• मंसिर ११ २०८१, मंगलवार

श्रीस्वस्थानी व्रत कथामा समेटिएका विषयहरु

बैशाख १ २०८०, शुक्रबार

हरेक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमामासम्म एक महिनाभरि माता स्वस्थानीको व्रत बस्ने र माघ स्नान गरिन्छ । उपत्यका तथा पहाडी भेगमा स्वस्थानी देवीका व्रत, उपासना गरि कथा वाचन गर्ने परम्परा चलिआएको छ । कथा अनुसार नेपालका पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरि एक भक्त रही एक चित्र गरि शुद्ध वस्त्र पहिरिएर स्वस्थानी व्रत र माघ स्नानको छ शुरू गरिन्छ ।

नित्य मध्यान्हकालमा महादेवको पूजा गरिन्छ बेलुकी र साँझ स्कन्द पुराणको केदारखण्ड अन्तर्गत स्वस्थानी व्रत कथा सुन्ने र सुनाउने परम्परा छ । स्वस्थानीको किताब हरेक घरमा हुनुपर्छ भन्ने लोक विश्वास छ । जसले घर परिवारमा स्वास्थ्य लाभ भई धन सम्पत्तिले परिपूर्ण रहने विश्वास गरिन्छ । वास्तवमा हरेक वर्ष श्रीस्वस्थानीको कथा वाचनले नेपाली समाजमा पठन संस्कृति र केही हदसमय साक्षरतामा ठूलो उपलब्धि भएको देखिन्छ ।

स्वस्थानी व्रत कथा बारे हरेक वर्ष विभिन्न बहसका साथै निकै चर्चा हुने गर्दछ । यो कथालाई कसैले नारी अधिकारको कुरा उठाएर आलोचना पनि नगरिएको होइ तर पनि तत्कालीन समयको समाजसँगको स्पष्ट चित्रित गरिएको देखिन्छ ।

स्वस्थानी व्रत कथा बारे हालसम्म विदेशी दुई नागरिकले विद्यावारिधि गरेका छन् । युनिभर्सिटी अफ विस्कन्सिन मेडिसनबाट लिण्डा लुइस ईलटिसले ‘स्वस्थानी व्रत : नेपालमा नेवाः महिला र संस्कार’ विषयमा सन् १९८५ मा विद्यावारिधि गरेका छन् भने त्यसको ठीक २५ वर्ष पछि जेस्सिका वान्याइन बर्डन्होलजले सिकागो यूनिभर्सिटीबाट ‘स्वस्थानी व्रतकथा परम्पराः नेपालका हिन्दुहरूमा स्वयंको, स्थानको पहिचानको परिवर्तन’ विषयमा विद्यावारिधि गरेका छन् ।

आज हामीले मान्दै र पूज्दै आएका विषयवस्तुहरू पनि अन्तराष्ट्रिय चासो र विषय बन्ने मात्र होइन विद्यावारिधिको महत्वपूणर् विषय बनेका छन् । विदेशी नागरिकबाट विद्यावारिधि गरिएतापनि हामी यसतर्फ पुरानै परम्परामा चलिरहेको र प्रत्येक वर्ष उठिरहेका विषयमा हाम्रा विश्व विद्यालय किन छन् ? हामीलाई आश्चार्य लाग्नु स्वाभाविक हो ।

जेस्सिकाले गरेको विद्यावारिधिको थेसिसलाई हाल पुस्तकको रूपमा  प्रकाशित गरिएको छ । जेस्सिकाले नेपालका तराईका जिल्लाहरूमा मनाइने जितिया, छठ, तीज, विवाह पञ्चमी आदि बारे पनि अध्ययन गरेकी छिन् । उनको भनाई अनुसार ‘मैले स्वस्थानी व्रतलाई अन्य चाडपर्व र व्रतहरूको तुलनामा अति उत्कृष्ट र कठिन व्रतका रूपमा पाएकी छु । यो व्रत पूजा दक्षिण एशियाकै उत्कृष्ट व्रत पूजा हो ।’ भनेकी छिन् ।

ने सं ६९३ मा हस्त लिखित स्वस्थानी नै हालसम्म प्राप्त स्वस्थानी मध्ये पुरानो मानिन्छ । जसमा पूजाका विधिहरू २ दिन र १ रातको मात्रै वणर्न गरिएको छ । त्यसपछि नेसं ७२३ को स्वस्थानी पुस्तकमा एक महिनाको व्रत पूजाको वणर्न गरिएको पाइएको छ । स्वस्थानी व्रत कथा कति पुरानो छ भने कुरा विद्वानहरूबीच पनि एक मत छैन ।

शुरुमा नेवारी भाषामा लेखिएको र पछि नेपालीकरण भएको देखिएको छ । यस कथाका घटनाहरू अधिकांश काठमाडौँ उपत्यकाको साँखुमा घटेको देखिएता पनि यस बारे एकिन हुन सकेको छैन । किन कि स्वस्थानी र माधवनारायण व्रत पूजा जोडिएको जस्तो देखिन्छ तर माधवनारायण र विष्णु एउटै भनिएकोले यस्तो देखिएता पनि स्वस्थानी कथा र माधवनारायण कथा फरक भएको देखिन्छ । माधव नारायण व्रत साँखुमा मात्र नभई भक्तपुर, खोकना र नालामा पनि रहेको देखिन्छ ।

भक्तपुरका राजा जगतप्रकाश मल्ल, जसलाई नेपाल भाषामा कवि जगच्चन्द्र नामले चिनिन्छ । उहाँले नाला लगायत १५ स्थानको करिब १५ वटा गीत रचना गरिएको पाइन्छ । ने.सं ७८२ मा रचिएको उक्त गीतमा ‘जगत चन्दया गुपण नालाय नरवान स्वस्थानी धरम दाङा सुयिव सथान’ भनेर लेखेको पाइन्छ । यसबाट पनि साँखुमा भन्दा पहिले नै स्वस्थानी व्रत नालामा भएको देखिन्छ ।

यसैगरि राम्रो रचना मीठो नेपाली व्याकरणका लेखक कृष्णप्रसाद पराजुलीको पूर्व एक नम्बर पुस्तकमा ‘बहुडोलमा ऐतिहासिक इट्टाका जग भेटिन्छन् । यही (बुडोल) वणर्पुर थियो, गोमा यहिँकी अग्नि स्वामीको छोरी थिइन् । र लावन्य देश (साँखु)का राजा हुने उनका पुत्र नवराज साँगा विकटेश्वरस्थानका थिए, अनि उनकी रानी चन्द्रावतीको माइती नालामाथि थियो भन्ने कुरा पनि आउँछ ।’

यसबाट के देखिन्छ भने स्वस्थानीका कथाहरू साँखु, नाला, भक्तपुर, श्रीखण्डपुर, बनेपा, पनौती र साँगा वरपर घरेका घटनाहरु नै हुनुपर्ने देखिन्छ । (पूर्व एकनम्बर, कृष्णप्रसाद पराजुली, पेज नं. ६१) नेपालबाट फैलिएको स्वस्थानी व्रत कथा हाल उपत्यकामा मात्र सिमित नरही विदेशमा समेत फैलिरहेको छ । भारतका विभिन्न स्थान, थाइल्याण्ड, फिजी आदी नेपाली जहाँ जहाँ पुगे त्यहाँ त्यहाँ यो कथा फैलिने क्रम जारी छ । सन् १८७० देखि १९९० सम्म बीस वर्ष लगाएर नेपाल जर्मन पाण्डुलिपि संरक्षण योजना पुरा गरिएको थियो । यो योजना अन्तरगत ६२६ वटा स्वस्थानीका छविचित्रमा तयार पारिएका छन् । ती सबै राष्ट्रिय अभिलेखालयमा सुरक्षित छन् ।

नेपाली साहित्यका इतिहासकार शरदचन्द्र शर्माले ‘स्वस्थानी’ शब्द ‘स्वस्थानीय’बाट विकसित भएको परिकल्पना गर्नु भएको छ । स्वस्थानीमा संस्कृत, नेवारी र नेपाली भाषाका प्राचीनतम प्रयोग गरिएबाट ‘स्वस्थान परमेश्वरी’ बाट ‘स्वस्थानी’ छोटो रुपमा बनेको भन्ने नेपालका विद्धानहरूको तर्क रहेको छ ।

वास्तवमा स्वस्थानी व्रत बस्ने स्थान हाल साँखुमा रहेको छ । यो परम्परा करीब दुई सय वर्ष अगाडीदेखि पनि आइरहेको छ । आज भन्दा तीन सय पचास वर्ष अगाडी काभ्रेको नालामा यो परम्परा रहेको कुरा मल्ल राजा जगतप्रकाशको गीतले पनि पुष्टि गर्दछ । हालको स्वस्थानी समाप्तीमा ‘इति श्रीस्कन्द पुराणे कदारखण्डे’ भनियतापनि यो कथा स्कन्द पुराणको मात्रै नरही विभिन्न पुराणहरू र स्थानीय साँखु, नाला, श्रीखण्डपुर, बनेपा, पनौती र साँगा भेगका कथा पनि समावेश भरिएको देखिन्छ ।

काभ्रेका घर घरमा नेवारी हस्तलिखित स्वस्थानी व्रत कथाहरू छन् । तिनीहरूको पूरा अध्ययन हुन सकेको छैन । कतिपयका अक्षरहरु पढ्न नसकेर खोला बगाएका पनि छन् । राष्ट्रिय संग्रहालयमा माइक्रोफिल्म तयार पारिएका स्वस्थानीहरुमध्ये पुरानो क्रममा नालाबाट प्राप्त स्वस्थानी आठौं नम्बरमा पर्छ । जम्मा ६२६ वटामध्ये नेसं ८८२ अथवा विक्रम सम्वत १८१८ को र ने सं ९०९ अथवा विक्रम सम्बत १८४६ को बनेपाको स्वस्थानीहरुको माइक्रोफिल्ममा सुरक्षित छन् । कतिपय काभ्रेका स्वस्थानीहरूलाई आधुनिक प्रिंटिड प्रेसमा पनि छापिएका छन् ।

नेपाल सम्बत ९७८ अथवा विक्रम सम्बत १९१५ श्रावण सुदि १५ रोज ३ ऋषि तर्पणीको दिनमा चौकोट निवासी रामचन्द्र र उहाँका छोरा सनमानसिंह (राजवंशी) बाबु र छोरा मिलेर लेखिएको स्वस्थानीलाई कृष्णलाल राजवंशी, ले विसं २०७० साल भाद्र ५ बुधबार ऋषि तर्पणी जनैपूर्णीमाको दिन केही सम्पादन गरी प्रकाशित गरेका छन् ।

पुरानै भाषा शैलीमा, पुरानै कथावस्तुमा देवनागरिक लिपिको नेवारी भाषामा प्रकाशन गरेका छन् । यसरी पनि पुराना आफ्ना पुर्खाले लेखेका आफ्नै बौद्धिक सम्पत्तिलाई सुरक्षित गर्न सकिन्छ । त्यसैगरी बनेपा निवासी वणर्बज्र बज्राचार्यले पनि पुराना स्वस्थानीलाई देवनागरी लिपि नेवारी भाषामा आधुनिक कागज पुरानै आकार प्रकारमा नेसं ११०४ मा प्रकाशन गरी बिक्री वितरण गर्दै दुई तिन संस्करण समेत प्रकाशित गरेका छन् ।

हाम्रा पुर्खाहरुले आफ्नै सन्तान कतिको शिक्षित भयो भनेर जाँच्ने तरिकामध्ये पुराना ग्रन्थहरूलाई सारेर लेखाउने, आफ्नो कुनै व्यवसाय नाफामा जाँदा धर्म प्राप्तिका लागि धार्मिक ग्रन्थ लेखाउने, आफ्नो मनोआकांक्षा पुरा गरे पछि धार्मिक ग्रन्थहरु घरमा गुरू पुरोहित बोलाएर महिनौ लेखाउने गरिन्छ । यस्तो कार्यका लागि नाला (हाल बनेपा-४) प्रख्यात रहेको देखिन्छ । यस्ता धार्मिक ग्रन्थ मात्र होइन तान्त्रिक ग्रन्थहरु पनि प्रसस्त नालामा रहेको कुरा वरपरका गाउँहरूले भन्ने गर्दै आएका ‘पाँच सय नाला, सात सय बोक्सी’ भन्ने उखानबाट पनि पुष्टी हुन्छ ।

जे होस् पुरानदेखि स्थानीय कथावस्तु समेत समेटिएको स्वस्थानी व्रत कथा नेपाली माटोमा उत्पत्ति भई हाल सबैतिर फैलिरहेको छ । यसको बारे सत्य तथ्य प्रकासश पार्न अझै काभ्रेका सात बस्तीहरुमा गई हस्तलिखित ग्रन्थहरू विशेष अध्ययन अनुसन्धान गर्नु आजको आवश्यकता हो ।

यसले यसक्षेत्रको गर्भमा रहेका इतिहासका पानाहरुलाई सबैसामू सत्यतथ्य प्रकाश पार्दछ । यसक्षेत्र भनेको काठमाडौँ उपत्यकाको सभ्यता विकास हुनु भन्दा पहिलेको सभ्यता विकसित भएको इतिहासकारहरूले अनुमान गर्दै आएका छन् । हामीले यसलाई पुष्टि गर्नु पर्दछ ।