‘थ्योरी अफ इभोल्युशन’का प्रतिपादक वैज्ञानिक चाल्र्स डार्विन चराहरूको खोजी गर्दै गलापागोस पुगेका थिए, सेप्टेम्वर १८३७ मा । उनी त्यहाँ ‘एचएमएस बिगल’ नामको सानो जहाजमा सवार गर्दै र घुम्दै गर्ने क्रममा पुगेका थिए ।
त्यति बेला डार्विन मात्र २२ वर्षका थिए । बेलायतको प्लिमथ सहरबाट यात्रामा निस्किएका उनी तीन वर्षपछि इक्वेडरको गलापागोस पुगेपछि संसारमा मानवजातिको इतिहास अर्कै लेखियो । संसार नै बदलियो, सोच नै बदलियो ।
उनले त्यहाँ रहेका चरा र सरिसृपका बारेमा अध्ययन गरे । यसले संसारमा नयाँ खोज र अनुसन्धानको सिलसिला सुरू मात्र गरेन बरू पृथ्वी र समग्र प्राणीका बारेमा नयाँ किसिमले सोचिनु पर्ने वस्तुवादी आधार तयार पार्यो ।
उनले त्यहाँको अध्ययनबाट ‘क्रमिक विकास’ र ‘प्राकृतिक छनोट’को सिद्धान्त प्रतिपादन गरे । क्रमिक विकास र र प्राकृतिक छनोटको प्रक्रियालाई आफ्नै आँखाले देखे र लेखे पनि ।
अहिले पनि डार्विनले अध्ययन गरेका फिन्च प्रजातिका चरा गलापागोसका सानक्रिस्टोबल र फ्लोरियाना टापुमा प्रशस्तै छन् । ती चरालाई पर्सी लो नाम गरेका वैज्ञानिकले ‘डार्विन फिन्च’ उपमा दिएका छन् । पछि डेभिड ल्याकले यो नाम संसारभर फैलाए ।
नेपालमा यस्ता फिन्च प्रजातिका चरालाई ‘तितु’ भनिने गरिएको छ । यी उत्तर तथा दक्षिण अमेरिकामा भने हुलका हुल पाइन्छन् । डार्विनको चासो थियो, यी चराहरू कसरी विकसित हुँदै आए । उनले यी चराका चुच्चा र खुट्टाका नङ्ग्रा तथा प्वाँखमा आफ्ना आँखा लगाएका थिए ।
प्रकृति र प्रकृति निर्मित वातावरणमा यी चरा कसरी सङ्घर्ष गर्दै बाँचिरहेका छन् । अनि उक्त सङ्घर्षका कारण ती चराका पुस्ताहरूमा के कति फरक आएका छन् । उनको चासो र अध्ययन यसैमा केन्द्रित थियो ।
बदलिँदो परिस्थिति र आहार विहारका कारण यी चराहरूको चुच्चोमा विविधता देखा परेको थियो । चुच्चोमा आएको परिवर्तनका कारण यिनीहरू सोही प्रजातिका विविध शाखामा बाँडिँदै जान थालेका थिए ।
यसबाट उनले ‘ओरिजिन अफ त स्पिसिज बाइ न्याचुरल सेलेक्सन’ बारे केही महत्वपूर्ण रहस्योद्घाटन गरे । उनले मानिसले चरा पालेर कसरी परेवा बनाए भन्ने रोचक तथ्य सार्वजनिक गरे । उनी प्राकृतिक छनोटको प्रक्रियाबाट जीवहरूको विकास भएको हुनुपर्ने निष्कर्षमा पुग्न थाले ।
गलापागोसमा हाल रहेका अहिले १३ प्रजातिका डार्विन्स फिन्चहरू छन् । ती चरा अर्कै प्रजातिका चराबाट करिब २०–३० लाख वर्षअगाडि त्यहाँ आएका र हाल फिन्च प्रजातिमा आफ्ना पुर्खाबाट विकास भएका हुन् ।
चुच्चोको आकारमा आएको भिन्नताका कारण यी चराहरू विविध प्रजातिमा विकास भएका होइनन् । बरू प्रकृतिले आहारा र वातावरणका कारण कसैको चुच्चो ठूलो, कसैको सानो र अरू कसैको तिखो बनाइदिएको हो ।
अहिले त वैश्विक तापमान वृद्धिका कारण उत्तरी ध्रुवमा बस्दै आएका पेन्गुइन गलापागोसमा आइपुगेका छन् । यति बेला डार्विन जीवितै रहेको भए उनले आफ्नो अध्ययनमा यसलाई चासोका साथ समावेश गर्ने थिए ।
यी पेन्गुइन अबका केही सय वर्षहरूमा हाल ग्लेसियरसँगै बगेर आएका पेन्गुइन प्रजातिमा रहिरहने छैनन् । आहाराको प्रकृति र वातावरणका कारण यी पेन्गुइन अरू प्रजातिका चरामा विकसित हुँदै जाने छन् ।
सायद हिँड्ने र पौडने पेन्गुइनका केही शाखा अबका दिनमा उड्ने चरामा पनि परिणत हुने छन् । संसारमा रहेका विविध प्राणीजन्य प्रजाति बदलिँदैछन् । डार्विन, अब त पेन्गुइन पनि गलापागोस आइपुगे !