काजी भीम मल्लकी सतीले “…यस देशका शासकहरूमा विवेक नरहोस्” भनेर सरापेकी थिइन् । त्यस सरापबाट देशले मुक्ति पायो पाएन आफ्नै ठाउँमा होला त्यसमाथि गणेशमानले गरेको ‘मेख’ विश्लेषणअनुसार देशमा कसको मात्र मेख मर्न बाँकी रह्यो त ?
यो कुरा वि.सं. २०५० साल को हो, जुन दिन काठमाडौं महानगरपालिका अन्तर्गत हाल २५ वडा नघल टोल स्थित श्रीघः बिहार (काशी स्वयम्भू) को प्राङ्गणमा गणेशमान सिंहले भाषण दिएका थिए । उनले भाषणको क्रममा बडो मार्मिक कुरा भनेका थिए “… हिजोआज केही शक्ति केन्द्रहरू गणेशमानको मेख मार्न लागिपरेका छन्, हेर्नुस् जुन दिन गणेशमानको मेख मर्छ, त्यस दिनदेखि ती सबैको मेख मर्ने छ ।”
सन् १९३९ देखि १९४५ सम्म भएको विनाशकारी दोस्रो विश्वयुद्धपछि सन् १९४५ अक्टोबर २४ मा संयुक्त राष्ट्रसंघ गठन भयो । गठन भएको ३ वर्षपछि सन् १९४८ डिसेम्बर १० मा फ्रान्सको राजधानी पेरिसमा बसेको संयुक्त राष्ट्रसंघको साधारण सभाले मानव अधिकारको विश्वव्यापी बडापत्र जारी गर्यो ।
नेपालमा भने संयुक्त राष्ट्रसंघले विश्वव्यापी बडापत्र जारी गर्नु १२ वर्ष अगावै सन् १९३६ मा अमर शहिद पण्डित शुक्रराज शास्त्री (जोशीं) ले आफ्नै अध्यक्षतामा ‘नागरिक अधिकार समिति’ नामक गुप्त संस्था गठन गरी मानव अधिकारको क्षेत्रमा कार्य अगाडि बढाइसकेको थियो ।
श्री ३ महाराज एवम् प्रधानमन्त्री जुद्धशमशेरको निवास र निजी सचिवालय सिंहदरवारमा पं. शुक्रराज शास्त्रीसमेत प्रजापरिषदका राजवन्दीहरूको जीवन मरणको भाग्य निर्धारण गर्न बसेको स्वयम् प्रधानन्यायाधीश रहेको न्यायपरिषदमा पं. शास्त्रीलाई दोषी ठहर गर्न जुद्धशमशेरले ‘तँ नेवार नै म महाराजको गाथगद्दी ताक्ने, गुण्डाहरूको नाइके हो, तँलाई मृत्यु दण्डबाहेक अरू दण्ड हुनै सक्दैन कसो भन्दै न्याय दिन बोलाइएको सभामा बोले ।
आफ्नो ‘हाँ मा हाँ’ मिलाउनेहरू तर्फ हेरे, सबैले मनासिब महाराज ‘मृत्यु दण्ड ! मृत्यु दण्ड !!’ भने । यिनै पं. शुक्रराज शास्त्रीलाई कोही राणाको जागिर खाएर राणाको सेवा गर्ने व्यक्ति के को शहिद हुन् भनेर होच्याउने कुण्ठित मानसिकता देखाउँछ, त केही विद्वान भनाउँदाहरू शास्त्री एक सामाजिक र नेपाल भाषाको लागि कार्य गर्ने व्यक्ति मात्र हुन् राजनीतिक व्यक्ति होइन भन्छन् ।
पण्डित शुक्रराज शास्त्रीद्वारा स्थापित गुप्त संस्था ‘नागरिक अधिकार समिति’ को निरन्तरता स्वरूप नेपालमा ‘राजाको वैधानिक नेतृत्वमा जनउत्तरदायी शासन व्यवस्था’ स्थापना गर्ने लक्ष्य लिएको नेपालको प्रथम राजनीतिक दल ‘प्रजा परिषद’ गठन भयो । देशलाई क्रूर राणाशाहीबाट मुक्त गरी प्रजातन्त्र स्थापित गर्न कटिबद्ध युवा जोस र जाँगर बोकेका युवाहरू जुर्मुराउन थाले ।
यति बेला यी दुई देशभक्त युवकहरू गंगालाल श्रेष्ठ र गणेशमानसिंह श्रेष्ठ नेपालको पहिलो राजनीतिक दल प्रजापरिषद्को सदस्यता लिएर देश सेवामा समर्पित हुने प्रबल चाहनामा प्रजापरिषद्लाई जताततै खोज्दै हिंडन थाले ।
सच्चा मनले दृढताका साथ केही प्राप्त गर्न भीष्म प्रयत्नमा लागेमा दैवले पनि पुर्याउँछ भन्ने भनाइ चरितार्थ हुने गरी एक दिन प्रजापरिषद्को संस्थापक सदस्य अमर शहिद धर्मभक्त माथेमासँग गणेशमानको जम्काभेट भयो ।
तत्पश्चात् धर्मभक्त माथेमाले ती दुवै जोश र जाँगरका धनी युवकहरूलाई विभिन्न तरिकाले जाँचपरख गरी आश्वस्त भएपछि प्रजापरिषद्को मुख्य लक्ष्य ‘राजाको वैधानिक नेतृत्वमा जनउत्तरदायी शासन व्यवस्था’ रहेको जानकारी गराउँदै प्रजापरिषद्को उक्त लक्ष्य प्राप्तिका लागि समर्पित रही परिषदले दिएको जस्तोसुकै कार्य गर्ने छु भन्ने किरिया हाल्न माँ स्वाहा (शोभा) भगवतीको मन्दिरमा लिएर गए ।
उनी पहिला स्वयम्तिर विष्णुमतीको निर्मल जलले हातमुख, खुट्टा धोईवरी सँगै लिएर गएका ती दुवै युवालाई आफूले गरेका प्रक्रियाहरू दोहोर्याउन आदेश दिए । दुवैले आदेशको पालना गरे । त्यसपछि माँ भगवतीको मन्दिरभित्र तीनैजना प्रवेश गरे । धर्मभक्तले भवानी माँको मूर्ति अगाडि गंगालाललाई आफ्नो वायाँतिर र गणेशमानलाई दायाँतिर राखेर किरिया हाल्न लगाए ।
प्रजापरिषद्को सदस्यता प्राप्त गरेका युवा गणेशमानमा आफू ठूलो क्रान्तिकारी बनेको भावना जाग्रित भयो । जानीनजानी सार्वजनिक तवरमा शूरोपन देखाएकोमा गणेशमानले धर्मभक्तको हप्की खेप्नु परेको थियो । हप्काइबाट आहत भएका गणेशमान केही जवाफ नदिई फनक्क फर्केर घरत लागे ।
अनाहकमा हप्की खानु परेको भन्ने लागेका गणेशमान केही दिन रोषको कारण आफ्ना व्यायाम तथा राजनीति गुरु धर्मभक्तसँग भेटघाट गर्न गएनन् । अन्त्यमा देशबाट क्रूर राणाशाही हटाएर जनउत्तरदायी शासन व्यवस्था स्थापित गर्ने अठोटको अगाडि गुरू प्रतिको रिस क्षिण भयो, गुरुजीसँग भेटन आतुर भए । उता धर्मभक्तलाई पनि कडा वचन लगाएकोमा खेद लागेको थियो । उनले गणेशमानलाई बोलाउन पठाए । ‘के खोजिस् कानो आँखा’ भने झैं गणेशमान हाम्फालेर गुरुकोमा गए ।
उनलाई देख्ना साथ गुरुले भित्र बोलाउँदै भने “हेर्नुस् गणेशमानजी, मैले तपाईसँग भेटेको पहिलो दिनमा नै तपाईले देशको लागि केही गर्नुहुनेछ भन्ने भेउ पाएको थिए । अब तपाई पहिलाको हेराकाजी रहनु भएन । तपाई एक जिम्मेवार परिपक्व गणेशमानमा रूपान्तरित भइसक्नु भयो, गम्भीर बन्नु होस् । देशको लागि तपाईले धेरै काम गर्न बाँकी छ ।”
गुरुका ती वचनले शिष्य अक्क न बक्क भएका थिए । त्यसको केही दिनमा नै प्रजापरिषद्को एकजना कमजोर सदस्यले पोल खोलेपछि प्रजापरिषद्का अधिकांश नेता कार्यकर्ता समातिए । समातिएकामध्ये राणाहरूबाट पशुवत व्यवहार र निर्घात चुटाइ पाउने गरेका युवा गंगालाल श्रेष्ठ र अन्य तीनजना, पं. शुक्रराज शास्त्री, दशरथचन्द र धर्मभक्त माथेमालाई श्री ३ माहाराज जुद्धशमशेर स्वयम् भाग्य विधाता रहेको तत्कालिन न्याय परिषद्द्वारा मृत्यु दण्डको सजाय तोकियो ।
आफूहरूलाई मृत्यु दण्ड सुनाएकोमा ती क्रान्तिकारीहरूलाई कुनै पश्चाताप, आत्माग्लानी वा डर लागेन । सबैले मातृमूमिको लागि बलिदानी बन्न पाएकोमा शौभाग्य सम्झे । दशरथचन्दले आफ्नो मृत्युको लागि फाँसीको बदला गोली हान्न माग गरे साथै युवा गंगालालतिर इङ्गित गर्दै मेरो यो युवा साथी शुरवीर, मातृभूमिको लागि मर्नमेट्न तत्पर, निडर, दृढ इच्छाशक्तिका धनी यस्ता बहादुरको लागि पनि भन्दै गोली हान्न माग गरे ।
गोली हान्ने तिथिमिति तोकियो ।
निर्धारित समयमा बन्दीगृहबाट दशरथ चन्द र गंगालाललाई गोली हान्न तयार गरिएको विष्णुमती नदीको सहायक खोला भचाखुसीमा लानलाग्दा दुःखी मन लिएर अन्य राजबन्दीहरूसँगै उभिइरहेका गणेशमानको अगाडि आइपुग्दा गंगालालले भने “गणेशमान दाइ, हाम्रो रगत नबिर्सनु होला !” गंगालालसँगको उठबस, नोकझोक, बहस, गंभीर राजनीतिक छलफल, तर्कवितर्क सबै एकछिनमा नै गणेशमानको आँखा अगाडि नाच्न थाल्यो, गला अवरूद्ध भयो, सम्हालिंदै उनले भने “कदापि बिर्सने छैन, मरून्जेलसम्म पनि बिर्सने छैन ।”
गंगालालको मुहारमा सन्तोषको भाव देखियो । त्यहाँबाट उनीहरूलाई भचाखुसी लगियो । गंगालाललाई कुठाउँहरूमा गोली हानियो । कहिले शरीरका जोर्नीहरूमा, तिघ्रामा, त कहिले पेटमा । जहानियाँ राणाशाहीले उनी र दशरथ चन्दलाई अमानवीय, क्रुरतम् तरिकाले गोली हानी हत्या गरे ।
चार धरतीपुत्रहरूले मातृभूमिका लागि अर्पण गरेको बलिदान व्यर्थ गएन । पं. शुक्रराज शास्त्रीको नागरिक अधिकार समिति र नेपाल प्रजापरिषद्को लक्ष्य राजाको वैधानिक नेतृत्वमा जनउत्तरदायी शासन व्यवस्थाबारे वैधानिक तवरमा स्थापित भइनसके तापनि केही खुलापन पक्कै आएको थियो । खुलापन आए पछिको तत्कालिन नेपाल सरकारले युवा अमर शहिद गंगालाल श्रेष्ठको पिता सुब्बा भक्तलाल श्रेष्ठलाई शहिद बापत दिइने क्षतिपूर्ति लिन आउन सूचित गरे ।
शहिद पिता क्षतिपूर्ति लिन गएनन् । राजा त्रिभूवन स्वयम्ले पिता भक्तलाललाई बोलाई शहिद छोराको क्षतिपूर्ति वापत के माग्ने माग भनेका थिए । अमर शहिदको पिता भन्छन् “कलकलाउँदो जवानीमा मातृभूमिका लागि बलिदानी गर्ने बहादुर छोराको रगतको पैसा लिने आफू कस्तो धृष्ट पिता हुँला ? मलाई यस्तो जघन्य अपराध स्वीकार्य छैन सरकार !” शहिदको अमूल्य रगतको कदर गर्ने महान पितालाई सतसत नमन !
मातृभूमिलाई राणाको क्रुरपञ्जाबाट मुक्त गरी वैधानिक राजाको नेतृत्वमा जनउत्तरदायी शासन व्यवस्था स्थापना गर्न एकसाथ संकल्प लिएका गंगालालको अमानवीय हत्याले राणाप्रति गणेशमानको नफरत झन बढ्यो । राणा हटाउने मिसनमा पहिलाभन्दा झन् बढी सक्रियताका साथ लागे । नेपालको राजनीतिक इतिहासमा गणेशमानको भूमिका सन्दर्भ कोट्याउनु अगाडि उनको पारिवारिक पृष्ठभूमिबारे केही कुरा लेखिनु सान्दर्भिक होला ।
वडाकाजी रत्नमानसिंहले राणाकालिन शासन व्यवस्थामा प्रजाको लागि निर्धारित प्रशासकीय ओहदाको सबैभन्दा कनिष्ठ पद नौसिन्दामा जागिर खाए । आफ्नो तिक्ष्ण बुद्धि, कूटनीतिक, राजनीतिक र आर्थतन्त्र समेतमा राम्रो दखल रहेको प्रदर्शन गरी राजकाजमा सरकारीलाई गतिलो सेवा पुर्याएको कारण उनी तत्काल प्रजाको छोरालाई दिइने सबैभन्द ठूलो प्रशासनिक ओहदा वडाकाजी बनेका हुन् । प्रजापरिषदको राणाविरोधी क्रियाकलापमा राजा त्रिभुवनको साँठगाँठ रहेको भन्ने कुरा महाराज जुद्धशमशेरको जानकारीमा आएपछि उनलाई गोरखा धपाउने षड्यन्त्रमा महाराज जुद्धशमशेर लागे ।
तत्काल उनलाई प्रतिकार गर्ने हिम्मत कसैमा थिएन तर बडाकाजीले मसिनो स्वरमा उनलाई सल्लाह दिए “महाराज राजालाई यसरी धपाउनु धर्मले पनि मिल्दैन, जनतामा पनि महाराजविरूद्ध ठूलो असन्तोष पैmलिन सक्छ । तसर्थ, राजा धपापउने विचार उचित नहोला !” महाराजलाई बडाकाजीको सल्लाह तीतो तर मनासिब लाग्यो । राजा धपाइएनन् । उनै बडाकाजीका छोराहरूमध्ये सुब्बा ज्ञानमानसिंह श्रेष्ठ र बुहारी सुभद्रा देवीको दुई छोराहरूमा प्रथम पुत्र अर्थात् बडाकाजीको प्रथम नातीरत्न गणेशमान सिंह (हेरा काजी), दोस्रो शंकरमान सिंह (मोती काजी) र बडाकाजीको अर्को छोरा श्याममान सिंहको छोरा भोगेन्द्रमान सिंह हुन् ।
जहानियाँ क्रुर राणाशहीको अन्त्य र प्रजातन्त्रको बाहालीको लागि वि.सं.२००७ मा भएको क्रान्तिको अगुवाइको क्रममा गणेशमान सिंह र भाइ, नेपालको प्रथम माइनिङ्ग इञ्जिनियर शंकरमान सिंह ठूलो दाजुको सहायक बनेर कार्य गरेकोमा दुवै दाजुभाइ छुट्टाछुट्टै जेलमा बन्दी जीवन बिताइ रहेका थिए । राजा त्रिभुवन राणाको बन्धन तोडेर भारत पसिसकेको थियो ।
राणाहरू भने ५ वर्षे बालक राजकुमार ज्ञानेन्द्रलाई राजा घोषित गरेर निरञ्कुश सत्ता लम्ब्याउने धेयले बेलायत शासकबाट बालक राजाका लागि समर्थन जुटाउन खोजिरहेको थियो । त्यसै सिलसिलामा ब्रिटेनले दिल्लीको डेप्यूटी कमिश्नर फ्याँक रोबोर्टस् र काठमाडौंका लागि परराष्ट्र मामिला विशेषज्ञ एस्टर डेन्निङ्गस् सम्मिलित एक मिसन नेपाल पठाउन लागेको थियो ।
एकातिर राणाहरूको मनसुवा उक्त मिसनलाई आफूअनुकुल रिपोर्ट तयार गरी पठाउनु थियो । अर्कातिर राणा हटाउन कटिबद्ध नेपाली जनता समूह समूहमा विभक्त भई गौचरण हवाइ अड्डामा भेला भएका थिए । यसमा शान्ता श्रेष्ठ, प्रभा तुलाधरजस्ता तत्कलका जोशिला युवतीहरू समेत सम्मिलित थिए । ब्रिटिश टोली हवाइजहाजबाट ओर्लेर गाडीमा बाहिरिन लाग्दा “हाम्रा राजा त्रिभुवन जिन्दावाद ! राणाशाही मुर्दावाद !” को नारा लगाउँदै प्लेकार्ड बोकेकी शान्ता श्रेष्ठले राजा त्रिभूवनको पक्षमा र राणा विरोधमा लेखेको पर्चा कारको झ्याललबाट भित्र उक्त टोलीको हातमा राखिदिइन् ।
राणाका प्रहरीले अन्धधुन्ध गरेको लाठी लार्जको चपेटामा परेर अधिकांश प्रदर्शनकारी घायल भएका थिए । शान्ता श्रेष्ठको पनि टाउको फुटेर मुहरलुगा रक्ताम्य भएको थियो । विरोध दबाउन गरेको उक्त बर्बर दमनले उल्टै ‘आगोमा ध्यू थप्ने काम’ गर्यो । काठमाडौंको गल्लीगल्ली, सडकसडकबाट राणाविरूद्ध नारा लगाउँदै ठूलो जनसमुदाय प्रदर्शनमा उत्रिए ।
गणेशमान सिंहको काकाको छोरा भोगेन्द्रमान सिंहले नेतृत्व गरेको हजारौं प्रदर्शनकारीले राणाविरोधी नारा लगाइरहेका थिए । प्रतिकारमा राणाका प्रहरीले वर्षाएको गोलीको बौछारले धेरै प्रदर्शनकारी घाइते भए भने भोगेन्द्र मानसहित अन्य अमर शहिद भए । यस्तो छ गणेशमान सिंहको पारिवारिक पृष्ठभूमि ।
२००७ सालको क्रान्ति सफल भयो । राजसंस्था सहितको राणा–कांग्रेस गठबन्धनको सरकार बन्यो । सर आइभरजेनिङ्गले नेपालको संविधान २०१५ मस्यौदा गरे । वि.सं.२०१५ सालमा नै आमचुनाव भयो । नेपाली कांग्रेस अत्याधिक मतले विजयी भयो ।
अपरिपक्व नेतृत्वको कारण १८ महिनामा नै शाही ‘कू’बाट जननिर्वाचित सरकार अपदस्त भयो । संविधान प्रदत्त सर्वशक्तिमान राजाको प्रत्यक्ष शासनमा चल्ने निर्दलीय पञ्चायती व्यवस्था जनतामाथि लादियो । जनता तावाबाट उफ्रेर आगोमा खसेको माछासरह भए । १०४ वर्षे लामो क्रुर राणाशाहीलाई परास्त गरी स्थापना भएको जनतान्त्रिक शासन व्यवस्था छोटो समयमा नै चकनाचुार भयो ।
राजाको वैधानिक नेतृत्वमा जनउत्तरदायी शासन व्यवस्थाको संकल्पमा होमिएका गंगालालले मृत्युको माला वरण गर्न जाने क्रममा आपूmसँगै किरिया खाएका गणेशमान सिंहलाई हाम्रो रगतलाई नबिर्सनु भनेको वचन झलझल्ती सम्झना आउन थाल्यो ।
समयको गतिसँगै देश, काल, परिस्थिति बदलिंदो हुने शाश्वत प्रकृतिअनुसार प्रजापरिषदको मुलभूत लक्ष्य “वैधानिक राजाको नेतृत्वामा जनउत्तरदायी शासन व्यववस्था” को ठाउँमा प्रजातन्त्रवादी दलहरूको लक्ष्य “संवैधानिक राजतन्त्र, बहुदलीय प्रजातन्त्र, मानव अधिकार र वालिग मताधिकार” हुन पुग्यो ।
वहुदलवादी र निर्दलवादी बिच जनमत संग्रह भएसँगै ‘धाँधली’ शब्दले व्यापकता पायो । उक्त शब्द पहिला नसुनेकाले पनि सुन्ने मौका पायो । बहुदलवादी पराजित भए निर्दलवादी विजयी बने । चार शहिदहरूसँगको सङ्गत, उनीहरूको बलिदानी व्रतले घचघचाइरहेका गणेशमानले भने अविरल गतिमा लक्ष्य प्राप्ति गर्न लागिपरि नै रहे ।
तत्कालिन प्रधानमन्त्री मरिचमान सिंहले अस्थिर राजनीतिले देश अशान्त भइरहेकोमा स्थिर राजनीतिबाट देशमा शान्ति र विकास ल्याउन सकिएला भनी राजा र गणेशमान बिच साक्षात्कार (दर्शनभेट) को अवसर जुटाइ दिएका थिए । उक्त भेटको निचोडमा गणेशमानले राजालाई संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रको पक्षमा राजाको तर्फबाट घोषणा गरेमात्र पुग्छ, तर जनताको तर्फबाट आपूmले आन्दोलन नै गर्नु पर्ने हुन्छ भनेका थिए ।
जवाफमा राजाले त्यसको लागि केही समय चाहिने र सोचेर आवश्यकता अनुसार कदम चाल्ने आश्वासन दिएका थिए । लामो समय बितिसक्दा पनि राजाको तर्फबाट कुनै घोषणा हुने सङ्केत नदेखेपछि वि.सं.२०४६ साल माघ ५ गतेबाट जनआन्दोलन हुने सार्वजनिक भयो ।
वि.सं.२०४६ साल माघ ५, ६ र ७ गते गणेशमान सिंहको निवास, चाक्सीवारीमा नेपाली कांग्रेसको महाधिवेशन सम्पन्न भयो । छिमेकि मुलुक भारतबाट चन्द्र शेखर, सुब्रमन्यम स्वामी, हरकिसनसिंह सुरजित, डा.एम. फरूकी लगायतका विभिन्न राजनीतिक दलका नेताहरूको सहभागिता रहेको थियो । चाक्सीवारीको प्राङ्गण राजनीतिक दलहरूका कार्यकर्ता तथा जनसाधारणको घुइँचो अटाइ–नअटाई थियो ।
महाधिवेशनको समुदघाटनपछि युरोपेली र एशियाली राजनीतिक दलहरूबाट प्राप्त आन्दोलनको सफलताका लागि बधाइको साथसाथै अन्तर्राष्ट्रय समाजवादी अध्यक्ष विली ब्रान्ड र महासचिव लुइस ऐलेबाट प्राप्त भएको आन्दोलनको सफलताको लागि बधाइ र शुभकामना सन्देशहरू पढेर सुनाइयो ।
मञ्चबाट श्रीमती साहाना प्रधानले नेपाली कांग्रेससँग मिलेर आन्दोलन गर्ने संयुक्त वाममोर्चको निर्णय दोह¥याउँदै जोड दिएर भनिन् “नेपाली जनता संयुक्त राष्ट्रसंघद्वारा परिभाषित विश्व्यापी मानव अधिकारबाट बञ्चित छन् … आज निर्दलीय पंचायती व्यवस्थाको अन्त्य र बहुदलीय प्रजातन्त्रीय व्यवस्थाको पुनस्र्थापना नै नेपाली जनताको साझा एजेन्डा हो ।”
त्यसपछि आमन्त्रित भारतका विभिन्न दलका नेताहरूले गणेशमान सिंहको सर्वाेच्च नेतृत्वमा प्रजातन्त्र प्राप्तिका लागि हुने जनआन्दोलनमा उनीहरूको नैतिक समर्थन रहने, नेपाली जनताको आन्दोलन कुनै पनि शक्तिले दबाउन नसक्नें सन्देश दिँदै आन्दोलन सफलताको कामना व्यक्त गरे ।
जब गणेशमानसिंहले माइक समाते, तब तालीको गडगडाहतले उनलाई स्वागत गरियो । सबै वहाँलाई सुन्न (सूचीबद्ध हुन) बडो उत्सुकताका साथ पर्खिबसेका थिए । भेला भएका जनसमुदायलाई अभिवादन र धन्यवाद दिँदै उनले भने, “..हाम्रो महाधिवेशनमा सरकारबाट कुनै प्रतिबन्ध आएको छैन भने तपाईको विश्वास र दृढताले गर्दा हो । कार्यकर्ता नेताका सन्तान सरह हुन्छ ।
त्यसैैले कार्यकर्ता परिचालन गर्नुअघि हजार पटक सोच्नुपर्छ…सबै विकल्प र परिस्थितिलाई ध्यानमा राखी हामीले जनआन्दोलन गर्ने निर्णय गरेका छौं । हाम्रो जित, जनताको जित हो, सुनिश्चित छ । हाम्रो भूगोलको कारण भारतको सहयोगबिना केही गर्न सम्भव छैन, १९५० को क्रान्ति…१९६१ को शाही कब्जा…अहिलेसम्म बाँकी रहेको पञ्चायती व्यवस्था, सबै भारतको समर्थनको कारण हो । यदि हामीले तीस वर्षअघि त्यसको सय भागको एक भागमात्र सहयोग पाएको भए हाम्रो अवस्था अर्कै हुने थियो ।”
गणेशमान स्पष्ट रूपमा भारतीय राजनीतिज्ञहरूलाई विगतमा भारतको विभिन्न विरोधाभासी भूमिकाहरू सम्झाउन चाहन्थ्यो । यसै क्रममा अमेरिकालाई लक्षित गर्दै उनले भने, “…अमेरिका लोकतान्त्रिक राष्ट्रहो तर यसले सधैं तानाशाहलाई समर्थन गरेको छ । विश्वभरका साना लोकतान्त्रिक राष्ट्रहरूले त्यसतर्फ हेर्छन् तर त्यसले सधैं उल्टो हर्ने गरेको छ । ऊ शक्तिशाली बन्न चाहन्छ, तर विश्वभरका तानाशाहलाई सहयोग गर्छ …अहिले सोभियत संघमा आएको उदारीकरणका कारण विश्वभर प्रजातन्त्रको ताजा हावा चलेको छ । … आगामी जनआन्दोलनले नेपालमा प्रजातन्त्र स्थापना गर्नेछ भन्नेमा म विश्वस्त छु ।”
गणेशमान सिंहले भने भैंm अहिंसातमक जनआन्दोलन सफल भयो । नेपाली कांग्रेसका कृष्णप्रसाद भट्टराईको नेतृत्वमा अन्तरिम सरकार बन्यो । वि.सं.२०४७ मा देशले नयाँ संविधान पायो । प्रजापरिषदले जुन लक्ष्य बोकेर आन्दोलन गरेको थियो र पं.शुक्रराज शास्त्रीले जुन नागरिक अधिकार समितिको लागि गोप्य संगठन खोलेको थियो ।
समस्तमा ती उद्देश्यहरू समेतको प्रत्याभूति रहेको ०४७ सालको संविधानमा ‘मानव अधिकार, संवैधानिक राजतन्त्र, बहुदलिय प्रजातन्त्र, वालिग मताधिकार र सार्वभौमसत्ता जनतामा निहित’ जस्ता कुराहरू सुनिश्चित गरिएको थियो ।
वि.सं. २०४८ मा आमनिर्वाचन सम्पन्न भयो । नेपाली कांग्रेस विजयी भए, गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बने गर्नु नगनु जस्तोसुकै काम गरे, दाजु वी.पी.ले. संसदलाई बाइपास गरेर गण्डक सम्झौता गरे भने यिनले टनकपुर संम्झौता गरेर सहमति गरेको भनी संसदमा भूmठ बोले, देशको कलकारखाना, उद्योगधन्दाहरू कौडीको मोलमा बेचेर बन्द गराए ।
नेपालको आन्तरिक मामलामा खुलेआम विदेशी हस्तक्षेप हुन थाल्यो । तत्कालिन नेपालस्थित भारतीय राजदूत विमलप्रसाद श्रीवास्तवको बिगबिगी त अचाक्ली नै थियो । गिरिजाप्रसाद र विमलप्रसादको जोडी जमेको थियो । नेपालमाथि खुलेआम बाह्य हस्तक्षेप हुन थाल्यो ।
गिरिजाप्रसाद र विमलप्रसादको जोडीलाई रोक्न गणेशमान सिंहले देशमा भइरहका घटनाक्रमहरू नागरिकलाई सूचित गरी सचेत गराउन ‘मेरो आह्वान’ नामक बुकलेट प्रकाशित गर्न लगाए ।
उक्त कार्यमा सहयोग गर्न, अर्थ व्यवस्थापन गर्न ने.का. नेता जगनाथ आचार्य, गणेशमानको भई शंकरमानको छोरा महेन्द्रमान सिंह, जनरल सुवर्ण शमशेरकी भाञ्जी ज्वाई गुलाबशमशेर थापा, मनोजप्रसाद लाकौल, राजा त्रिभुवनको बेला गठित रक्तपात मण्डलीको सदस्य गणेशराज वन्तको छोरा रघुराज वन्त र म स्वयम् सम्मिलित थियौं । उक्त कार्यबाट आहत भएका गिरिजाले अझ बढी शक्तिशाली बन्ने मनसुवावस देशलाई मध्यावधि चुनावमा होम्ने काम गरे ।
गणेशमान सिंह भने मनपरी गर्ने आफ्नै दलको सरकारविरूद्ध जनजागरण अभियानमा लागे । जनजागरण अभियानक्रममा पुर्वाञ्चल, मध्यमाञ्चल र पश्चिमाञ्चलको राजनीतिक भ्रमण टोलीमा उपरोक्त उल्लेखित हामीहरू ब्यकअप टोलीको हैसियतले सम्मिलित थियौं । गिरिजाले मध्यावधि चुनाव गराएर आफ्नै बहुमतको सरकारलाई अल्पमतमा झारेर मनमोहन अधिकारीलाई प्रधानमन्त्री बन्ने बाटो खोलिदिए ।
गणेशमानको मेख मार्ने होडबाजीमा ०४७ सालको संविधान औचित्यहीन बनाइयो, राजतन्त्र मिल्काइयो, देशलाई धर्मनिरपेक्ष बनाइयो, संघीय गणतन्त्र घोषणा गरियो आदि इत्यादि । ०४७ सालको संविधान मिल्काई गणतान्त्रिक संविधान ल्याएर त्यसको आडमा सत्तामाथि हालिमुहाली गरिरहेका विभिन्न राजनीतिक दलका नेताहरू र संघीयताकोे विरोधमा हिजोआज सडक र संसद तातिरहेको छ ।
२०४७ सालकै संविधानको प्रस्तावनामा उल्लेखित प्रावधानहरू पुनः लागू गर्न नागरिक छटपटाइए रहेका छन् । तर आज पनि कोहीकोही गणेश मानले ०४६ सालको जनआन्दोलनमा वामपन्थीहरूलाई सम्मिलित गरेर र भारतीय राजनीतिक दलका नेताहरूलाई कांग्रेसको महाधिवेशनमा बोलाएर ठूलो भुल गरेकाले आज देशको यो हबिगत भएको भनेर दोष थोपार्ने र उनको मेख मार्न प्रयत्नरत छन् ।
नेपाली कांग्रेसका महामानव वी.पी. कोइरालाले संसदलाई बाइपास गरेर गण्डक सम्झौता गरे, भारतको पत्रकार एवम् लेखक भोला चटर्जीद्वारा लिखित पोर्ट्रेट अफ ए रेभोलुशनरी, वी.पी.कोईराला नामक किताबमा वि.सं.१९९७ सालमा सहिद भएका चारजना अमर सहिदहरूलाई वी.पी.ले आतंकवादी भनेका थिए, त्यस्तै कलकत्ताबाट प्रकाशित हुने सर्च लाइट नामक भारतीय पत्रिकामा नेपाल भारतको अभिन्न अंग हो भनेर वकालत गरेको थियो ।
उनकै नेतृत्वको कांग्रेसले प्लेन हाइज्याक गरेर राष्ट्रको करेन्सी लुटेकै थियो । राजा महेन्द्रको गाडीमा बम प्रहार गरेकै थियो र पनि राजाको गर्दनमाथि मेरो गर्दन पनि भनेकै थियो । तथापि उनको बारे कोही केही खोट लगाउन चाहन्न । गणतन्त्रवादी नेताहरूको त कुरै नगरौं ।
हिजो गणेश मान सिंहले ०४६ सालको जनआन्दोलनमा नेपालको भौगोलिक राजनीतिको कारण नेपालको जुनसुकै राजनीतिक परिवर्तनमा भारतको महत्वपूर्ण भूमिका रहेको भन्दा र २०४६ सालको नेपाली कांगे्रसको महाधिवेशनमा भारतीय राजनीतिक दलहरूलाई सम्मिलित गराएको पचाउन नसक्ने विभिन्न दलकाहरू अहिले गणतान्त्रिक सरकारको राष्ट्रपति बनाउने खेलमा हालै त्यही भारतका विदेश सचिव क्वात्रा नेपाल आएर रचेको तानाबाना र अमेरिकाको ईशारा पालना गरेको नेपाली जनताले देखेकै र बुझेकै छ ।
गणेशमान सिंहवारे भन्नै पर्दा उनकी माताश्री सुभद्रा देवीले माहिला छोरा शंकरमानका छोराहरूलाई भनेकी थिइन् ‘तिम्रै जेठा बा नै हिसी नभएको मान्छे, राजा त्रिभुवनले के चाहिन्छ माग’ भनी बारम्बार भन्दा पनि केही चाहिन्न भन्छ ।” हुन पनि हो राजा महेन्द्रले कुनै पद होस् वा अन्य कुरा माग्नभन्दा शालिनताका साथ अस्वीकार गरेकै थिए । त्यस्तै राजा वीरेन्द्रले प्रधानमन्त्री पद प्रदान गर्दा पनि अस्वीकार गरेको दृष्टान्त हाम्रासामु छँदैछ ।
जनताको प्रजातान्त्रिक, राजनीतिक र मानव अधिकारको लागि जीवनपर्यन्त संघर्षरत रहका उनले अमर सहिद गंगालालको पिताले राजा त्रिभुवनलाई सहिदको रगत अमूल्य हुन्छ । तसर्थ, क्षतिपूर्ति नलिने भनेको कुरा बिर्सेको थिएन । तसर्थ, जनताको हक र हितको लागि संघर्ष गरेको व्यक्तिले पद र पैसालाई महत्व दिन हुन्न भन्ने सोच उनमा थियो ।
उनले राजाहरूको शासन व्यवस्थामा राजनीतिक, प्रजातन्त्र र मानव अधिकारप्रति अपनाइएक गलत नीतिमा कहिल्यै सम्झौता गरेनन् । त्यस्तो गलत नीतिको सदैव डटेर विरोध गरिरहे, बदलामा लामो जेलको यातना, प्रवासको कष्टकार जीवन बिताउन स्वीकारे । तर नेपालमा राजसंस्थाको स्थायित्वमा सदैव चट्टानसरी अडिग रहे ।
उनले शान्ति र मानव अधिकारको लागि लिए गरेका अनगिन्ती निर्णय, प्रयास तथा बिताउनु परेको यातनादायी र कष्टकर जीवनको कदर गर्दै संयुक्त राष्ट्रसंघको महासचिव डा.ऊ थाँ शान्ति पुरस्कार र तत्कालसम्म एशिया महादेशको कुनै पनि राजनीतिक नेताले प्राप्त गरी नसकेको संयुक्त राष्ट्रसंघको मानवअधिकार पुरस्कारबाट सम्मानित भएका थिए ।
त्यस्तै गणेशमान सिंहको देहावसानमा तात्कालिन राजा वीरेन्द्रले शोकसन्देशमा गणेशमानसिंह प्रजातन्त्रको महान साधक भनेका थिए । गणेशमान सिंहको शवयात्रा ‘भूतो न भविष्यते’ भने झैं थियो । उनको अन्तिम विदाइमा राष्ट्रले बहालवाल प्रधानमन्त्रीभन्दा माथिल्लो दर्जाको १९ तोपको सलामी दिइएको थियो ।
तत्कालिन गद्दीनसिन राजा ज्ञानेन्द्रले पुनरजागरण पत्रिकालाई दिएको एक अन्तरवार्तामा देशको अर्थतन्त्र मजबुत बनाउन दाजु राजा वीरेन्द्र र गणेशमानजीको विचारमा समानता रहेको बताउँदै गणेशमानजीले पहिल्याएको बाटो पछ्याउन सकेको भए आज देशमा यस्तो दुरावस्था आउने थिएन भनेका थिए ।