• मंसिर ११ २०८१, मंगलवार

विद्रोही इम्यानुअल बने डाइरेक्टर

जेष्ठ ८ २०८०, सोमबार

मेक्सिकोका इम्यानुअल फ्रुटस त्यहाँको विद्रोही संगठनमा आवद्ध हुँदा जीवनले कोल्टो फेर्ला भन्ने कहिल्यै पनि सोच्ने गरेका थिएनन् । तर भयो यस्तै ! उनी विद्रोहीबाट अनाथालयको डाइरेक्टर बन्न पुगे ।

जीवनको यो मोड निकै आश्चर्यको थियो । उनको जीवनमा भएको अनुभव र अनुभूतिको हिसाबले मात्र होइन । अरूका लागि पनि पठनीय भयो उनको जीवन अनुभूति !

उनी अहिले ‘लभ इन एक्सन चिल्ड्रन्स होम’ का डाइरेक्टर छन् । आज भन्दा ३३ वर्ष अघि जन्मिएका उनी एक ग्रामीण पास्चरका छोरा थिए । त्यहाँ पनि नेपालमा झैं बसाइ सराइ गर्ने चलन निकै छ ।

उनका बुवा मेक्सिकोको चपाला ताल नजिकै बसाइसराइ गरेपछि आठ दश वर्षका नानीहरूको जीवन यहाँ फक्रन सुरू भयो । इम्यानुअलको नयाँ जीवन यहीबाट सुरू भयो ।

आफ्ना चिने जानेका साथी र आफन्तहरू छाडेर नयाँ स्थानमा, नयाँ समाजमा, नयाँ छिमेकी र साथीहरू बनाउनु उनको नयाँ जीवनको सुरूआत थियो ।

उनका बाबु चपालास्थित चर्चमा काम गर्न गएपछि उनीहरूका लागि सामाजिक सम्बन्ध बनाउन निकै सजिलो भयो । समाजमा घुलमिलको वातावरण बन्यो ।

उनकी आमाले ‘बाल घर’ स्थापना गरिन् सन्, २००३ मा । यो नै पछि गएर ‘लभ इन एक्सन’ मा रूपान्तरण हुन गयो । यहाँ अनाथ बालबालिका हुर्कन र बढ्न थाले ।

आमाले सञ्चालनमा ल्याएको बाल गृह छिट्टै स्थापित हुन थाल्यो । ३० जना अनाथ बालबालिका हुर्कन थाले यसमा । अब त यो एक केन्द्रका रूपमा विकास हुन थालिसकेको थियो ।

छोराछोरीमा जेठो भएका कारण आमाको काममा सघाउनु उनको कर्तव्य हुन गयो । उनी त्यहाँ घण्टौं काममा व्यस्त हुन थाले । उनको सम्बन्ध र लोकप्रियतामा पनि वृद्धि हुन थाल्यो ।

अब उनी अरू मानिसका अनुभूति सुन्ने मात्र होइन, आफ्ना पनि सुनाउने अवस्थामा पुगिसके । उनी आफैले नयाँ कुराको खोजी गर्ने र त्यसको समाधान निकाल्ने गर्न थालिसके ।

सबैभन्दा ठूलो कुरा त उनी आफूले आफैलाई पढे । उनी आफू को हुन् भन्ने थाह पाएपछि उनका लागि आगामी दिन सहज र चासोयुक्त बन्दै गए । पहिलेका उनका विद्रोह र विद्रोही अभिव्यक्ति मात्र निराशा र आक्रोशका अभिव्यक्ति थिए ।

उनले आमाबाबासँग पनि अबका दिनमा आफूहरूले केही नयाँ गर्ने भनी अपेक्षाका हात फैलाए । उनी फेरि जन्मस्थान अमेरिकामा फर्काइए । त्यहाँ उनलाई पढ्नका लागि जबर्जस्त पठाइएको थियो ।

अमेरिका फर्केर गएपछि अबका दिनमा उनी आफ्नी आमाले सञ्चालनमा ल्याएको अनाथालयमा कहिल्यै पनि जोडिन पाउने छैनन् भन्ने लागेको थियो । समय हो, यसको गतिलाई कसले रोक्ने ? उनले स्कुले शिक्षा पनि सकिसके । यति बेला उनी १८ वर्षका भइसकेका थिए ।

उनले मेक्सिको नगएको भए के हुने थियो भनेर पनि सोच्न थाले । उनी एक अस्थिर मानिस झैं भइसकेका थिए । तर उउनका परिवारले उनलाई के भएको हो भन्न सक्ने स्थिति थिएन । उनमा आन्तरिक सोचमा परिवर्तन आउन थालिसकेको थियो ।

उनी फेरि नयाँ जीवनमा फर्कन चाहन्थे । यो चाहनालाई आमाको अनाथालयले ठूलो सहयोग गर्नपुग्यो । उनी अहिले त्यही संस्थाको डाइरेक्टर भएर काम गरिरहेका छन् ।

उनको जीवन एक विद्रोहीबाट डाइरेक्टरमा रूपान्तरण भएको छ ।