युरोप सम्भ्रान्त भइसकेको थियो । कुरो सन् १९२५ तिरको हो । भिक्टर लस्टिङले पेरिसमा बिगबिगी मच्चाइरहेका थिए ।
एक दिन लस्टिङ पेरिसको एउटा तारे होटलको सुविधासम्पन्न कोठामा बसिरहेका थिए । उनले चियाको चुस्की लिँदै ऐफल टावरको बारेमा लेखिएको एउटा समाचार पत्र पढिरहेका थिए ।
समाचारमा लेखिएको थियो, ‘टावरमा प्रयोग गरिएका फलाम तथा स्पातका सबै सामान खिया लागेका र मक्किइसकेका छन् । यी सायद काम नलाग्ने भएका छन् । यसको मर्मत फ्रान्सको सरकारले गर्न सक्दैन ।’
त्यसमा थप लेखिएको थियो, ‘पैसा खर्च गर्न सरकार तयार छैन, यसको मर्मत गर्न पनि लगभग निर्माण गरे जत्तिकै लाग्छ ।’ लस्टिङले उक्त समाचार दोहर्याइ तेहर्याइ पढे ।
उक्त समाचारको अन्त्यमा लेखिएको थियो, ‘उक्त टावर उचित मूल्यमा बिक्रि गर्नुको विकल्प छैन ।’ भिक्टरको आँखा त्यही एउटा वाक्यमा निकै बेर अडिए ।
अब भने भिक्टरको आँखा खुलेको जस्तो लाग्यो । उनले सोचे, ‘यो टावर बिक्रि गर्ने काम त म गर्न सक्छु ।’ तर एउटा समस्या आइपर्यो । यो टावरको स्वामित्व उनको हातमा थिएन ।
तथापि उनी निकै उत्साहित भए । यनले सोचे कि बुद्धि पुर्याउने हो भने यो काम सजिलैसँग गर्न सकिने छ । उनी यस्ता काममा निकै माहिर थिए । उनी ठगी गर्दा गर्दा महाठग बनिसकेका थिए ।
उनी ढाँटेर काम पट्याउन माहिर बनिसकेका थिए । आज ऐफल टावरको समाचारले उनलाई निकै प्रफुल्लित बनायो । उनीभित्र खुशीको सीमा थिएन ।
हंगेरीको सानो सहरभित्र एक गरीब परिवारमा जन्मिएका उनी सानैदेखि असहाय थिए । तर उनका बाबु भने त्यो सहरका मेयर पनि भइसकेका प्रतिष्ठित व्यक्ति थिए ।
युवाछँदा मेधावी छात्रका रूपमा उनी परिचित थिए । उनको ज्ञान किताबी भन्दा पनि जनसम्बन्धमा निकै गहिरो थियो । चासो पनि उत्तिकै ! छट्टु नम्बर एक !
कुनै मानिस देखेपछि उसको चरित्र बुझेर तुरन्त उसलाई प्रयोग गरिहाल्दथे लस्टिङ ! भाषा त यति छिटो जान्थे कि उनले बोलेको देखेर मातृभाषी पनि छक्क पर्दथे । उसले चेक, जर्मन, इटाली, अंग्रेजी र फ्रान्सेली भाषा निकै रहरलाग्दो गरी बोल्थे ।
उनले अरूमाथि दबाब दिदैनथे, तर प्रभाव पारिहाल्थे । भेट भएका मानिस उनका कुरामा शतप्रतिशत विश्वास गर्दथे । लस्टिङ जुवा पनि असाध्यै खेल्ने मानिस !
तासका ट्रिकहरू उनले यति धेरै जान्दथे कि नयाँ सिकारू त सबै उनका सिकार नै हुन्थे । मानिसहरू फसिहाल्थे उनका ट्रिकमा । उनलाई सबैले सुस्पष्ट बोल्ने र निकै पत्यारिलो कुरा गर्ने वार्ताकारका रूपमा पनि लिने गर्दथे ।
उनी सधैं एक नम्बरका जेन्टलम्यान ! पहिरन पनि उस्तै ! उनी दुवै गाला वरपर लामालामा कानजस्ता कपडा राखेर आफ्नो भेष बदलिरहन्थे ।
त्यतिबेलाको अमेरिका ! पैसाको अमेरिका ! त्यहाँका धनाढ्य पैसा पोको पारेर पेरिस घुम्न आउँथे । भिक्टर लस्टिङको पहिलो नजर यिनै माथि पर्दथ्यो । पहिलो सिकार पनि उनीहरू नै हुन्थे ।
पेरिसमा धनीमानीलाई जम्मा पारेर यही कला प्रयोग गरी आफूसँग रहेको पैसा छाप्ने मेसिन भन्दै नक्कली यन्त्रहरू बेच्न थाले । यी मेसिन त्यति बेलामा पनि २० हजार डलरदेखि ३० हजार डलरसम्म बिक्रि हुन थाले ।
उनले ती मेसिनभित्र डलर पहिल्यै राखेका हुन्थे । ती डलरहरू छापिएका झैं मेसिनबाट बाहिर आउँथे । अमेरिकी धनाढ्यहरू चकित पर्दथे । यी नोटहरू छापिन र प्रत्येक एउटा नोट बाकसबाट प्रिन्ट भएर निस्कन ६ घण्टा लाग्दथ्यो, त्यतिबेलासम्म धैर्य गरेर बस्नु पर्दथ्यो ।
यसै समयमा उनले ऐफल टावर बिक्रि गरिनु पर्ने समाचार भेट्याए । उनलाई स्वर्ग भटिए झैं लाग्यो । अब नयाँ नक्कली नोट छाप्ने मेसिनभन्दा यसमा बढी मुनाफा हुने उनले देखे ।
उनी सरकारी कागजपत्र दुरस्त बनाउने काममा लागिपरे । कागजपत्र तयार पारे पनि । त्यसपछि उनले पाँचवटा आफल सबैभन्दा ठूला स्टिल कम्पनीहरूलाई ऐफल टावर किन्नका लागि आमन्त्रण गरे । यी सबै काम पेरिसको सबैभन्दा महङ्गो क्रिलोन होटलमा भए ।
होटल क्रिलोन सरकारी औपचारिक भेटघाटको मुख्य थलोको रूपमा परिचित भयो । भेटघाटमा उनले ऐफल टावर बेचिनुको विस्तृत विवरण सुनाए । ती पाँच जना व्यापारीका बीचमा एकआपसमा प्रतिस्पर्धा र मनमुटाव बढाइदिए ।
ती मध्ये एकजना फसिहाल्यो । उसको मनोभाव यसरी समाए कि उसलाई यो टावर कुनै पनि हालतमा अरूको हातमा नजाओस् भन्ने सोचने बनाए । ती मानिस थिए, एण्ड्रे पोइजन ! उनी पेरिसमा जमेर बस्न चाहन्थे ।
यो काममा भिक्टर लस्टिङले भ्रष्ट कर्मचारीहरूको भरपूर सहारा लिए । उनीहरूबाट आवश्यक काजात लिएर यी सबै काम फत्ते गरे । ऐफल टावर बिक्रि भयो ।
यो काण्ड निकै आश्चर्यजनक रूपमा पेरिसमा चर्चित हुन गयो । सबैले लस्टिङको नाम कण्ठ गरे । उनको खोजी भयो र तर उनी कारवाहीबाट छिट्टै मुक्त भए ।
त्यस पछि पनि उनको गोरखधन्दा छुटेन । उनी झनै हौसिए । उनले केही समयपछि यसलाई फेरि पनि झुट्टा कागज बनाएर बेचे । ऐफल टावर दुईपटक बेचियो । ऐफल टावर बिक्रि गरिसकेपछि उनी फरार भए । भनिन्छ, लस्टिङ भागेर अमेरिका गइसकेका थिए ।