस्तान्त्रण गरिएको थियो । उक्त कार्यक्रम भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र ललितपुरका कार्यालय प्रमुख डा.रामप्रकाश प्रधानको अध्यक्षतामा तथा उक्त विद्यालयका प्रधानाध्यापकहरुको प्रमुख आतिथ्यतामा सञ्चालन गरिएको थियो ।

कार्यक्रमामा भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र ललितपुरका प्रमुखप्रधानले दूधको महत्वको बारेमा प्रकाश पार्नु भएको थियो भने प्रधानाध्यापकद्वय राधाकृष्ण महत र रमेश प्रसाद आचार्यले यस्ता कार्यक्रमहरुलाई स्कुल शिक्षासँग जोड्दा निकै प्रभावकारी हुने र आगामी दिनमा यस्ता कार्यक्रमहरु समन्वय गरी सञ्चालन गर्दा कार्यक्रम अझै प्रभावकारी हुने मन्तव्य राख्नु भएको थियो ।

नमूना मछिन्द्र माध्यमिक विद्यालय लगनखेलमा विद्यार्थी, शिक्षक तथा कर्मचारी गरी करिव ४५० जनाको सहभागीता र श्री छम्पीदेवी माध्यमिक विद्यालय छम्पी ललितपुरमा विद्यार्थी, शिक्षक तथा कर्मचारी गरी करिव ३०० जनाको सहभागीतामा कार्यक्रम सम्पन्न गरिएको थियो । उक्त कार्यक्रम भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ललितपुरका अधिकृत कृष्णबहादुर कार्कीले सञ्चालन गर्नु भएको थियो ।