घोराही, २२ चैत्र । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुनसरा घर्तीको पित्तथैलीमा रहेको पत्थरीको अप्रेसन भयो । चारवटा पत्थरीका डल्ला पित्तथैलीबाट बुधबार निकालिएको हो । मनसराका अनुसार पाँच साथ वर्ष अघिदेखि नै दुख्थ्यो । उपचार गर्ने पैसाको अभावले अस्पताल जानु भएन । गत वर्ष अलि धेरै दुखेपछि जँचाउँदा १८ एमएमको पत्थरी देखियो । त्यसपछि पनि थप उपचार खर्च नभई घर फर्किनुभयो । यतिबेला सहनै नसकिने गरी अत्याएपछि नेपाल कम्युनिष्ट पार्टी पश्चिम रोल्पाले ३० हजार रुपैयाँ खर्च दियो ।
श्रीमान श्याम सहितको परिवार उपचारका लागि प्रतिष्ठान आइपुग्यो । जाँच गरिसकेपछि अप्रेसन गर्नैपर्ने डाक्टरले भने । त्यसको खर्च ४० देखि ५० हजार लाग्छ भनियो । यति बेला पत्थरी २४ एमएम पुगिसकेको रहेछ । त्यसको असरले पिप जमिसकेको पाइयो । यसपटक पनि घर फर्किने सोँच गरेको उहाँका श्रीमान श्याम बताउनुहुन्छ । एक पटक प्रयास गरिहालौँ भनेर अप्रेसन खर्चका लागि चर्चा सुनेका आधारमा अन्तराष्ट्रिय रोल्पाली सेवा समाजको सम्पर्कमा पुग्नुभयो ।
समाजका केन्द्रिय अध्यक्ष डिलाराम वलीसँग भेटघाट भयो । विरामी सहित भएको छलफलपछि वलीले थप भावुकहुँदै फेसबुक पेजमा सहयोगको आव्हान गर्नुभयो । ‘दुःखी पीडितलाई हामी ढाडस र मनोबल बढाउनु भन्दा अरु के नै भन्न सक्छौँ र ? न त हामीलाई राज्यबाट बजेट आउँछ न त कहिँबाट आउँछ तर पनि हामी जस्तै दुःखी पीडितहरु आउनुहुन्छ, समस्या देखाउनु हुन्छ । त्यसै क्रममा रोल्पाको माडी गाउँपालिका–३ का सुनसरा घर्ती र उहाँको श्रीमान श्याम घर्तीलाई हिजोदेखि बारम्बार फोन गर्नभयो ।
हामी तपाईंसँग भेट हुने मन छ भन्नुभयो । हामी विहानै उहाँहरु भएको ठाउँ आफन्तको घरमा गयौँ । उहाँले दुःखको पोका फुकाउनु । भन्नुभयो,‘अस्ति तपाईंको फेसबुकमा पोष्ट गरेको देखेँ । त्यसमा २४ घण्टामा पैसा उठेर पनि उपचार गराएर घर फर्काएको थाहा पाएँ । अनि भेट हुन मन लाग्यो । खासमा हामी दुवैजना द्वन्द्व पीडित हौँ । दुई जनाकै पेटमा गोली छ । त्यसले हामीलाई सताइरहन्छ । त्यसमा पनि अहिले श्रीमती बिरामी भए पछि यहाँ ल्याए । प्रतिष्ठानमा २४ एमएमको पत्थरी पित्तथैलीमा छ भनेको छ ।
तुरुन्तै अप्रेसन गर्नुपर्छ नत्र क्यान्सरसम्म हुनसक्छ भन्छ । उपचार गर्ने पैसा छैन, अब रोल्पा जान लागेको छु । उहाँले यति भनेको सुनेर हृदयदेखि मनमा पीर लाग्यो । दुवै जनालाई अस्पताल लग्याैं । डाक्टरले तुरुन्तै अप्रेसन गर्नुपर्छ भन्नुभयो । उहाँहरुलाई अस्पतालमा छोडर घरमा आएँ । साँच्चिकै मन खिन्न भयो ।’
यसरी लेखेर फेसबुकमा पोष्ट गर्नुभयो । त्यसैदिन रातभर विहान तिन बजेसम्म नसुतेरै सहयोग जुटाउनु भयो । यसरी जुटेको रकम ४१ हजार एक सय ६१ रुपैयाँ रकम अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजका केन्द्रिय अध्यक्ष डिलाराम वली, दाङ शाखाका अध्यक्ष ओमप्रकाश खड्का सहितको टोली शुक्रबार पैसा बुझाउन प्रतिष्ठान पुग्यो । अप्रेसनको पीडाले सुतेकी घर्तीले टोलीलाई पुलुक्क हेरेपछि अनुहार उज्यालियो । उहाँले मलिन अनुहार र नरम स्वरमा आफ्ना समस्या र विगत बारे बताउनुभयो । श्यामले पनि आफ्ना समस्या सुनाउनुभयो । घर्ती दम्पती पूर्व जनमुक्ति सेना नेपालका योद्धा हुनुहुन्छ ।
मनसराको आन्द्रामा ८१ एमएमको गिराफ (छर्रा) छ । त्यसले आन्द्रा बटार्दै लगेको भिडियो एक्सरेमा देखिन्छ । पेटमा अर्को गोली छ । र एउटा खुट्टामा सहित तिनवटा गोली छन् । बालिका उमेर १५ वर्षमै युद्धमा लागेका उनीहरु अनमिनको दोस्रो प्रमाणिकरणमा छुटको बताउँछन् । उपचारमा गएको बेला दोस्रो प्रमाणिकरण भयो । त्यसकै कारण अरुले पाए सरह राहत आएन । सेना समायोजन हुनपनि छुट्यो । त्यसपछि नेताहरुले पनि घाइते भएको बिर्सिए । माओवादी पार्टी टुक्रियो तर गोलीले भने शरीरभित्र झ्न ठूलठूलो घाउ बनाउँदै लगको छ । तिनवटा बच्चाको पढाई खर्च जुटाउन मुश्किल भएका बेला अप्रसेसन खर्च जुटाउन सम्भव छैन ।
पढ्ने लेख्ने बेला युद्धमा लागे । कमाउने बेला घाइते भएर उपचारमा हिंड्नुपर्याे । ‘राति तिन बजेसम्म विदेशमा रहेका साथीहरुसँग कुराकानी गरेर रकम जुट्यो’, सहयोग हस्तान्तरण गर्दै अध्यक्ष वलीले भन्नुभयो, ‘उपचारै नगरेर घर फर्किन लाग्यौं भनेपछि मन थाम्नै सकिन ।’
उहाँका अनुसार साउदीबाट बिपिन झाँक्रीले ३४ हजार, जापानबाट ओमप्रकाश पुनले दुई हजार, घोराहीका भिमसेन डाँगीले एक हजार एक सय ११, रोल्पा त्रिवेणीका प्रेमराज बुढा, क्रोसियाबाट भद्रबहादुर घर्ती र कमल वलीले एक एक हजार रुपैयाँ दिनुभयो ।
रोल्पा त्रिवेणीका मानवीर घर्तीले पाँचसय ५०, घोराहीबाट हरिजोनी घर्तीले पाँच सय रुपैयाँ सहयोग गर्नुभयो । यसरी जुटेको ४१ हजार एक सय ६१ रुपैयाँ हस्तान्तरण गर्नुभयो । यति भएपछि उपचार खर्च पुग्ने अनुमानले घर्ती दम्पती हर्षित देखिनुभयो ।