• मंसिर ११ २०८१, मंगलवार

तितेपातीबाट विरामीको उपचार पनि गर्दै, रोजगारी सिर्जना पनि गर्दै डा.बलामी

बैशाख १४ २०८०, बिहीबार

काठमाडौं । आयुर्वेद चिकित्सा प्रणाली एसिया महादेशको लोकप्रिय चिकित्सा प्रणाली हो । प्रकृतिमा पाइने प्राकृतिक जडिबुटीहरुबाट बनाइएको औषधिबाट मानिसको उपचार गर्ने पद्दती नै आयुर्वेद चिकित्सा प्रणाली हो ।

रामायण लगायतका कथाहरुमा भएका युद्धहरुमा घाइते भएकाहरुलाई उपचार गर्ने काममा पनि हामी जडिबुटीको अधिकमात्रामा प्रयोग भएको पाउँछौं । खासमा भन्नु पर्दा नेपालले यसको उपयोग गर्न सकेन । किन कि नेपाली शासकहरुले आयुर्वेदलाई भन्दा विदेशी एलोपेथिक उपचार पद्दतीलाई महत्व दिएका छन् । नत्र त नेपाल जडिबुटी र त्यसबाट उत्पादित औषधि बेचेरै अर्बपति भइसक्थ्यो ।

करीब सय वर्षअघिसम्म पनि एसियाली देशका समाजहरुमा विरामी पर्दा विभिन्न किसिमका जडिबुटीजन्य वनस्पतिहरुबाट बनाइएका विभिन्न औषधिहरुको प्रयोग गरेर विभिन्न किसिमका रोगहरु निको पार्ने गरिएको कुराहरु सुन्न पाइन्छ । र आजसम्म पनि नेपाली समाजमा यस्तै वनस्पतिहरुको प्रयोग गरेर विभिन्न रोगहरु निको पार्ने गरेको पाइन्छ ।

पछि पश्चिमा एलोपेथिक औषधिहरुमा यी र यस्तो जडिबुटीहरु प्रयोग गरेर औषधि बनाउन थालिएपछि र अंग्रेजी औषधिको अधिक प्रयोग हुन थालेपछि मात्र आयुर्वेदीय औषधिहरुको महत्व कम हुँदै गएको कुरा बुढापाकाहरु बताउने गर्दछन् ।

आजपनि नेपाली समाजका विभिन्न जातिका मानिसहरुले भरिएका स्थानहरुमा आआफ्नै तरिकाले विभिन्न जडिबुटीहरुबाट रोगहरुको निदान गरेको पाइन्छ । यस्तै हामीले खास वास्ता नगर्ने र औषधीय गुण चिन्न नसकेर खेर गइरहेको एक वनस्पति हो ‘तितेपाती’ ।

तर पछिल्लो चरणमा यसका औषधीय गुणहरु पत्ता लगाएर यसबाट फाइदा लिन थालिएको छ । नेपालका पहाडी बस्तीहरुका पाखा तथा जंगलहरुमा पाइने उही तितो स्वादमा पाइने बाख्रा र गाईहरुले खाने तितेपातीकै यसरी औषधि बन्छ भन्ने कुरा धेरैलाई थाहा नहुनसक्छ । तर यो कुरा सत्य हो ।

काठमाडौंको नागार्जुन नपाको सीतापाइलामा स्थानीय इश्वर बलामीले तितेपातीबाट बनाएको मोग्जा (भुवा)बाट बाथ, जिउ दुख्ने र विभिन्न किसिमका रोगहरुको उपचार गरिरहेका छन् । बलामी जापानबाट थेरापी पढेर आएका डाक्टर हुन् । करीब ५ वर्षदेखि उनले सीतापाइलामा संजीवनी नामको अस्पताल नै खोलेर विरामीहरुको सेवा गर्दै आएका छन् ।

साथै उनले नेपालका विभिन्न जिल्लाका किसानहरुले उत्पादन गरेर पठाएको तितेपातीको प्रशोधन गर्ने मेसिन पनि राखेका छन् । त्यसरी किसानहरुसित मगाएको तितेपातीलाई प्रशोधन गरेर बलामीले आफूले खपत गर्न सक्नेजति आफैले राख्ने गर्दछन् भने बाँकी मोग्जा (तितेपातीको भुवा, धुलो) भने उनले जापान निर्यात गर्दै आएका छन् ।

यसरी उनले किसानहरुलाई रोजगारी पनि दिएका छन् भने उत्पादित माल विदेश निर्यात गरेर विदेशी पैसा पनि कमाएका छन् । केही दिनअघि हामी त्यहाँ पुग्दा उनको अस्पतालमा थेरापी गर्ने विरामीहरु आएका देखिन्थे भने मोग्जा उत्पादन तथा प्रशोधन कम्पनीमा २ दर्जन जति महिला तथा पुरुषहरु काममा व्यवस्त देखिन्थे ।

एकातिर प्रशोधन गरेर मोग्जा निकाल्ने त अर्कोतिर मोग्जाको प्रयोग गरेर धुप बनाउने काममा महिला कामदारहरु व्यस्त थिए । त्यहाँ कार्यरत प्रकाश प्रधानले हामीलाई यसका बारेमा जानकारी दिए । उनका अनुसार यसको खेतीका लागि थोरै मात्रामा पानीको सुविधा चाहिन्छ । तितेपाती एकचोटी रोपेपछि सधैलाई हुन्छ । एकवर्षमा ४,५ चोटी काटेर बेच्न मिल्छ ।

२५ सेमीजति अग्लो भएपछि यसलाई काटिन्छ । तर यसका लागि गन्ध नआउने खालको तितेपाती चाहिन्छ । पातको मुनीतिर सेतो रेसा भएको तितेपाती चाहिन्छ । सेतो भागको मात्रा बढी हुो भएकोले बाख्रा र गाइले यसलाई खासै खान मन पराउँदैनन् ।

आफूलहरुले दाङ, इलाम, ताप्लेजुङ लगायतका जिल्लाबाट यस्तो खाले तितेपाती ल्याउने गरेको उनले बताए । तराईका जिल्लाहरुमा भने यो खाले तितेपाती पाइन्न । उनले किसानले उत्पादन गरेको तितेपाती किसानले नै ढुवानी गरेर ल्याएमा ८० रुपैयाँ केजी र आफूले ल्याउनु परेमा ६० रुपैयाँ केजीमा किनिदिने बताए । आफूले पनि यसको उत्पादन गर्ने र किनिदिनु पर्यो भनेर आउने किसानको संख्या अधिक रहेको उनको भनाई रहेको छ ।

सुरुमा किसानले ल्याएको सुकेको तितेपातीलाई थप ताप दिनका लागि हिटरको नजिक राखिन्छ । त्यसपछि अर्को मेसिनमा पिसेर धुलो बनाइन्छ । त्यसपछि अन्तिममा पिसेर मसिनो बनाइन्छ र तितेपाती धुलो पर्छ र नरम खाले भुवा बन्छ । त्यसैलाई कागजले बेरेर साना साना छडी जस्तै बनाइन्छ । त्यसैलाई डाक्टरले विरामीलाई थेरापी गर्नमा प्रयोग गर्दछन् । यसरी एकजना काठमाडौंबासी युवा जो जापान गएर पढेर आए र आफू पनि रोजगारयुक्त छन् भने २ दर्जनजतिलाई रोजगारी पनि दिन सफल भएका छन् ।

साथै उनले आफ्नै पहलमा बनाएको तितेपातीको धुलो जापान पठाएर जापानीहरुको विश्वास पनि जितेका छन् । नेपाल सरकारले पनि यसरी नै विदेशी औषधि उत्पादन कम्पनीहरुसित तितेपाती र यो जस्तै नेपालमा रहेका अन्य जडिबुटीजन्य वस्तुहरुको निर्यात गर्ने, जनतालाई रोजगारी दिन तथा विदेशी पैसा भित्र्याउने योजना बनाउन सकेका देशलाई धेरै फाइदा हुने थियो ।

तर विडम्बना ! नेपाली शासक तथा प्रशासकहरु भने भएका र चलिरहेका उद्योगहरु पनि कमिसनको चक्करमा अर्कैलाई सुम्पिएर बसेका छन् र नेपालीलाई चाहिने खाद्यवस्तु र लत्ताकपडाहरु विदेशबाटै ल्याएर गुजारा चलाइरहेका छन् । अझ त नेपालमै केही गर्न चाहने युवाशक्तिलाई पनि विभिन्न खाले झन्जटहरु भिराएर देशमा बस्ने वातावरण नै सिध्याइरहेका छन् ।

बरु स्वदेशमा काम गर्ने युवाहरुलाई विदेश पठाएर उनीहरुले कमाएर पठाएको रेमिट्यान्सबाट सरकार चलाइरहेका छन् । राज्यको यस्तो गलत काम कार्यवाहीबाट जनता सचेत हुन जरुरी छ । बेलैमा राज्यलाई गलत काम गर्नबाट रोक्नका लागि जागरुक हुन जरुरी भइसकेको छ । साथै स्थानीय स्तरमा हुने विभिन्न खाले उत्पादनहरुलाई सही तरिकाले बजारीकरण गर्न सरकारलाई दबाब दिन पनि जरुरी भइसकको छ ।