• मंसिर १७ २०८१, सोमबार

संसदमा उठेको पशुपतिनाथमा सुनको जलहरी भ्रष्टाचार काण्ड के हो ?

जेष्ठ १२ २०८०, शुक्रबार

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद राजन दाहालले केहीदिन अघि संसदमा पशुपतिनाथमा जलहरीमा सुन भनी पित्तल राखेर भ्रष्टाचार गरेको विषयमा छानबिन हुनुपर्ने माग गरेका थिए।

सत्ता पक्षले एमाले अध्यक्ष केपी ओलीलाई निराधार भ्रष्टाचारको आरोप लगाएको भन्दै शुक्रबार एमालेले संसद् अवरुद्ध पार्‍यो । एमालेको अवरोधपछि २० मिनेटका लागि स्थगित बैठक डेढ घन्टासम्म पनि पुन: संचालन हुन सकेको छैन । एमालेले संसद् अवरोध गर्नेसम्मको विषय बनाएको पशुपतिमा जलहरी लगाउँदा भ्रष्टाचार भएको विषय यसअघि महालेखा परीक्षकको कार्यालयले समेत प्रश्न उठाएको योजना हो ।

महालेखा परीक्षकको ५९ औँ प्रतिवेदनले पशुपतिनाथमा जलहरी लगाउँदा अनियमितता भएको विषयमा प्रश्न उठाएको थियो । सोही विषयलाई लिएर माओवादीका सांसद दाहालले संसदमा प्रश्न उठाएका हुन् । संसद बैठकमा सांसद दाहालले एमाले अध्यक्ष केपी शर्मा ओली लक्षित गम्भीर आरोप लगाएपछि एमाले सांसदहरुले बेल घेरे । सो विषयमा शुक्रबार सत्ता पक्ष र प्रमुख प्रतिपक्ष दल एमालेबीच दोहोरी चल्यो ।

एमालले सांसद दाहालले माफि माग्नुपर्ने सम्मको माग राखे । सत्तापक्षको धारणा नआई संसद बैठक चल्न नदिने अडान लिए । जसले संसद दिनभर चल्न सकेन । सभामुख देवराज घिमिरेले एमाले सांसदलाई बसेर छलफल प्रक्रियामा भाग लिन आग्रह गरे, तर एमाले सांसदहरुले बसेनन्।

महालेखाले पशुपतिनाथ मन्दीरमा जलहरी लगाउँदा अनियमितता भएको भन्दै प्रश्न उठाएको थियो । २०७७ फागुन १२ गते प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले पशुपतिनाथमा ९६ किलोको जलहरी राखेका थियो ।

१०८ केजी सुनको जलहरी बनाउने निर्णय अनुसार काम भएको थियो। बाँकी १२ किलो सुन पछि थप्ने घोषणा गरियो। तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले जलहरी अनावरण गरिन्। तर पशुपति नाथमा सुनको जलहरी नराखिएको भन्दै विरोध भयो।

महालेखापरीक्षकको ५९औं वार्षिक प्रतिवेदन २०७९ मा ‘पशुपति शिवलिङ्गको गर्भगृहलाई पूर्ण रूपमा ढाक्ने गरी गरी राखिने सुनको जलहरी निर्माण कार्यका लागि नेपाल राष्ट्र बैंकबाट १०३ किलो ७७३ ग्राम सुन ८० करोड ११ हजारमा खरिद गरेको र विभिन्न शुद्धताको प्रतिशत रहेको सुनमा अन्य धातु र रसायनको मिश्रण तामा २ किलो ८९० ग्राम, चाँदी १ किलो २४९ ग्राम, जिंक १२.७५ ग्रामसमेत प्रयोग गरी १०७ किलो ९२४.७५ ग्राम सुन कायम भएको’ उल्लेख छ।

‘रिङ बनाउन प्रयोग भएको सुनको मूल्य रू. ७ करोड ८६ लाख ४६ हजार रहेको छ। जलहरी बनाएर बाँकी रहेको सो सुनको सम्पूर्ण परिमाण रिङ बनाउने कार्यमा प्रयोग भएको पुष्टि हुने विवरण पेस गरेको छैन,’ महालेखाको प्रतिवेदनमा भनिएको छ।