• मंसिर १२ २०८१, बुधबार

आज बजरंगबली हनुमान जयन्ती,पूजा आराधना गरे बल, बुद्धि र विद्या मिल्ने

चैत्र २३ २०७९, बिहीबार

काठमाडौँ । प्रत्येक वर्ष चैत्र महिनाको शुक्ल पक्षको पूर्णिमा तिथीका दिन मनाइने रामभक्त हनुमान जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ ।रामायण कथाहरू, पात्रहरू अनि घटनाक्रममा पवन र अञ्जनीपुत्र हनुमान भगवान रामका भक्त हनुमान सबैभन्दा शक्तिशाली पात्रका रूपमा देखिन्छन् ।

हनुमानको पूजा आराधना गरेमा बल, बुद्धि र विद्या मिल्ने तथा दुःख र सङ्कटबाट मुक्ति पाइने विश्वास छ ।आजको दिन हनुमान मन्दिरहरुमा भक्तजनको घुइँचो लाग्छ भने बजरंगबलीका भक्तहरूले पूजाआजा गरी उँहाको आशीर्वाद लिन्छन् । हनुमान जयन्तीको दिन यदि बजरंगबलीबाट आफ्नो कुनै मनोकामना पूरा गराउन चाहने हो भने त्यसका लागि केही उपाय अपनाउन सकिन्छ । यी उपाय अवलम्बन गर्नाले हनुमान जी प्रसन्‍न हुनुका साथै उहाँबाट हाम्रो मनोकांक्षा पूरा हुनेछन् ।

हनुमानलाई ‘मङ्गलमूरत’को रूपमा अथवा सङ्कट मोचकको रूपमा पूजन गर्न थालियो । त्यसकारण बच्चादेखि बूढासम्म सबैले भयबाट मुक्तिका लागि ‘हनुमान चालिसा’ को पाठ गर्ने परम्परा शुरु भयो ।

स्कन्द पुराणको अवन्तिखण्डमा हनुमानभन्दा जगत्मा ठूलो प्राणी कोही छैन भन्ने व्याख्या गरिएको छ । परब्रह्म, उत्साह, मति, प्रताप, सुशीलता, माधुर्य, नीति, गाम्भीर्य, चातुर्य, सुवीर्य, धैर्य आदि क्षेत्रमा हनुमानभन्दा अर्को ठूलो कोही पनि छैन भनी वर्णन गरिएको छ ।

यस अवसरमा आज स्त्री–पुरुष, बाल–वृद्ध सबैले पवित्र नदीमा स्नान गरी व्रत एवं पूजा आराधना गर्दछन् । हनुमानलाई बजरङ्गबलि पनि भनिन्छ किनकि हनुमानको शरीर एक बज्रको समान थियो । हनुमानको पूजा आराधना गरेमा रोग व्याधि, बाधा, राजाको भय, प्राकृतिक शक्तिको बाधा, पिचासी शक्ति, भूत, नकारात्मक तत्व, बतास, खोला, आगो, राक्षसी शक्तिको प्रकोप र बेतालबाट पनि मुक्ति पाइन्छ भन्ने मान्यता छ ।

हनुमानको मूर्तिमा सिन्दुर लगाइएको हुन्छ । सिन्दुरले हड्डी एवं मांशलाई सुसङ्गठित शरीर निमार्णमा भूमिका खेल्दछ ।कामको बाधा अड्चन हटाउन यसबाहेक हनुमान जयन्तीको दिन हनुमान मन्दिरमा कालो दाल , सिन्दुर, फूल, चमेलीको तेल, प्रसाद, गुलाबको फूल आदि चढाउनुपर्छ ।  हनुमान चालिसा वा सुन्दरकाण्डको पाठ गर्नुपर्छ ।

आर्थिक समस्याबाट छुटकारा पाउन आर्थिक संकटबाट मुक्ति पाउन हनुमान जयन्तीको दिन हनुमानजीको अगाडि चमेलीको तेलको दियो बालेर हनुमानजीलाई चोला चढाउनुपर्छ । त्यसपछि पीपलको ११ वटा पातमा सिन्दुरले श्रीराम लेखेर हनुमान जीलाई अर्पण गर्नुपर्छ भन्ने मान्यता छ ।