• मंसिर ११ २०८१, मंगलवार

पढाइमा रूची भएन, किन ?

जेष्ठ ६ २०८०, शनिबार

शैक्षिक स्तर र शैक्षिक भर्ना वर्षेनी खस्कँदै आएको छ । हाम्रा विद्यार्थी वर्गमा सकारात्मकभन्दा ज्यादा नकारात्मक पक्षको उपयोगमा जोड दिँदा आजको यो अवस्था आएको हो । आज हरेक कलेजको समस्या भनेकै विद्यार्थी संख्या कम रहनु हो । बल्लबल्ल कलेजमा आएका विद्यार्थी पनि स्नातक तहमा टिकाउन सकिएको छैन र सकिँदैन पनि ।

कारण बर्सेनि १२ कक्षा उत्तीर्ण गरेका जम्मा विद्यार्थीमध्ये ५० प्रतिशतको रोजाइ विदेश भएको विभिन्न अध्ययन प्रतिवेदनले देखाएको छ । यसको मूल कारण भनेको रोजगारीको अभाव नै हो । अर्को कारण नेपालमा सुन्दर भविष्य नदेखेर पनि त्यो संख्या बिदेसिन बाध्य भएको देखिन्छ । कक्षा एकमा भर्ना भएका विद्यार्थी संख्याबाट गणना गर्दा स्नातक तहको भर्नादर लगभग १५ प्रतिशत रहेको छ ।

कक्षा बाहमा कोभिडको दुई शैक्षिक सत्र ९५ प्रतिशतभन्दा ज्यादा विद्यार्थी पास भए । त्यस बखत सिकाइ उपलब्धीभन्दा पनि महामारीका कारण प्रमुख बन्यो । यो नेपालको मात्र समस्या भने होइन । यसकै परिणाम यस वर्ष स्नातक अध्ययन गर्ने अधिकांश विद्यार्थीको कलम सरासर चल्न सकेको छैन ।

विषय चाहे नेपाली होस् या अंग्रेजी अथवा अन्य सामाजिक विषय नै किन नहोस् सबैमा उस्तै कमजोर लेखाइ र पढाइ रहेको नमिठो वास्तविकता छँदै छ । आमविद्यार्थीमा निराशा छाउने अवस्था सिर्जना हुनुको कारण राजनीतिक अस्थिरता नै हो ।

राजनीति सबै नीतिको माउ नीति भएकाले हालको नकारात्मक र निराशाको यस परिदृश्य देखिएको हो । हरेक क्षेत्रमा सकारात्मक अनि प्रणालीको विकास गर्न मूल स्वच्छ रहनुपर्छ । त्यो भनेको राजनीतिको प्रभावले उच्च शिक्षामा जति असर परेको अन्य त्यति अन्य क्षेत्रमा रहेको देखिँदैन ।

नेपालको उच्च शिक्षामा रहेका यो विषम परिस्थितिको कारण भनेको स्पष्ट उद्देश्य उच्च शिक्षामा भएन । दाता राष्ट्रको चाहना मात्र ध्यान दियौं । उनीहरूको प्रयोग हाम्रो गौरव पो बन्दै आएको देखिन्छ । हाम्रो समग्र शिक्षामा जटिल समस्या भनेको विद्यार्थी टिकाइ राख्न नसक्नुबनेको छ । यो वास्तविकता मनन् गरेर अगाडि बढ्न नसक्दा थप समस्याको सामना गर्न हामी विवश भएका छौं ।

हरेक वर्ष शिक्षाको विकासमा करोडौं बजेट पनि खर्च भइरहेको छ तर त्यो लगानी बालुवामा पानी झैं बनेकाले चिन्ता र चासोका साथ यस क्षेत्रको प्रभावकारी सुधार नगरी धरै छैन । हामीले स्वदेशमा आवश्यक रहेको जनशक्ति उत्पादनमा ध्यान दिन नसक्दा आमयुवा जनशक्ति रोजगारी विदेश जान बाध्य छन् ।

रोजगारी सिर्जना गर्ने क्षेत्र दर्जनौं रहेका छन् । दृष्टान्तका लागि बाइक मर्मत, मोबाइल, विद्युतीय क्षेत्रमा रहेका ग्रिल, रेलिङलगायतका रहेका छन् । जहाँ हजारौं भारतीय श्रमिकले सहजरूपमा आम्दानी गरिरहेका छन् ।

नेपालीमा जटिल समस्याका रूपमा रहेको नकारात्मक पक्ष स्वदेशमा साना र मनग्गे आयआर्जन गर्न सकिने काम गर्न लाज मान्ने जुन सोच रहेको छ । त्यो पनि विकास र स्वदेशको कामलाई कम आक्ने गलत प्रवृत्ति हो । नेपाल विकासमा पछाडि रहन जानुको अर्को कारण हो श्रमलाई सम्मान गर्न नजानेको वा गर्न नसक्नु नै रहेको देखिन्छ ।

यहाँ उच्च शिक्षाको सन्दर्भलाई जोड दिँदै भावी दिनमा कसरी यो क्षेत्रमा बढीभन्दा बढी विद्यार्थी आकर्षण गर्न सकिन्छ भन्ने विषय उठान गरिएकाले त्यतै केन्द्रित भएर वर्णन गर्दा राज्यले माग र माटो सुहाउँदो शिक्षा नीति र शिक्षाको स्पष्ट उद्देश्य निर्धारण गर्न सक्नुपर्छ । तब मात्र शिक्षामा केही मात्रामा भने पनि सकारात्मक नतिजा देख्न सकिन्छ ।

नेपालको कमजोरी भनेको राजनीतिक आढ र लहडमा विश्वविद्यालय स्थापना गर्ने परिपाटी पनि रहेको प्रस्टरूपले देखिन्छ । दक्ष र सबल प्राध्यापकले उच्च शिक्षाको उच्च तहमा नेतृत्व रहने वातावरण निर्माण गर्न हामी पटक पटक चुकेका छौं ।

शिक्षामा रहेको अर्को गलत र समस्या परामर्शका नाममा विदेशमा सक्षम जनशक्ति, निर्यात गर्ने कन्सल्टेन्सी पनि उत्तिकै जिम्मेवार रहेका छन् । अझ यसलाई अर्को शब्दमा भन्ने हो भने सफा मानव तस्करी समेतले चिनाउने गरिन्छ । हालै मात्र सरकारले विदेश जान लिइने नो अब्जेक्सन लेटरमा पनि कडाइ गर्न साथीको समेत कागजात र सहमतिको आवश्यकता पर्ने प्रावधान बढाएको छ ।

नेपालबाट विदेश जानका लागि एक जना विद्यार्थीबाट सरदर ३० लाख मात्र भए पनि महिनामा ५०० जना मात्र नेपाली विदेश अध्ययन गर्न गए पनि मासिक ६ अर्ब नेपाली रकम विदेशमा जान्छ ।

यसै सन्दर्भमा बताउँदा यस आर्थिक वर्षको पछिल्लो तथ्यांक हेर्ने हो भने चालू आवको पहिलो सात महिनामा विदेश जाने विद्यार्थीले ४३ अर्ब ७४ करोड बाहिर लगेका छन् । हाम्रो देशको विश्वविद्यालयले प्रदान गर्ने शिक्षाको गुणस्तर कमजोर भएका कारणवारे विविध चर्चा पनि नभएका होइन ।

त्यो मात्र कारण नभई अध्ययनको समय पनि झन्डै दोब्बर लाग्ने गरेकाले थप समस्या उच्च शिक्षामा देखिएको छ । चार वर्षमा सकिने कोर्श पूरा गर्न सात वर्ष लाग्नु कत्तिको जायज र विश्वसनीय विषय हो ।

हामीमा रहेको प्रमुख समस्या अर्को पनि छ त्यो के हो ? भने प्राध्यापकलाई अद्यावधिक बनाउन नसक्नु । आजका आमप्राध्यापक समयको मागलाई समात्न सक्ने सबल र प्रविधिमा अभ्यस्त बन्न सक्नुपर्छ । जसले उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी आकर्षित गर्न सहज वातावरण निर्माण हुन्छ । त्रिविविमा रहेने गरेका वार्षिक क्यालेन्डर व्यवहारमा कार्यान्वयन नभएर पनि धेरै हदसम्म समस्या सिर्जना गराएको छ ।

हाम्रो उच्च शिक्षामा अनेकौं समस्याको खात नै रहेको छ । अर्को जटिल समस्याका रूपमा रहेको देखिएको छ कि विदेशमा पढाइ समापन गरेर दक्ष बनेर नवीन जाँगरकासाथ नेपालमा आएको हुन्छ । उसले उच्च शिक्षा अध्यापन गरेर सेवा गरेर र रोजगार बन्न खोज्छन् तर यहाँको प्रक्रिया र परिपाटीका कारण त्रिविविमा प्राध्यापन गर्न प्रवेश नै पाउन सक्दैन । यसलाई विडम्बना नै मान्नुपर्छ ।