• मंसिर ११ २०८१, मंगलवार

जेनिस किर्नीको सफलता

चैत्र १० २०७९, शुक्रबार

जेनिस किर्नी एक सम्पादक तथा लेखिका हुन् । उनी काला मूलकी लोकप्रिय लेखिका पनि हुन् । उनी आर्कान्सास राज्यको लोकप्रिय प्रेसको प्रकाशक पनि हुन् ।

उनले अमेरिकी राष्ट्रपति बिल क्लिन्टनको राष्ट्रपतीय डायरी लेखिका पनि हुन् । सन् १९९५ देखि सन् २००१ सम्म उनले उक्त काम पूरा गरेकी थिइन् ।

यस्तो काम अमेरिकी राष्ट्रपतिको इतिहासमा पहिलो पनि हो । उनले राष्ट्रपतीय भवन वासिङ्टन डीसी छाडेपछि अन्य थुप्रै किताबहरू पनि लेखेकी छिन् ।

लिङ्कन प्रान्तको एउटा सानो गाउँमा सन् १९५३ मा जन्मिएकी किर्नीले सानैदेखि ठूलो दुखकष्ट उठाइन् । उनी १९ छोराछोरीमध्येकी १४ औं छोरी हुन् ।

उनका आमाबुवा थोमस जेम्स किर्नी, इथेल करी किर्नी खेतबारीमा काम गर्थे । सानो उमेरमै जेनिस किर्नीले आफू मुनिका भाइबहिनी हुर्काउनु परेको थियो ।

यसका साथै ठूलो संख्यामा रहेको घरपरिवारलाई खुवाइचुठाई गर्न भात पकाउने काम पनि गर्नु पर्दथ्यो । साँझमा मात्र उनले पढ्ने समय पाउँथिन् । तर पनि किर्नी परिवारका केटाकेटी पढ्नमा अब्बल नै थिए ।

जेनिस किर्नीले आफ्नो ग्राजुएशन गौड हाइस्कुलबाट सन् १९७१ मा गरेकी थिइन् । उनले सानै उमेरमा विवाह गरिन् । एउटा छोरी पनि पाइन् ।
पछि डिभोर्स भयो पति डेरी लुनोनसँग ! त्यसपछि नै उनले आर्कान्सास विश्वविद्यालयबाट ग्राजुएशन र मास्टर्स गरेकी थिइन् । यो उनको जीवनमा एक ठूलो उपलब्धी थियो ।

सन् १९७८ को सुरूमा किर्नीले वृहत् रोजगार तथा तालीम ऐन (सेटा) अन्तर्गत कार्यक्रम प्रवन्धकका रूपमा काम गरिन् । यो मजदुरहरूलाई तालिम दिने तथा रोजगारको अवसर प्रदान गराउने संघीय कार्यक्रम थियो ।

त्यसपछि उनी आप्रवासी विद्यार्थी रेकर्ड रूपान्तरण प्रणालीमा डाइरेक्टर भएर ६ वर्ष काम सम्पन्न गरिन् । त्यसपछि मात्र हो किर्नीले सन् १९८७ मा आर्कान्सास स्टेट प्रेसमा प्रवन्ध निर्देशकका रूपमा पत्रिकामा काम गर्न थालेको ।

यो पत्रिका नागरिक अधिकारकर्मीका रूपमा काम गर्दै आएकी डेजी बेट्सको साप्ताहिक पत्रिका थियो । पत्रिका मूलतः अफ्रिकन–अमेरिकनहरूको अधिकारका लागि उत्प्रेरित र संरक्षित गर्ने कुराप्रति परिलक्षित थियो ।

त्यसपछि त किर्नीले त्यो पत्रिकाको स्वामित्व नै उनको हातमा लिइन् । उनी स्वयम् प्रकाशक भएर उक्त पत्रिकाको सम्पादन कार्यमा लागिन् । गभर्नर विल क्लिन्टन सन् १९९२ मा संयुक्त राज्य अमेरिकाको राष्ट्रपति भएपछि क्लिन्टनले उनलाई अल्पसंख्यक सञ्चारमाध्यमको पहुँच अभियानको डाइरेक्टरका रूपमा नियुक्त गरे ।

सन् १९९३ देखि त उनी अमेरिकी राज्यको संघीय प्रशासनमा प्रशासकका रूपमा नियुक्त भइन् । पहिले उनी ह्वाइट हाउस मेडिया अफिसरका रूपमा काम गर्न थालिन् । उनी सार्वजनिक सञ्चारको निर्देशकका रूपमा बहाल रहिन् ।

सन् १९९५ मा किर्नीले राष्ट्रपति विल क्लिन्टनको स्वकीय सचिवका रूपमा काम गर्ने अवसर पाइन् । उनी त्यतिबेला सर्वोच्च निकायका भेला, बसाइ तथा सम्मेलनमा भाग लिने मौका पाइन् । त्यसपछि देशभरका मेडियासँग परिचित हुने र सहकार्य गर्ने मौका पाइन् ।

क्लिन्टनले २ वर्ष राष्ट्रपतिको जिम्मेवारी सम्हाल्दा उनी राष्ट्रपति भवनमै काम गर्ने मौका पाइन् । उनले क्लिन्टनका दैनिक गतिविधिका बारेमा लेखेको डायरीले गर्दा नै विल क्लिन्टनले मोनिका लेविन्स्किीसँगको यौनसम्बन्धका बारेमा तत्काल कुनै दण्ड नभोग्ने अवसर पाएका थिए ।

सार्वजनिक सेवाबाट अवकास पाएपछि उनले गेष्ट प्रस्तोताका रूपमा विश्वविद्यालयहरूमा कक्षा लिन थालेकी थिइन् । उनको चर्चा चुलिदै गएको थियो । त्यसैबेला उनले राजनीति नै जीवन हो अर्थात् ‘पोलिटिक्स इज लाइफ’ भन्ने किताव प्रकाशित गरिन् ।

यो किताव अफ्रो–अमेरिकनहरूका माझमा निकै लोकप्रिय छ । त्यसपछि उनका कटन फिल्ड अफ ड्रिम्ज, कन्भर्सेसन र वान्स अप अन अ टाइम देअर वाज अ गर्ल (उपन्यास) लेखिन् । यो उनको जीवन स्मरणका बारेमा थियो । उनले भार्नर रोडका १०० वर्षका सम्झना नामक पुस्तकमा आफ्ना बाबुको वारेमा लेखेकी छिन् ।