वैसाख १० गते अक्षय तृतीयको दिन आज । यसै दिनमा धरतीमा गङ्गा अवतरण भएर हराभरा, जीवनदायी र धनधानय बनाएकी थिइन् । पृथ्वी माताको दुखकष्ट हरण गरेकी थिइन् ।
धर्मशास्त्र अनुरूप पनि पृथ्वीको जन्म भएपछि यसले विभिन्न समस्या र अनिष्ट भोग्दै आएको छ । यसले भोगेका विभिन्न काल चक्रमध्ये अनावृष्टि वा पानी नहुनु पनि एक हो ।
कालचक्रका हिसावले यो सत्य युग, त्रेता र द्वापरपछि अनावृष्टिको समस्या बेहोरेको हो । हरेक कालचक्रको गणना धार्मिक शास्त्र अनुसार भिन्दाभिन्दै तिथिबाट गरिँदै आएको छ ।
सत्य युगको गणना कार्तिक शुक्ल नवमीका दिनदेखि गरिन्छ । व्यतित भइसकेको सत्ययुगको आयु १७ लाख २८ हजार मानिएको छ । यो कालखण्डका हिसाबले निकै लामो समय हो ।
त्यसै गरी बैशाख शुक्ल नवमीबाट त्रेतायुगको आयु गणना हुन्छ । यस युगको आयु सरदर १२ लाख ९६ हजार वर्ष मानिएको छ । यो युग राम–रावणको युग हो । यति बेला धनुषवाण र पुष्पक विमानको चर्चा छ ।
माघको पूर्णिमा देखि द्वापर युग सुरू भएको मानिन्छ । यसको आयु ८ लाख, ६४ हजार वर्ष मानिएको छ । यो महाभारत युद्धको युग हो । यस बेलामा फलामका औजार, अस्त्र तथा आणविक (ब्रह्मास्त्र, वारूणास्त्र आदि) अस्त्रको समेत चर्चा छ ।
भदौ कृष्ण त्रयोदशीदेखि कली युग सुरू भएको मानिन्छ । यसको आयु ४ लाख ३२ हजार वर्ष रहेको मानिदै आएको छ । अहिले चन्द्रमादेखि मंगल र सूर्यसम्मको खोज र अनुसन्धान जारी छ । आणविक अस्त्रदेखि जैविक अस्त्रसम्मको त्रासदीमा मनुष्य जीवन बाँचिरहेको छ ।
धर्मशास्त्रानुसार पृथ्वीको सृष्टि भएको १ अर्ब ९५ करोड ५८ लाख ८५ हजार १ सय २३ वर्ष भइसकेको छ । पछिल्लो काल कलीयुगको पनि ५ हजार १ सय २२ वर्ष समाप्त भइसकेको छ । शास्त्रअनुसार कलीयुगको मात्र ४ लाख २६ हजार ८ सय ७७ वर्ष समाप्त हुन बाँकी रहेको छ ।
यस्तो पृथ्वीमा जीवन सदा राखिरहनका लागि राजा भगीरथको तपस्याबाट गंगाजी यही अक्षय तृतीयाका दिन पृथ्वीमा झरेकी थिइन् र कालको मुखमा परेको पृथ्वी हराभरा र जीवन्त हुन पाएको थियो भनी शास्त्रमा उल्लेख गरिएको छ ।
पृथ्वीमा चाहिने जति अन्न र पानी भएपछि प्राणीको लागि यो नै सुयोग्य स्थान बन्न गयो । गर्मी मौसममा चिसो पानीको सर्वतले प्राणी मात्रको आँत रसाउँछ ।
गङ्गा पृथ्वीमा आएपछि सुरूमा जौंको खेती गरिएको थियो । तीलको खेती गरी अचारका लागि उपयोग गरिएको थियो । अहिले पनि जौं र तील उत्तिकै शुद्ध र उपयोगी मानिन्छ । जौं तीललाई औषधीय वनस्पतीका रूपमा पनि उपयोग गरिन्छ ।
आयुर्वेदमा उल्लेख गरिए अनुसार जौंको परिकारले कण्ठरोग, चर्मरोग, स्वास र कफ आदिलाई निको पार्छ । विवाहजस्तो शुभ मुहूर्तमा जौंको परिकार र जौं प्रयोग गरिन्छ । बैशाख महिनामा अन्न दान, जल दान आदि गरिन्छ ।
बैसाख अक्षय तृतियाका दिन सातु–सर्बत दान गरेर र आगन्तुकहरूलाई स्वागत गरिन्छ । यस मौसममा फल्ने जौको सातु पौष्टिकताले भरपूर हुन्छ । चैते महको सर्बतले प्यास मेटाई शीतलता प्रदान गरिनछ । जौंको सातुमा मह मिसाएर खाइन्छ ।
यो पर्वमा छोरी जुवाइलाई थैलाभरि जौंको सातु र घडाभरि महको सर्वत बनाएर दान गरिन्छ ।