भोजन आवश्यकताभन्दा पनि बानी हो । यसलाई बदल्न समय लाग्छ । अप्ठेरो हुन्छ तर असम्भव छैन । मांसहारी भोजनले प्राकृतिक स्रोतको व्यापक दुरुपयोग गरेको, पर्यावरणको क्षति र ग्रिनहाउस असरलाई पनि तीव्र पारेको छ ।
अमेरिकाले उत्पादन गर्ने मकैको ९१ प्रतिशत, सोयाको ७७ प्रतिशत र जौको ६४ प्रतिशत खानेकुरा मासु खाने उद्देश्यले मात्रै पालिएका जनावरलाई खुवाइन्छ । यो खाद्यान्न सोझै मनुष्यलाई दिए संसारको भोकमरी तुरुन्तै समाप्त हुनसक्छ होला ।
एफएओको अध्ययनमा १४ देखि २१ प्रतिशत ग्रिनहाउस असरका ग्यासहरू मासु उत्पादन प्रक्रियाबाटै पैदा हुन्छन् । आलु १ पाउन्ड उत्पादन गर्न २ सय ८ लिटर पानी आवश्यक हुन्छ भने १ पाउन्ड बिफ वा गाईको मासुका लागि ४० हजार लिटर पानी खर्चिनुपर्छ ।
अमेरिकीहरूले आफ्नो भोजनबाट मांसहारी १० प्रतिशतले मात्र घटाए भने १० करोड भोका व्यक्तिलाई पर्याप्त शाकाहारी भोजन दिन सकिन्छ । मांसहारीबाट भइरहेका अन्य पर्यावरणीय क्षतिका आँकडा झनै डरलाग्दा छन् ।
शाकाहारी भोजनमा रहने भोजन तत्वहरू, फाइब्रर, सेलुलोजको प्रचुरताका कारण भोजन नलीभित्र व्यवस्थित रूपमा हलचल हुँदा भोजन नलीले ठीक प्रकारले काम गर्छ र क्यान्सरको सम्भावना कम हुन्छ ।
त्यसैगरी कब्जियत, कोलाइटिस, हर्नियाजस्ता रोग लाग्न पाउँदैन । हृदयसम्बन्धी रोगसमेत रोकथाम हुन जान्छ । मासुमा हुने चिल्लो पदार्थ खाँदा रक्त प्रवाह बन्द भएर हृदयाघात वा हृदयसम्बन्धी रोग लाग्ने गर्छ ।
त्यसैले कम खानु, समयअनुसार खानु र बारम्बार नखानु राम्रो हुन्छ । शाकाहारी भोजनले दीर्घायु दिन्छ र पर्यावरण पनि राम्रो हुन्छ । जलवायु परिवर्तनका थुप्रै कारक तथा न्यूनीकरणका उपाय भए पनि माछामासुको चर्चामा व्यक्तिगत रूपमा हामी सबैले आफ्नो खाद्य रोजाइमा परिवर्तन गरी जलवायु परिवर्तन तथा बढ्दो तापक्रम नियन्त्रणमा सहयोग गर्न सकिने र स्वस्थ रहने तथ्यले देखाउँछ ।
मानव स्वास्थ्यसँग पनि जलवायु परिवर्तनको सम्बन्ध छ । मानिसमा लाग्ने रोग र संसारभर बढ्दो तापक्रमबीच कयौं कोणबाट सम्बन्ध छ । मुटुजन्य रोग, क्यान्सर, सरूवा रोगहरू इन्फ्लुएन्जा, साल्मोनेलाको संक्रमणजस्ता थुप्रै रोग जलवायु परिवर्तनबाट प्रत्यक्ष प्रभावित छन् भने अप्रत्यक्ष रूपमा दुर्घटना, तनाव, आत्महत्या, भोकमरी, कुपोषण आदि पर्छन् ।
यसै अन्तरसम्बन्धलाई गहिराइसम्म बुझेर विश्व स्वास्थ्य संगठनलगायत विभिन्न देशले आफ्नो नीति र संरचनामा परिवर्तन ल्याएका छन् । मुटुजन्य रोग र क्यान्सरबाट जोगिन तथा सम्भावना घटाउन कदम चालियो भने रातो मासुको उपभोग घट्छ, जसले जलवायु परिवर्तनको खतरा घटाउँछ ।
पृथ्वीमा कुल हरितगृह ग्याँस उत्सर्जनमा गाईबस्तुको भूमिका १८ प्रतिशत छ । विश्व क्यान्सर अनुसन्धान कोषको सुझावमा पनि सातामा बढीमा आधा किलो रातो मासु खाई खपतदर घटाएर क्यान्सरलगायतका रोगबाट बच्न सकिन्छ तथा बढ्दो तापक्रम नियन्त्रणमा योगदान पु–याउन सकिन्छ ।
मासु खाँदा मात्र नभई गाईबस्तु जन्मेदेखि मरेपछिसम्म तिनीहरूको आहारा, पालनपोषण, मलमुत्र, मासु तथा अन्य अवशेषको विसर्जनबाट धेरै मात्रामा हरितगृह ग्याँस निस्कन्छ । जिउँदा गाईबस्तुको ढुवानी र मासुको वितरण प्रणालीबाट समेत वायुमण्डलमा कार्बनडाइअक्साइड ग्याँस वृद्धि हुन्छ । स्वस्थ्यवर्द्धक, वातावरणमैत्री र धार्मिक भावनाका कारण दिन प्रतिदिन हत्या, बली र मासु सेवन त्यागी शाकाहारी बन्नेक्रम बढ्दो छ ।
जनस्वास्थ्यमा असर पारी गर्मीमा हुने मृत्युदरमा वृद्धि, उच्च ठाउँमा पनि लामखुट्टे तथा त्यसका कारण औलोको प्रभाव, पानीबाट उत्पन्न हुने र सरुवा रोग बढ्ने, शीत प्रदेशीयमा ठण्डीबाट हुने मृत्युदरमा कमी, पानीको मात्रामा कमी भई अकासे पानीमा भर पर्नेबेला आएको छ ।
हालै प्रकाशित विश्व बैंकको प्रतिवेदनमा दक्षिण एसियाली देशहरूमा जनघनत्व र गरिबी बढिरहँदा जलवायु परिवर्तनका कारण २ डिग्री सेन्टिग्रेड तापक्रम बढी कुल गार्हस्थ उत्पादनमा ४ देखि ५ प्रतिशतले कमी हुनेछ ।
त्यसो त खाद्य ऐन, नियमावली आएका छन् । समयक्रमसँगै संशोधन भएका छन् तर प्रभावकारी कार्यान्वयन कहिल्यै भएको छैन । अहिलेसम्म कसैले जेल सजाय पाएको अभिलेख छैन । खाद्य मिसावट यति भयानक छ कि सरकारले यो ऐन प्रभावकारी ढंगले कार्यान्वयन गर्दा सजाय दिन नेपालका जेलमा खुट्टा टेक्ने ठाउँ पनि पुग्दैन होला !